व्यापार घाटा चुलियो
काठमाडौं : विश्वव्यापीरूपमा फैलिएको कोभिड—१९ का कारण आर्थिक गतिविधि ठप्प हुँदा आयात बढेको छ। चैत्रको तुलनामा वैशाखमा झन्डै दोब्बर आयात भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा नेपालको व्यापारघाटा २१.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ। चैत्र महिनासम्म व्यापारघाटा १२.५ प्रतिशतले बढेर १० खर्ब १६ अर्ब ६३ करोड पुगेको थियो। दोस्रो भेरियन्टको रूपमा कोभिड देखा परेपछि वैशाख १६ गतेदेखि काठमाडौंलगायत देशभर नै निषेधाज्ञा लगाइएको छ। यस क्रममा उत्पादन घटेका कारण निर्यात घट्नुका साथै आयात भने उकालो लागिरहेको छ।
अघिल्लो वर्षको वैशाखमा व्यापार घाटा १४.२ प्रतिशतले घटेको थियो। अघिल्लो वर्षको सोही अवधिमा निर्यात आयात अनुपात ८.० प्रतिशत रहेकोमा समीक्षा अवधिमा यो अनुपात ८.६ प्रतिशत पुगेको छ।
वैशाखसम्म कुल आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ। चैतसम्म १३.१ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब ४० करोड रुपैयाँ पुगेको थियो।
वैशाखसम्म कुल वस्तुको निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ४८ करोडको निर्यात भएको छ। चैत्रसम्म निर्यात ९४ अर्ब ७७ करोड रुपैयाँको थियो।
आयातको हिस्सा धेरै भारतसँग निर्भर छ। भारतबाट २९.८ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ६.३ प्रतिशतले आयातमा वृद्धि भएको छ। यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयबिन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पाटपुर्जालगायतका वस्तुको आयात बढेको छ। हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ।
सोयबिन तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ। पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतको निर्यात घटेको छ। निर्याततर्फ भारतमा ३५.८ प्रतिशत वृद्धि भएको छ भने चीनमा १८.४ प्रतिशतले कमी आएको छ। चीनसँगको पछिल्लो एक वर्षयता व्यापार ठप्प प्रायः छ।
देशमा उत्पादन घट्दै गएपछि आयात गर्नुपर्दा चालू खाता घाटा बढ्न थालेको छ। शोधनान्तर बचत पनि क्रमशः खुम्चिन थालेको छ। वैशाखसम्म चालू खाता घाटा २ खर्ब ७७ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाख रहेकोमा समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा छ।
शोधान्तर बचत ७ अर्ब ७५ करोडले बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा शोधान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचत थियो। विदेशी मुद्राको सञ्चिति पनि क्रमशः घट्न थालेको छ। असार मसान्तसम्म १४ खर्ब १ अर्ब ८४ करोड सञ्चिति रहेकोमा वैशाखसम्म १३ खर्ब ९० अर्ब ८४ करोड छ।
वैशाखसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा ८.८३ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ र गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीति २.८१ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार घिउ तथा तेलको २८.२०, माछा तथा मासुको १७.१२, गैर मदिराजन्य पेयपदार्थको ९.८५ र सूर्तीजन्य पदार्थ उपसमूहको ९.८४ प्रतिशत मूल्यवृद्धि भएको छ। सरकारले वैशाख मसान्तसम्म ८ खर्ब २४ अर्ब ८१ करोड खर्च गरेको छ। यस्तो खर्च चैत्रसम्म ६ खर्ब ९० अर्ब २८ करोड भएको थियो। चालू खर्च ६ खर्ब ३० अर्ब २० करोड, पुँजीगत तर्फ १ खर्ब २५ अर्ब ८८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ६८ अर्ब ७२ करोड खर्च गरेको छ। सरकारले वैशाखसम्म ७ खर्ब ३१ अर्ब राजस्व परिचालन गरेको छ। चैत्रसम्म सरकारले ६ खर्ब ८३ अर्ब ८७ करोड राजस्व परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.२ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २३.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा वैशाखमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २४.८ प्रतिशतले बढेको छ। आर्थिक वर्षको १० महिनामा १० अर्ब ३७ करोड तरलता प्रवाह गरिएको छ। राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा वैशाखसम्म १ खर्ब २८ अर्ब ४४ करोड कर्जा प्रवाह भएको छ। यसबाहेक २० अर्ब स्वीकृति भई लगानीको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै सहुलियतपूर्ण कर्जाअन्तर्गत ९५ हजार ८ सय ६ जनालाई १ खर्ब ४९ अर्ब ७६ करोड लगानी भएको छ। चैतसम्म ८९ हजार ८ सय ७९ जना ऋणीलाई १ खर्ब ४२ अर्ब २ करोड ऋणी लगानी भएको थियो।
कोभिडले वैदेशिक रोजगार प्रभावित भए पनि रेमिट्यान्स बढेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधि (वैशाख) मा १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड रेमिट्यान्स भित्रिएको छ। चैत्रमा १६.५ प्रतिशतले वृद्धि भई ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो।
पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने क्रम ६०.३ प्रतिशतले घटेको छ। वैदेशिक रोजगार विभागले संस्थागत (म्यानपावर), व्यक्तिगत, नयाँ र वैधानिकरण (पहिला स्वीकृति नलिएर गएका र पछि दोस्रो पटक जाँदा दिइने स्वीकृति) अन्तिम स्वीकृति दिन्छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो। राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४ प्रतिशतले घटेको थियो। कोरोनाका कारण पछिल्लो समयमा विदेशबाट फर्केका फेरि वैदेशिक रोजगारीमा जानेको संख्या कम हुँदै गएको छ।
पछिल्लो एक वर्षमा कोरोनाका कारण रोजगारी गुमाएर वैदेशिक रोजगारीबाट ४ लाख ६३ हजार उद्धार गरी फर्किएका छन्। तर उक्त अवधिमा १ लाख श्रमिकमात्रै वैदेशिक रोजगारीमा गएका छन्।