जनता रहे न देश रहन्छ

जनता रहे न देश रहन्छ

यतिबेला हाम्रो मुलुक कोरोना भाइरसको फैलँदो संक्रमणको कारण संकटमा छ। कोरोना संक्रमण फैलँदो छ। देशभरका अस्पतालहरू भरिएका छन्। औषधिहरू अभाव छन्। अक्सिजनको हाहाकार छ।उपचार नपाएर मृत्यु हुनेहरूको दर बढ्दो छ। राजधानी र सहरका अस्पतालहरूको त बिजोग छ भने ग्रामीण तहमा रहेकाहरूको हालत के होला ?कोरोनाको नयाँ भेरिएन्ट अर्थात कोभिड भेरिएन्ट–२ देखा परेको कारण धेरै मानिसहरूप्रभावित हुन पुगेका छन्।कोरोना गाउँगाउँमा बढी फैलिएको छ। 

गत वर्षदेखि देखा परेको कोरोना महामारी अघिल्लो वर्ष नै नियन्त्रण भयो भन्ने आकलन गरिएको थियो। तर, कोरोना भाइसर नियन्त्रण र रोकथाम गर्नको लागि पर्याप्त तयारी र भ्याक्सिन उपलब्ध हुन नसक्दा यसले नयाँरूप लिएर आयो।

सरकारी अस्पतालले मात्र धान्न नसक्ने अवस्था आएपछि सरकारले मेडिकल कलेजहरू र प्राइभेट अस्पतालहरूलाई पनि कोरोनो अस्पतालको रूपमा परिणत गरिसकेको छ। अस्पतालमा बेड नपाएर वरन्डाहरू, भुइँ, चौरीमा समेत राखेर बिरामीहरूको उपचारमा स्वास्थ्यकर्मीहरू अहोरात्रा खटिरहेका दृश्य देखियो। सरसर्ती हेर्दा सरकारले भरपुर शक्ति कोभिडमहामारीनियन्त्रण र रोकथाम गर्नमा केन्द्रित गरेको देखिन्छ। यद्यपि फैलँदो संक्रमणव्यवस्थापन गर्नसरकारलाई हम्मेहम्मे परेको स्पष्ट नै छ। र अहिले जति भइरहेको छ त्यो पर्याप्त छैन भन्ने विषय प्रष्ट छ। 

सन् २०१९ को डिसेम्बरतिर चीनको वुहान सरहबाट फैलिएको कोराना भाइरसले विश्वव्यापी महामारीको रूप लिएको छ। यद्यपि चीनले कोरोना नियन्त्रण गरिसकेको बताएको छ भने यसले अरू देशलाई नराम्ररी प्रभावित गर्दै लगिरहेको छ। कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल गरिरहेको छ। गरिबीदर बढ्ने निश्चित छ।कतिपय ठाउँमा भोकमरी सिर्जना भइसकेका छन्। 

यो महामारी हो। हामीले मात्रै यस्तो नियति भोग्नु परेको होइन, अहिले विश्व मानव समुदायलाई नै आक्रान्त पारेको छ। विश्वका शक्तिशाली देशलाई पनि यसले कमजोर पारिरहेको छ। विश्वमै कोभिडविरुद्धको खोप लगाउनको लागि मागअनुसार आपूर्ति हुन सकिरहेको छैन। भ्याक्सिनहरू उत्पादन हुन सकिरहेको छैन। औषधिजन्य सामग्रीहरू पर्याप्त आयात निर्यात हुन सकेको छैन। कोरोनामहामारी नियन्त्रण बाहिर गइरहेको छ। 

यस्तो महामारीसँग जुध्नु त छ नै। देशलाई यस्तो आपत् आइलागेको छ। जनताहरू स्वास्थ्य उपचार नपाएर छटपटाइरहेका छन्। अकालमै मृत्युको मुखमा पुगिरहेका छन्। तर हाम्रो राजनीतिक व्यवस्था उदेकलाग्दो छ। राजनीतिक खिचातानी, नेताहरूको दौडधुप र सत्तामोह यत्ति धेरै देखिइरहेको छकि, बाहिर छताछुल्ल भएर आइसकेको छ। कुनै पनि नेताहरूले यस्तो महामारीको बेलामा देशमा परेको संकटबाट कसरी सुरक्षित रहने, जनतालाई कसरी सुरक्षित राख्ने र संकटकाल टार्ने भन्ने विषयमा आवश्यक तयारी र सहयोग त परकै कुरा, खासै चासोसमेत दिएको देखिएको छैन। यो यथार्थ हो। 

