च्यातिएको मन र जबज
राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन, बरु स्थायी हुन्छ स्वार्थ। राजनीति स्वार्थबाट निर्देशित छ। त्यो स्वार्थ राष्ट्रिय स्वार्थ भइदिएको भए आजको यो राजनीतिक विद्रुप अवस्था आउने थिएन। व्यक्तिगत, गुटगत र दलगत राजनीतिको स्थायी स्वार्थका कारण देशको राजनीतिले जनतालाई राहत दिन सकेन सधैं आहत मात्र बनायो। राजनीति देश र जनताका लागि नभएर पद, पावर र पैसाका लागि हुनु नेपालजस्ता अन्य धेरै अविकसित मुलुकहरूको साझा समस्या हो। नेता पदमा पुगे पछि पहिला आफ्नो लागि, आफन्तका लागि अनि गुटका लागि त्यसपछि आफ्नो दलका लागि र अन्त्यमा केही बच्यो भने मात्र देश र जनताको लागि काम गर्नु आम नेताको चरित्र बनेको छ। पद र लाभका लागि सिद्धान्त र विचारलाई सहजै सहिद बनाइदिने क्रम विगत केहीदशक यता बढ्दो छ। पछिल्लो समय सामाजिक अन्तरविरोधहरूको मूल्यमा भन्दा पनि गुटगत तथा व्यक्तिगत स्वार्थ र टकरावको बीचमा दलहरू स्थापना हुने र फुट्ने रोग बल्झिएको छ। राजनीतिक मूल्य र आदर्शमा दल गठन र विघटन भएको देखिन्न।
राजनीतिक विचलन र जुरिस्टोक्रसी :
नेपालका राजनीतिक पार्टीहरू विधिले भन्दा बढी नेतृत्वको गिदीबाट निर्देशित छन्। हरेक दलका नेता मात्र होइन कार्यकर्तासमेत दलको विधानबाट परिचालित छैनन्। राजनीतिक विधि र आदर्शले छोड्न थालेको छ।सैद्धान्तिक, वैचारिक र राष्ट्रिय मुद्दाका आधारमा होइन व्यक्तिगत स्वार्थका आधारमा नेता तथा कार्यकर्ताहरू गुट र उपगुटमा विभाजित भएका छन्।नेताहरूमा वैचारिक गम्भीरताको अभाव र ढुलमुले चरित्रका कारण बाह्य शक्तिहरू हाबी भएका छन्। महँगो निर्वाचन लडेर आएका अनि जुनसुकै मूल्य चुकाएर पनि निर्वाचन जित्नुपर्छ भन्ने मानसिकताबाट आएका नेताहरू निर्वाचन विजयपश्चात निर्वाचनमा भएको खर्चको सावाब्याज चुक्ता गर्नुलाई प्राथमिकतामा राख्छन् किनकि राजनीति सेवा नभएर एक व्यवसाय बनेको छ। इमानदार राजनीतिकर्मीमा वितृष्णा र जनतामा निराशा बढेको छ।संविधानको प्रयोगको सुरुआतकै अवस्थामा संविधान पटकपटक गिजोलिएको छ र संविधानलाई अझै कमजोर बनाउन जुरिस्टोक्रेसीलाई बारम्बार निम्ता गरिएको छ। न्यायालयलका कर्मचारीलाई दलीय राजनीतिमा खेल्नका लागि एक पछि अर्को निमन्त्रणा दिइएको छ। राजनीति संयमित भएन भने अदालती सक्रियता बढ्छ, अदालतले शासन चलाउछ। यसलाई जुरिस्टोक्रसी वा क्रिटोक्रेसी भनिन्छ। जहाँ जुरिस्टोक्रेसीलाई स्पेस दिइन्छ त्यहाँ डिमोक्रेसी कमजोर हुन्छ र संविधान शिथिल बन्छ। जुरिस्टोक्रेसीले संसदीय सार्वभौमिकतालाई संकुचित बनाउँछ अनि अदालती शासन सुरु हुन्छ। अहिले नेपालको राजनीतिमा जुरिस्टोक्रेसी हाबी भएको छ।
बहुअर्थीसंविधान र बाह्य शक्ति :
