मनको ऐनामा मान्छे

मनको ऐनामा मान्छे

कुनै पनि मानिसले आफ्नो रूप, बोलीचाली, व्यवहार, उसलाई समाजले हेर्ने दृष्टिकोण तथा आफ्नै सोच आदिबाट आफ्नो व्यक्तित्व निर्माण गर्छ। मानिस जतिसुकै सुन्दर तथा तेजस्वी भएता पनि प्रायः उसले आफ्नो रूप र व्यवहारमा कुनै न कुनै खोट देख्दछ। एकपटक एक टेलिभिजनका पत्रकारले हिन्दी फिल्मकी सुन्दर अभिनेत्री रविना टन्डनलाई सोधेका थिए, तपाईलाई आफ्नो कुन अंग मन पर्दैन ? जवाफमा रविनाले आफ्नो नाक यस्तो नभइदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ भनेकी थिइन्।

हो, भारतीय अभिनेत्री रविनालाई मात्र होइन कि नेपालकी अभिनेत्री रेखा थापा हुन् कि भारतकी ड्रिम गर्ल हेमा मालिनी हुन् वा कैटरिना कैफ वा सलमान खानलाई सोधे पनि आफ्नो कुनै न कुनै अंग मन नपर्ने कुरा बताउने छन्। सेलिब्रेटीले मात्र होइन कि अरूलाई सुन्दर लाग्ने आम महिलापुरुषहरूले पनि यस्तै कुरा बताएको पाइन्छ। कलेजमा कलेज सुन्दरीको रूपमा चर्चित २० वर्षीय सम्झनाले पनि आफ्नो सुन्दरतामा केही कमजोरी रहेको बताउँछिन्। उनी भन्छिन्, ‘मेरो नाक यस्तो नभइदिएको भए राम्रो हुने थियो।’ तर उनका साथीहरूले उनको नाक झन् राम्रो भएको बताए। सम्झना जस्तै बास्नालाई आफ्नो ओठ मन पर्दैन भने युवा विद्यार्थी राज बस्नेतलाई आफ्नो होचो कद अलि खड्किएको छ। त्यसो त उनी ५ फिट ५ इन्च अग्ला छन्।
अतः यसरी प्रायः हरेक मानिसले आफ्नो शरीरिक रूपरंगप्रति कुनै न कुनै रूपमा कमीकमजोरी भेट्छन्। यो सामान्य कुरा हो। यसले मानिसको दैनिक जीवनमा कुनै असर गर्दैन। तर कतिपय मानिसहरूका लागि यो एक जटिल समस्या बन्दछ र यसले मनोरोगको रूप धारण गर्छ। यस्तो मनोरोगलाई आफ्नो रूपरंग मन नपर्ने विकृति (बडी डिसमोर्फिक डिसअर्डर), छोटकरीमा बीडीडी भनिन्छ।

बीडीडी के हो ?
मनोचिकित्साका अनुसार आफ्नो रूपरंग मन नपर्ने विकृति (बीडीडी) एक प्रकारको मानसिक रोग हो। यदि कुनै व्यक्ति आफ्नो रूपरंगका कारण चिन्तित भएर उसको दैनिक जीवन नै प्रभावित हुन्छ भने त्यसलाई आफ्नो शरीर मन नपर्ने मनोविकृति (बीडीडी) भनिन्छ। यस्तो मानसिक रोगबाट पीडित मानिसलाई विशेष गरेर आफ्नो अनुहार, नाक, ओठ, मुख, आँखा, त्वचा, दाँत, शरीरको ढाँचा, स्तन, छाती, लिंग आदि मन पर्दैन। यस मनोवैज्ञानिक रोगबाट पीडित व्यक्तिले आफ्नो शरीरमा खासगरी अनुहार (जस्तै नाक ठूलो, लामो, ओठ नमिलेको आदि) विकृत भएको (आशंकाको) कल्पनाचित्र बनाएको हुन्छ, तर यस्तो विकृति अन्य मानिसले खासै नोटिस गरेका हँुदैनन्।

बीडीडीलाई पहिला डिस्मोर्फोफोबिया (कुरूपताको भय) भनिन्थ्यो। यस्ता रोगीहरूले आफ्नो समस्या समाधानार्थ पटक–पटक छाला रोग विशेषज्ञ, प्लाष्टिक सर्जन, दन्तरोग विशेषज्ञहरूलाई भेट्ने गर्छन्। कतिपयले त पटक–पटक प्लाष्टिक सर्जरी पनि गराउने गर्छन्। यस समस्याले उग्ररूप लियो भने रोगी सामाजिक फोबियाबाट पीडित हुन सक्छन्। अनि आफ्नो पेशा, नोकरी वा स्कूल नै छोडेर घरमा घुटघुट आँसु पिएर कैदीजस्तो जीवन बाँच्न बाध्य हुन्छन्। बीडीडी तुलनात्मक रूपमा महिलामा बढी देखा पर्छ।

