मनाङमा भीषण बाढी: दुईवटा बस्ती डुबानमा
चामे: मनाङको चामे बजार र ताल गाउँ अविरल वर्षा र बाढीका कारण डुबानमा परेका छन् ।
मर्स्याङ्दी नदी छेउमै रहेका यी बस्तीका केही घर बाढीले बगाउन सक्ने जोखिम रहेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । नदी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ५० घर डुबानमा परेका छन् भने अरु केही घर पनि जोखिममा रहेको बताइउको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बाढीका कारण स्थानीयहरु विस्थापित भएका छन् । उनीहरुलाई अर्को व्यवस्था नभएसम्म सदरमुकामस्थित सरकारी भवनमा राखिएको प्रजिअ लामिछानेले बताए ।
मर्स्याङ्दी नदीमा पानीको बहावले बस्ती नै जोखिममा परेपछि यहाँ सुरक्षाकर्मी खटाइएको छ । बाढीमा फसेकाहरूको अहिले उद्दार गरिएको छ । बाढीले तिमाङ खोलाको पुल र लघु जलविद्युत गृह समेत बगाएको स्थानीयहरुले बताए । जसले गर्दा यस क्षेत्रमा अहिले बिजुली बत्तीको आपूर्ति ठप्प भएको बताइएको छ । यद्यपि मानवीय क्षति भने भएको छैन । घटनाको क्षतिबारे पूर्ण विवरण अझै आइसकेको छैन ।