हाम्रो संविधान संसारकै उत्कृष्ट बनाउने नाममा ऊँटजस्तो पो भएछ। तथ्यगत वस्तुनिष्ट हुनुपर्नेमा, साहित्यजस्तो बहुअर्थी बनाइएको रहेछ।देशको मूल कानुन संविधान स्पष्ट बोल्नुपर्ने हो तर जता अर्थ लगाए पनि हुने खालको, जे गर्न पनि बाटो राखे जस्तो अस्पष्ट र बहुअर्थ धारण गरेको कारण पनि राजनीतिक झमेला र संकट एकपछि अर्को देखिँदै गएका छन्।शीर्ष नेताहरूमा देश र जनताको हितको चासोभन्दा बढी आफ्नो गुट र आफ्ना मान्छेहरूको व्यवस्थापनको चिन्ता बढी छ।देशको दुर्भाग्य भनांै इतिहासकै बलियो सरकार सत्तासीन पार्टीकै शीर्ष नेताहरूको अन्तरकलहले अकर्मण्यताको सिकार बनेको छ भने दक्षिण एसियाकै सबैभन्दा ठूलो सत्तासीन वामपन्थी पार्टी फुटेर लथालिंग भएको छ। गुट चलाउन माहिर नेताहरूले एक ठूलो पार्टी र सरकार चलाउन सकेनन्, जानेनन् भन्ने कुरा जनताले राम्रोसँग बुझेका छन्। अहिलेको राजनीतिक अस्तव्यस्तता र भद्रगोल अवस्थाको सिर्जनामा बाह्य शक्तिको खेल भनेर दोषारोपण गरेर मात्र हुँदैन, समस्याका कारक हाम्रै राजनीतिक पार्टीका शीर्ष नेताहरू नै हुन्।
जब हामीले बाह्य शक्तिको खेललाई स्पेस तयार गरिदिन्छौ तब स्वाभाविक हो, बाह्य शक्ति खेल्न तम्सिन्छन्। बाह्य शक्ति विशेषत दक्षिणी वायु सात २००७ देखि नै नेपालको राजनीतिमा बहन थाल्यो, २०४६ पछि मडारिन थाल्यो। माओवादीको जनयुद्ध पछि पश्चिमी वायु पनि चल्न थालेको छ नेपाली राजनीतिमा। दक्षिणी वायु पश्चिमी वायुलाई पछाउँदै जाने र विस्तारै पस्न थालेको उत्तरी वायुसँग घर्षण हुँदा कतै नेपालको आन्तरिक राजनीतिमा र स्वाधीनतामा अम्लीय वर्षा हुने त होइन भन्ने पनि संशय बढ्दै गएको छ। यो सब राजनीतिक पार्टीहरू र नेतृत्वको दलगत, गुटगत, व्यक्तिगत स्वार्थ र अदूरदर्शिताका कारण भइरहेछ। फेरि पनि नेपाल विदेशीको चेस बोर्ड बन्न पुगेको छ।
राजनेताको कमी :
अमेरिकामा करिब २३५ वर्षपहिले बनाएको संविधानले अहिलेसम्म काम गरेको छ, छिमेकी देश भारतमा पनि करिब ७५ वर्ष पहिला बनाइएको संविधानले काम गरेको छ तर नेपालमा सात दशकमा सातवटा संविधान लेख्ने र मेट्ने काम भयो। यसले के देखाउँछ भने यो देशलाई राजनीतिक स्थिरतामा हाँक्न सक्ने दूरदर्शी राजनेता जन्मिएनन्।देश र जनताको बारेमा तुलनात्मक किसिमले बीपी र महेन्द्र दूरदर्शी नेता थिए तर दुर्भाग्य, दुवैजना एकै समयमा राजनीतिमा आए। उनीहरूबीचको इगो क्ल्यासका कारण देशको राजनीति सही बाटोमा सही किसिमले हिँड्न सकेन। मदन भण्डारी दूरदृष्टि भएका राजनेता थिए तर समयले भनौं वा दक्षिणी–पश्चिमी खुपिया एजेन्सीले उनलाई खुला राजनीति लामो समय गर्न दिएन। त्यसपछि नेपालमा नेताहरू धेरै जन्मे तर राजनेताको जन्म भएन। राजनीति नीति प्रधान हुनुपर्ने हो तर नेता प्रधान हँुदै गयो जसका कारण राजनीतिले नीतिगत विधिगत कोर्स लिन सकेन र देश राजनीतिक अस्थिरताको दलदलमा फसिरह्यो।विगत ३० वर्षमा देशले स्थिर सरकार एक पटक पनि पाएन। ६ महिने ९ महिने सरकारबाट आजित भएका जनता एउटा स्थिर सरकार र राजनीतिक स्थिरता चाहन्थे। माओवादी केन्द्र र एमाले दुई ठूला वामपन्थी पार्टी एकताको घोषणासहित मिलेर निर्वाचनमा गए। जनतामा राजनीतिक स्थिरताको आश पलायो। करिब दुई तिहाइ मत दिएर पाँच वर्ष ढुक्कसँग सरकार चलाउने जनादेश दिए।दुई पार्टी एकताको घोषणा पनि गरियो। अब ५० वर्षसम्म वामपन्थीहरू एक भएर जाने, राज्यसत्ताको नेतृत्व गर्ने र राजनीतिक स्थिरतासहित देशलाई समृद्धिको बाटोमा लैजाने भनेर जनतालाई भनियो। जनता खुसी भए र सोचे अब देशले राजनीतिक स्थिरताको कोर्स समात्यो।तर ५० वर्षसम्म रहने भनिएको एकता तीन वर्ष पनि टिकेन।