अहिले अधिकांश सामाजिक सञ्जालमा पहुँच भएका र हातमा स्मार्ट फोन भएका युवाहरूसहयोग गर्नको साटो, नेताहरू र सरकारको कमजोरी केलाएर बस्ने, गाली र समर्थन गर्नमै व्यस्त देखिन्छन्, यो महामारी र संकटको बेला हो। यो बेलासकारात्मक सल्लाह दिएर कामप्रति अग्रसर बनाउनुपर्ने अवस्था हो। हामीलाई थाहा छ, हाम्रो सरकारको हालत कस्तो छ। नेताहरूको योग्यता क्षमता र कार्यदक्षता कस्तो छ। प्रत्यक्ष अप्रत्यक्ष तपाईं हाम्रै सहयोग र समर्थनको कारण उनीहरू नेतृत्वमा पुगेका हुन्। अहिले हामीले गाली गरेर तुरुन्तै जादुको छडी जसरी परिवर्तन हुने हो जस्तो लाग्दैन। यो मिथ्या आरोपबाहेक अरू केही हुन सक्दैन।कमजोर मनस्थिति बनाउने र झन्डिमोटिभेटिभ हुने देखिन्छ। त्यसैले सकारात्मक सोचले सल्लाह दिउँ ता कि उनीहरू त्यो काम गर्न बाध्य होउन्। यो महामारीमा अमानवीय राजनीतिक टीकाटिप्पणी झन राम्रो विषय हुनै सक्दैन।

अहिलेको महामारी नियन्त्रण र रोकथाममा जति संघीय सरकारको जिम्मेवारी छ त्योभन्दा बढी पक्कै स्थानीय सरकारको छ र हुनुपर्छ। स्थानीय तहमा पर्याप्त स्रोत र जनशक्ति छन्। त्यसलाई अधिकतम् परिचालन गरी जनताको सुरक्षा पहिला अनि अरू काम भनेर लाग्नुपर्ने आवश्यकता छ। विकास निर्माण र अन्य कामहरू अहिलेलाई थाती राखेर अर्काे वर्ष वा महामारी नियन्त्रण पछि गर्ने गरी केन्द्रित गर्नु नै बुद्धिमानी हुन्छ होला। जव जनतानै रहेनन् भने ती विकास निर्माणको संरचनाहरू के के लागि ? हामीसँग भएको बजेट हामी त्यही सडक खन्न, बाटो बनाउने, मन्दिर बनाउन पुरानै खालका विकासमा वितरण गरिरहेका छौं। यो भएन, त्यो पुगेन भनेर जनप्रतिनिधिहरूयो महामारीको बेला अरूतर्फ मुख ताकेर बसेर महामारी नियन्त्रण सम्भव होला र ? अहिलेको आवश्यकता भनेको आवश्यकताअनुासर आइसुलेन बेड निर्माण, भेन्टिरलेटरसहितको सुविधा बनाउने, पर्याप्त स्वास्थ्यकर्मी थप्ने, आफ्नै स्थानीय तहमा पीसीआर चेक गर्ने र रिपोर्ट निकाल्ने सुविधा बनाउने, पर्याप्त औषधि र अक्सिजनको उचित उपलब्धता र व्यवस्थापन गर्नमा केन्द्रित हुनुपर्छ। यस्तो पूर्वतयारी जरुरी छ। समस्या आउछ अनि गरौंला नि त भनेर हुँदैन। आपत् पर्दा केही पनि नपाइने रहेछ र मानिसहरूले अकालमै मृत्युवरण गर्नुपर्ने रहेछ भन्ने कुरा त हामीले दिनहुँ समाचार सुनिरहेका छौं नि होइन र ?एकाध जनप्रतिनिधिहरूले चढ्ने सवारीसाधनलाई बिरामी बोक्न प्रयोग गर्न दिँदैमा त्यसले जिम्मेवारी पूरा हुन सक्दैन। त्यो जनताकै करबाट खरिद गरिएको यातायात साधन भएको हुँदा त्यसले ठूलो अर्थ राख्दैन। पहिला आफ्नै स्थानीय तहमा पर्याप्त स्वास्थ्य उपकरण व्यवस्थापनलाई ध्यानदिनुपर्छ। 