बीडीडीको सर्वोत्तम उपचार भनेको नै मनोवैज्ञानिक चिकित्सा (साइकोथेरापी) हो। कग्निटिभ थेरापी, बिहाभिहर थेरापी तथा कग्नििटिभ बिहाभियर थेरापी (सीबीटी) बीडीडीको निकै प्रभावशाली उपचार विधि हुन्। कग्निटिभ थेरापीद्वारा रोगीको नकारात्मक सोच र विश्वास सकारात्मक बनाउने कार्य गरिन्छ।

श्वेता २५ वर्षीय अविवाहित युवती हुन्। उनी जति सुन्दर छिन्, त्यत्ति नै प्रतिभाशाली पनि छिन्। उनले २३ वर्षको उमेरमा विशिष्ट श्रेणीमा एमएस्सी गरेपछि एक चर्चित कलेजमा पढाउन थालेकी थिइन्। आफ्नो पेशामा दक्ष हुँदाहुँदै पनि उनलाई कलेज पढाउन निकै डिस्ट्रेसफुल भइरहेको थियो। त्यसैले ६ महिनाजति पढाएर श्वेताले कलेज छोडिन्। त्यत्ति चर्चित कलेजको त्यो आर्कषण जागिर छोड्नु पर्ने कारण थियो, उनको नाक। श्वेतालाई आफ्नो नाक कत्ति पनि मन पर्दैनथ्यो। उनलाई आफ्नो नाक लामो, चुच्चो र सुँगाको जस्तो लाग्थ्यो।

कलेजमा होस् वा सार्वजनिक ठाउँहरूमा मानिसहरू हाँसे भने उनको नाक हेरेर गिल्ला गरेझैं लाग्थ्यो। यसैले उनी सार्वजनिक ठाउँहरूमा पनि कमै जान्थिन्। जानै पर्ने अवस्थामा घन्टौं ऐना हरेर नाकलाई मेकअपले ढाक्ने प्रयास गर्थिन्। तर पनि उनी सन्तुष्ट हुँदैनथिन्। उनको मनमा प्रायः आफ्नो नाक सँुगाको जस्तो नभइदिएको भए कति राम्रो हुने थियो भन्ने कुरा खेलिरहन्थ्यो। उनले मौका पाउनासाथ ऐनामा आफ्नो नाक हेर्दिन्। नाक देखेर उनलाई निकै हीनताबोध हुन्थ्यो। दिनप्रति दिन उनको स्टे«स पनि बढ्दै गएको थियो। उनी निकै उदास र निराश थिइन्। यसै कारणले गर्दा उनी आफ्नो पेशामा दक्ष हुँदाहुँदै पनि राम्रो सफलता प्राप्त गर्न सकेकी थिइनन्।

छोरीको यस्तो अवस्था देखेर श्वेताका बाआमाले उनलाई प्लाष्टिक सर्जरी गर्न सल्लाह दिए। श्वेताले विदेश गएर प्लाष्टिक सर्जरी गराइन्। तर प्लाष्टिक सर्जरीपछि उनलाई आफ्नो नाक निकै सानो जस्तो लाग्न थाल्यो। प्लाष्टिक सर्जरीपछि पनि उनको समस्यामा कुनै कमी आएन। यसरी नै दिन बित्दै गए, एक दिन एक चिकित्सक साथीको सल्लाहमा उनी साइकोलोजी क्लिनमा गइन्। साइकोलोजिस्टले उनी बीडीडीबाट ग्रस्त भएको बताए। अनि कग्निटिभ बिहाभियर थेरापीद्वारा उनको उपचार सुरु गरे, चिकित्सा सत्रमै उनी चामत्कारिक रूपमा ठीक भइन्। अहिले उनी कलेजमा प्राध्यापक छिन्।

सुन्दरताको मानक
सुन्दरता र कुरूपताको परिभाषा हरेक समाज र संस्कृतिमा अलग–अलग हुन सक्दछ। एक संस्कृतिमा कुरूप मानिने मानिस अर्को संस्कृतिमा सुन्दर लाग्न सक्दछ। अतः सुन्दरता र कुरूपता हरेक समाज र संस्कृतिमा स्थापित मादण्डले निर्धारण गर्छ। जस्तो कि ठूलो अनुहार पेरुमा कुरूप मानिन्छ। छोटो घाँटी बर्मामा र ठूलो खुट्टा चीनमा कुरूप मानिन्छ। प्रायः ठूलो ओठ धेरै ठाउँमा राम्रो मानिँदैन तर अफ्रिकामा सुन्दर मानिन्छ।