पार्टी फुटका कारण :
राजनीतिक दलहरू टुट्नु, फुट्नु वा फेरि जोडिनु नेपाली राजनीतिको एक नियमित आकस्मिकता बनेको छ। राजनीतिक पार्टीहरू नीति प्रधान होइन नेता प्रधान हँुदै गइरहेका छन्। जब शीर्ष नेताहरूको स्वार्थको मिलन हुन्छ, पार्टीहरूबीच अप्रत्याशित एकता हुन्छ, जब स्वार्थ प्राप्ति माथि शंका लाग्छ अनि एकता विघटन हुन्छ, पार्टी विभाजन हुन्छ। नेपालका कम्युनिस्ट, कांग्रेस, मधेसी, पञ्च पृष्ठभूमिका वा वैकल्पित शक्ति बन्ने सपना बोकेका साना राजनीतिक पार्टीसमेत फुट्ने टुक्रने र पुन: जोडिने क्रम र उपक्रमबाट गुज्रँदै आएका छन्।नेपालमा नेताहरूलाई संस्था निर्माण गर्ने भन्दा पनि आफैंलाई दरिलो बनाउने रुचि बढी देखिने भएकोले दलहरू टुटफुटको सिकार बनेका छन्। विभिन्न समयमा मिलेका र अहिले फुट्न खोजेका पार्टीहरूका पछाडि कुनै वैचारिक, सैद्धान्तिक आधार छैन मात्र सत्तास्वार्थ नै प्रमुख कारण बनेको छ। टुट्ने, फुट्ने र फेरि जुट्ने क्रम अरू पार्टीमा भन्दा नेपाल कम्युनिस्ट पार्टीमा इतिहासबाट नै अलि बढी छ। पछिल्लो चरणमा भएको माओवादी केन्द्र र एमालेको एकता अप्राकृतिक थियो त नभनौं तर हठातमा गरिएको थियो। एमालेलाई दुई तिहाइको शक्तिशाली सरकार बनाउने रहर थियो भने माओवादी केन्द्रलाई आफ्नो पार्टीको गिर्दै गएको साख जोगाउनु थियो। त्यहाँ न सिद्धान्तको मेल थियो, न विचारको।मेल थियो त सत्ता स्वार्थको मात्र। त्यही कारण नै उनीहरू कसैलाई थाहा नदिई जुटे अनि तथानाम बोल्दै, जग हँसाउँदै फुटे। जनयुद्धको बेला माओवादीका कति मान्छे एमालेको सुराकी र एमालेका कति मान्छे माओवादीको आक्रमणले मरेका थिए।मार्ने मर्ने हदसम्म आएका पार्टीबीच एकता भयो।तर सिद्धान्त, विचार, आदर्श, विश्व दृष्टिकोण मिलेको थिएन। एउटाले २१औँ शताब्दीको जनवाद, अर्कोले बहुदलीय जनवाद भन्छ, सशस्त्र संघर्षलाई एउटाले गौरवमय भन्छ अर्कोले निन्दनीय भन्छ। उनीहरूलाई मिलाउने सुपर ग्लु थियो सत्तास्वार्थ जुन अपेक्षित हुन सकेन, अनि एकता टुट्यो।
जनताको बहुदलीय जनवाद:
जनताको बहुदलीय जनवाद जननेता क.मदन भण्डारीले प्रतिपादन गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम र नेकपा एमालेको मार्गनिर्देशक सिद्धान्त हो। जबज २१औं शताब्दीको नयाँ कम्युनिस्ट विचार हो। माक्र्स लेनिन, माओजस्ता अरू कम्युनिस्ट विचारकको फुर्को नझुन्ड्याई कम्युनिस्ट विचार बन्न सक्दैन भन्ने भ्रम रहेको बेलामा एक नयाँ राजनीतिक दृष्टिकोणको रूपमा ‘जनताको बहुदलीय जनवाद’ आयो।जनताको बहुदलीय जनवादले नेपालमा प्रजातान्त्रिक कम्युनिस्ट पार्टीको उदय गरायो र गैरकम्युनिस्टहरूलाई पनि कम्युनिस्ट बन्न प्रेरित गर्यो। माक्र्सवादको विश्वव्यापी प्रयोग, परीक्षण र परिणामलाई मनन् गरी तत्कालीन विश्व राजनीति र नेपालको विशिष्ट परिस्थितिमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो जनताको बहुदलीय जनवाद। यो विशिष्ट अवस्थामा माक्र्सवादको सिर्जनात्मक प्रयोग हो र यसको सैद्धान्तिक आधार नै माक्र्सवाद र लेनिनवाद हो।
