बर्षाको प्रभाव : म्याग्दीका मुख्य सडकमा यातायात ठप्प
बेनी : निरन्तरको बर्षासँगै कारण म्याग्दीका मुख्य सडकमा यातायात सेवा ठप्प बनेका छन्। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी, बेनी–जोमसोम र म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक पहिरोका कारण अवरुद्ध बनेको हो।
पर्वतको सहश्रधारामा पहिरो खसेपछि काठमाडौं–पोखरा हुँदै म्याग्दी भित्रने र बाहिरिने सवारी साधनको आवत जावत बन्द भएको छ। बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत र मालिका गाउँपालिकाको बाङ्गेपहिरोमा खसेको पहिरोले २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरामा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क बिच्छेद भएको बताए।
मालिका गाउँपालिकाको देबिस्थान जोड्ने सडकबाट खसेको पहिरोले दरबाङ देखि धारापानी ताकम हुँदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकमा यातायात अवरुद्ध बनेको छ। बेनी–पाखापानी लगायत जिल्लाका अन्य सहायक सडकहरुमा पनि पहिरो, हिलो र कटानका कारण आवत जावत प्रभावित भएको छ।
यातायात सेवा अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको छ। ग्रामीण क्षेत्रमा निर्माण र दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित भएको छ। कृषकले उत्पादन गरेको दूध, तरकारी लगायत कृषिजन्य बस्तु बजार पुर्याउन समस्या भएको छ।
स्थानीय प्रहरी चौकीका सुरक्षाकर्मी, पुर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजना र नगर तथा गाउँपालिकाहरुले उपकरण परिचालन गरेर सडक खुलाउन प्रयास गरिएको प्रनाउ राइले बताए। बर्षापछि कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले सतह बढेको छ।
म्याग्दी नदीको किनारमा अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरबाङ र कालीगण्डकी नदीको किनारमा रहेको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी बजार कटानको उच्च जोखिममा परेका छन्।
दरबाङ र भुरुङ्ग तातोपानीमा नदी नियन्त्रणका लागि सञ्चालित पक्कि पर्खाल निर्माण योजना बाढी आएपछि प्रभावित भएको छ। बेनी नगरपालिका र मंगला गाउँपालिकाको पखेरमा निर्माणाधिन मोटरेबल पुलका निर्माण सामग्री म्याग्दी नदीमा आएको बाढीले बगाएर क्षति पुर्याएको छ।