बीडीडी टेस्ट
  बीडीडी मानसिक रोग हो। यस रोगका निदानका लागि मनोचिकित्सक तथा मनोवैज्ञानिकसँग सम्पर्क गर्न आवश्यक हुन्छ। तर निम्नलिखित प्रश्नहरूको आधारमा आफैं पनि बीडीडीको प्रारम्भिक जाँच गर्न सकिन्छ। के तपाईंलाई आफ्नो शरीरको कुनै अंग वा अंगहरू (जस्तै नाक, कान, ओठ, अनुहार आदि) नराम्रो वा भद्धा लाग्छ ? के तपाई उक्त अंगप्रति अति चिन्तित हुनुहुन्छ ? के तपाईले आफ्नो यस अंग अन्य मानिसको यस अंगसँग तुलना गर्नुहुन्छ ? के तपाईले हरहमेसा यस अंगलाई ऐनामा हेर्नुहुन्छ ? के तपाई यस अंगका कारण घरभित्र बस्न बाध्य हुनुभएको छ ? के तपाई आफ्नो यस अंगलाई कसरी छुपाउने हो भन्ने प्रयत्न गर्नुहुन्छ ? के तपाई यस अंगका कारण सार्वजनिक कार्यक्रम तथा सभासमारोहमा जान हिच्किचाउनुहुन्छ ? के तपाई आफ्नो यस अंग राम्रो भए जीवन कति रमाइलो हुने थियो जस्ता लाग्छ ? के तपाईलाई मानिसहरू हाँसे भने तपाईको यस अंग देखेर हाँसेको जस्तो लाग्छ ? के तपाईंको यस अंगले गर्दा तपाईंको दैनिक जीवन नै प्रभावित भएको छ ?

यदि उपुर्यक्त प्रश्नहरूको अधिकांश जवाफ सकारात्मक भएमा तपाईं पनि बीडीडीबाट पीडित भएको हुनुहुन्छ। त्यसैले तुरुन्त मनोचिकित्सक वा मनोवैज्ञानिकसँग सम्र्पक गर्नु उचित हुन्छ। त्यो किनभने बीडीडीले थुप्रै दुष्परिणामहरू पैदा गर्छ। यसले मानिसको प्रतिभालाई खुम्चाएर राख्नुको साथै जीवन नै जेल जस्तो बनाउन सक्दछ। भनिन्छ, प्रसिद्ध पप गायक माइकल ज्याक्सन पनि बीडीडीबाट पीडित थिए। त्यसैले उनले पटक–पटक प्लाष्टिक सर्जरी गराएका थिए भन्ने कतिपय विशेषज्ञहरूको भनाइ छ। तर यस कुराको औपचारिक रूपमा पुष्टि हुन सकेको छैन।

बीडीडीका दुस्परिणाम
    दीर्घ बीडीडीले मानसिक तथा शारीरिक रूपमा थुप्रै दुष्परिणामहरू निम्ताउँछ। बीडीडीका कारण पैदा हुने प्रमुख दुष्परिणामा निम्नलिखित हुन सक्दछ। डिप्रेसन। सामाजिक फोबिया। धूम्रपान तथा माद्यक पदार्थको सेवन। इटिङ डिसअर्डर। अब्सेसिब कम्पलसिव डिसअर्डर (ओसीडी)। आफ्नो पेशा तथा स्कूल जान कठिनाइ। पारिवारिक सम्बन्धमा कमी। अनावश्यक कस्मेटिकको बढ्दो प्रयोग। पटक–पटक प्लाष्टिक सर्जरी। आत्मविश्वासमा कमी। एकलकाँटे जीवन। पटक–पटक अस्पतालमा भर्ना। आत्महत्याको विचार वा प्रयत्न। अन्य मानसिक रोगहरू।

बीडीडीका कारण
    बीडीडीका वारेमा थुप्रै अध्ययन–अनुसन्धानहरू भएता पनि यसको कारणात्मक पक्षहरूमा अझै पर्याप्त अध्ययन–अनुसन्धान गर्न बाँकी नै छ। साधारणतया जैवरासायनिक कारण तथा आनुवांशिक कारणहरूले गर्दा बीडीडी देखा पर्ने भएता पनि मनोसामाजिक कारण बीडीडी पैदा गर्ने प्रमुख कारण हो। त्यो किनभने सामाजिक वातावरण, जीवनको कटु अनुभव तथा संस्कृतिका कारणले गर्दा नै अधिकांश बीडीडी पैदा हुन्छन्। कग्निटिभ मोडलका अनुसार आफ्नो नकारात्मक आत्मछवि तथा बाल्यकालमा अरूले गरेको खिसिटिउरीको कटु अनुभव आदि बीडीडीका प्रमुख कारणहरू हुन्। बीडीडी खासगरी बाल्यकाल तथा किशोरावस्थामा पैदा हुन्छ।
 
बीडीडीको उपचार
बीडीडी एक मनोवैज्ञानिक रोग भएकाले मनको पुनसर्रंचना बिना बीडीडीको उपचार प्रायः सम्भव हँुदैन। त्यसैले बीडीडीको सर्वोत्तम उपचार भनेको नै मनोवैज्ञानिक चिकित्सा (साइकोथेरापी) हो। कग्निटिभ थेरापी, बिहाभिहर थेरापी तथा कग्नििटिभ बिहाभियर थेरापी (सीबीटी) बीडीडीको निकै प्रभावशाली उपचार विधि हुन्। कग्निटिभ थेरापीद्वारा रोगीको नकारात्मक सोच र विश्वास सकारात्मक बनाउने कार्य गरिन्छ भने बिहाभियर थेरापीद्वरा रोगीको व्यवहार ठीक पार्ने कार्य गरिन्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.