जनताको बहुदलीय जनवाद नेपाली जनवादी क्रान्तिको मौलिक कार्यक्रम र नयाँ प्रयोग हो। राज्यसत्ता बन्दुकको नालबाट मात्र होइन ब्यालेटबाट पनि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता जनताको बहुदलीय जनवादले स्थापित गर्यो। कम्युनिस्ट पार्टी भनेको निरंकुश हुन्छ, यसले प्रतिस्पर्धामा र जनमतमा विश्वास गर्दैन, प्रजातन्त्रमा विश्वास गर्दैन भन्ने भ्रमलाई समेत हटाउने एक राजनीतिक दस्तावेज थियो जबज। आफूलाई मात्र प्रजातान्त्रिक भन्ने र निर्वाचनबाट नेतृत्व चयनमा आफूलाई अब्बल प्रजातन्त्रवादी ठान्ने नेपाली कांग्रेसमा भन्दा बढी प्रजातान्त्रिक परिपाटी सुरु गरेको थियो एमालेले जबजको जगमा।एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादले जनतामा सकारात्मक छाप छोडेको छ र मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित छ। जबजलाई छोडेर कुनै पनि एमाले नेतृत्व बाहिरिन सक्दैन।
ओली नेपाल जोड्ने रसायन– जबज:
नेपालका सबै राजनीतिक पार्टीहरूभित्र गुटका ऐजेरुहरू उम्रिँदै र मौलाउँदै गएका छन्। गुट र उपगुटको निर्माण अनि द्वन्द्व एमालेमा मात्र नभएर सबै राजनीतिक पार्टीहरूमा क्यान्सर बनेको छ।व्यक्तिगत स्वार्थका लागि गुटका डेरा सर्ने छेपारो चरित्रका नेताहरूका कारण गुटबाद झांगिँदै गयो। विशेषत एमालेको नवौं महाधिवेशन पछि ओली र माधव गुटको खाडल चाक्लिँदै जान थाल्यो। खनालको आफ्नै गुटमा संख्या त्यति उल्लेख्य नभए पनि माधव नेपालको गुट बलियो थियो र छ। पछिल्लो समय नेकपाका अधक्ष ओलीले सरकार र संगठनमा पेल्न थालेपछि माधव नेपाल प्रचण्डसँग नजिकिए जस्तो देखिए पनि जनताको बहुदलीय जनवादले नेपाललाई ओलीसँगै जोड्ने सम्भावना छ।जबज एकताको रसायन बन्न सक्छ।
सिद्धान्तत ओली र नेपालको बीच अहिले रहेको अन्तरविरोध अस्थायी हो। एकता पूरै टुटिसकेको छैन, टुटफुटको डिलमा अडिएको छ। ओली र नेपालबीच एकता सम्भव छ र हुनुपर्छ। हिजो टाउकाको मूल्य तोक्ने कांग्रेस र र मूल्य तोकिएका माओवादी पनि त स्थानीय निर्वाचन र सत्ता साझेदारीमा मिलेकै हुन्। अहिले नेकपा एमालेभित्रका ओली गुट र नेपाल–खनाल गुटबीचको टकरावमा कुनै सैद्धान्तिक वैचारिक असहमति होइन।सरकार र संगठनमा पदीय व्यवस्थापनको गुटीय सन्तुलनमा भएको असहमति हो तर विचारमा दुवै नेता एक ठाउँमा छन्। नेपाल– खनाल समूहले ओलीको सरकार सञ्चालन शैली र पार्टी र सरकारमा जिम्मेवारी ÷ पद वितरण ÷ राजनीतिक नियुक्तिजस्ता अस्थायी कुरामा असहमति राखेका हुन् तर एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादसँग होइन। जनताको बहुदलीय जनवादको रसायनले ओली र नेपाल समूहलाई जोड्ने छ, एकै ठाउँमा ल्याउने छ अर्थात् जबजको सियो र धागोले अन्तत: ओली र नेपालको च्यातिएको मन सिलाउने छ।