प्रदेशले दिएको एकताको सन्देश

प्रदेशले दिएको एकताको सन्देश

२३ फागुनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा फैसला गर्दै सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी ब्युँत्याइदियो। यसले नेपाली राजनीति तरंगित भयो। नेकपाभित्र फरक नेता फरक समूहको राजनीति चल्दा एक ढिका बन्न नसकेको पार्टी अदालतको फैसलाले छुट्टिनु पर्‍यो। फैसलासँगै अध्यक्ष र अन्य जिम्मेवारीको विवाद एक तहमा सकियो पनि। तर, एमालेभित्रको माधव नेपाल समूहलाई सर्वोच्चको फैसलाले झड्का लाग्यो। प्रचण्ड–नेपाल समूह मिलेर देशभर गरेका विरोध कार्यक्रमको झल्को नहराउँदै पार्टीभित्रै मिलेर बस्नुपर्ने बाध्यता सर्वोच्चले खडा गर्‍यो। अहिले कुन विकल्पमा दुई नेता मिल्ने भने जुँगाको लडाइँ सत्ता सञ्चालनको पनि जिम्मेवारी बोकेको एमालेमा चलिरहेको छ। 

केन्द्रमा मात्रै नभई प्रदेशहरूमा समेत सत्ताको बागडोर सम्हालेको एमालेले नेताको जुँगे लडाइँकै कारण गण्डकी प्रदेश सरकारको नेतृत्वबाट हात धुनु पर्‍यो। समूहको समेत नेतृत्व सम्हालेका नेताको अहंकार र शक्तिको टकरावले कार्यकर्तासम्म विभाजित हुँदा प्रदेश र तह पनि केन्द्रीय राजनीतिक प्रदूषणको सिकार बने। तर, विस्तारै तह र प्रदेश यो प्रदूषणबाट सग्लिँदै गएको देखिन्छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा एमालेका दुई समूहको एकताले अहिले केन्द्रीय नेतालाई पाठ सिकाइरहेको छ। गण्डकीमा सत्ता गुमे पनि साथ नछोड्ने अठोटदेखि सत्ताको नेतृत्व गर्नेलाई हरेक निर्णयमा सुझाव र साथ दिने अन्य तीन प्रदेशले अहिले एमाले एकताको प्रदेशबाट सूत्रपात गरेको देखिन्छ।

‘भाइ फुटे गवार लुटे’ भन्ने नेपाली उखान नै छ। आपसमा खुल्ला रूपमा नै लड्दा फाइदा कसैलाई पुग्दैन भन्ने उदाहरण एमाले–माओवादी एकतादेखि छुट्टिएर पुनः एमालेभित्रको जुँगाको लडाइँले प्रष्ट देखाइरहेको छ। दोस्रो तहका नेताले पनि यो झगडा चाहेको देखिँदैन। अझै प्रदेशबाट मिल्नुको विकल्प छैन भन्ने संकेत सुरु भएको छ। यो सकारात्मक सन्देश र संकेतलाई नेताले समयमा नबुझे आफैं पछुताउनु पर्छ। एमालेभित्र देखिएको विवादको जरोलाई चार प्रदेशमा देखिएको एकताले केही भए पनि हल्लाएको छ। अब समयमा नै उखेल्ने भूमिकामा कार्यकर्तादेखि प्रदेश र केन्द्रका नेता नै लाग्नु पर्छ। दुई नेता एकआपसमा झुक्ने हो भने विवादको चुरो नभेटिने होइन। 

शक्तिको विवाद एमाले पाटीभित्र मात्रै सीमित छैन। नेपालका प्रत्येक दलमा आन्तरिक द्वन्द्व र जुँगाको लडाइँ छ। सत्ता सम्हालेको समयमा छरपष्ट भएको एमालेको विवाद मात्रै सतहमा चहकिलो देखिएको हो। ठूला पार्टीमध्ये कांग्रेस र माओवादी केन्द्रमा पनि यो समस्या फस्टाएकै छ। सत्ताको सिँढी चढ्न खोज्ने अन्य दललाई एमालेको विवादले सहज बनाउने हुँदा यो समय विवाद मिलाउनमा भन्दा बढाउनमा भूमिका खेलेको आरोप उनीहरूलाई पनि लाग्ने गरेको छ। एमालेभित्र अन्तरसंघर्षको लडाइँ पेचिलो हुनुमा माओवादी केन्द्र, कांग्रेस र अन्य दल पनि उत्तिकै जिम्मेवार छन्। आफू सत्तामा जान एमालेमा नेताको विवाद चाहिरहनेलाई अहिलेको राजनीतिक मौसमले केही फल पनि मिलेको छ। तर, त्यस्ता परिवर्तन दिगो हुँदैन भन्नेमा सबै दल सचेत भने अवश्य हुनुपर्छ। 

आज सत्तामा रहेको एमालेले भोगेको पाटी कलहको समस्या भोलि अर्को दलमा नदोहोरिएला भन्न सकिँदैन। यस्ता समस्याले पार्टीलाई मात्रै क्षति पुर्‍याउँदैन, राजनीतिक अस्थिरता पैदा गर्ने हुँदा देश र जनताको विकासमा पनि असर पार्छ। सरकार स्थिर बन्दैनन्, एउटा सरकारले बनाएका योजना अर्कोले भत्काउँदा शून्यबाट माथि उठ्न सहजै सम्भव हुँदैन। पाटी फुटाउँदा सबै समस्याको समाधान हुन्छ भन्ने हुँदैन। नयाँ पार्टीमा पनि समस्या जन्मिन्छ र विवाद भइरहन्छन्। यो कुरा फुट्न खोजेकाले बिर्सनु हुँदैन। रूपमा संग्ला देखिएका कुनै पनि पाटी सारमा सग्ला भने छैनन्। प्रत्येक दलले समयमा सोच्नुपर्न विषय यो नै हो। अब व्यक्तिभन्दा दल शक्तिशाली बन्नुपर्छ। दल मजबुत भए कुनै पनि कालखण्डमा ल्याएका परिवर्तन स्थापित हुन सक्छन्। नत्र परिवर्तन ल्याउन योगदान दिने सहिद र नेपालीको सपना कहिले पूरा हुने छैन।  


 
 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.