अहिले स्थानीय तहले अर्काे फोकस गर्नुपर्ने विषय भनेको पर्याप्त कृषि उत्पादनमा जोड दिने हुनुपर्छ। आफ्नो पालिका क्षेत्रभित्र रहेका जमिनहरूमा पर्याप्त उत्पादन नगर्ने हो भने अव खाद्यान्न संकट पर्ने अवस्था भयावह रूपमा आउँदैछ। हामीले उपभोग गर्ने अधिकांश खाद्यवस्तु भारतबाट आयात हुन्छ, भारतमा कोरोनको कारण अर्थतन्त्र थिलथिलो परेको छ। त्यहाँ लाखौंको संख्यामा संक्रममित बढिरहेका छन्। भोलि खाद्यान्न आपूर्ति रोकिने अवस्था आयो भने के हालत हुन्छ ? त्यो अवस्थामा अधिकांश नेपालीहरू भोकभोकै बस्नुपर्ने अवस्था आउन सक्ने स्थित हुन्छ। त्यसैले अन्यत्र क्षेत्रमा विनियोजन गरिएको बजेटलाई अहिले अरू कामलाई पछि यथावत् गर्ने गरी रोकी मुख्य गरी स्वास्थ्य क्षेत्र र केही हिस्सा कृषि उत्पादन बढाउनको लागि लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ। र यसमा युवाहरूको परिचालनमा अधिकतम् गर्नु जरुरी छ।
अहिले सरकारलेस्वास्थ्य पहिला भन्ने मुल मत्र लिई राज्यका सम्पूर्ण स्रोत र शक्ति यो महामारीको रोकथाम र नियन्त्रणमा केन्द्रित हुनु जरुरी छ। जबसम्म महामारी नियन्त्रण हुँदैन तवसम्म राजनीतिक गतिविधि बन्द गर्नेसबै राजनीतिक दलहरूले प्रण गर्नु जरुरी छ। यस्तो बेला सबैले आआफ्नो पार्टी, नेता र कार्यकर्तालाई जे जति सकिन्छ जनताको स्वास्थ्य सुरक्षा पहिलो हो भन्ने मनोभावना जागृत गराई परिचालित गर्नु नितान्त जरुरी छ।

यस्तो बेलामा विकास साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरूबाट पनि उचित सहयोग, समन्वय र सहकार्यहरू उपलब्ध हुनु जरुरी छ। तपाईंहरूले गर्ने हरेक कार्यक्रमहरू जनता केन्द्रीय हुने भएको हुँदा ती लक्षित कार्यक्रम सञ्चालन गर्नको लागि पहिला त ती जनता बाच्नुपर्‍यो नि होइन र ? त्यसैले यो बेला सबैले ध्यान दिनुपर्ने र लगानी सहयोग गर्नुपर्ने विषय भनेको जनताको स्वास्थ्य पहिलो भन्ने मूल धारणा आत्मसात् गरी अघि बढ्नुपर्ने देखिन्छ।
हाम्रा नेताहरूको यो महामारी नियन्त्रणमा कत्ति पनि क्रियाशीलता देखिएन। जागरुकता देखिएन। आज कहाँ राजनीति बैठक। भोलिकहाँ राजनीति बैठक। सरकार ढाल्न। एक नेताले अर्काेलाई असफल बनाउन, गिराउन भुइँमै पछार्छन्। एउटा पार्टीले अर्काेलाई असफल बनाउन ठूला होटल, रिसोर्ट, ठूलो नेताको घर र व्यापारीको घर चहार्ने र दिन कटाउने। यस्तै नियति देखिएको छ। 

अहिलेको प्राथमिकता भनेको उपचार नपाएर छटपटाइरहेका जनतालाई स्वास्थ्य उपचार गराउनको लागि बन्दोबस्ती तर्फ लाग्ने हो ?राज्यको ध्यान त्यता लगाउन नेतृत्व दिने हो। जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी, पर्याप्त सेवा सुविधा, विकास र समृद्धिको सपनाहरू जनता र कार्यकर्तालाई बाँडेर तपाईंहरू त्यहाँ पुग्नु भएको होइन र ? यसरी सपना बाँड्ने र चर्काचर्का भाषण गर्न सक्नेहरूले देशलाई संकट परेको बेला गर्ने यही हो त ? तपाईंहरूको जिम्मेवारी र कर्तव्य यही हो त ?महामारीको बेलामा तपाईंहरूले गर्ने यस्तो निकृष्ट खालको राजनीतिले तपाईंहरूलाई कहाँ पुर्‍याउछ ? के तपाईंहरूको लागि जनताको जीवनको कुनै मूल्य छैन ? यो विषयमा गम्भीर समीक्षा गरी बेलैमा उचित ध्यान दिऊँ। जनता रहे न देश रहन्छ। देश रहे न भूगोल रहन्छ। यदि जनता र भूगोल नै नरहने हो भने नेता र नेतृत्व केका लागि ? अहिलेको जटिल परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने त्यसैमा सबैको ध्यान केन्द्रित हुन जरुरी छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.