लमजुङमा बाढीको वितण्डा : दोर्दीखोलाको बाढीले हिलेबजारका १४ घर बगायो
बेंसीसहर : लमजुङको दोर्दीखोलामा बाढी आउँदा दोर्दी गाउँपालिका–८ हिलेबजार क्षेत्रका १४ घर बगाएको छ । स्थानीय क्षितिज लामाका अनुसार दोर्दीखोलामा मंगलबार साँझदेखि रातभरि खोलाले बजारका घरहरू बगाएको थियो ।
एक्कासी बाढीले घरहरु भत्काउन थालेपछि घरका सामान निकाल्न नसकिएको उनले बताए । बाढीको जोखिम रहेका घरमा भने सामान उठाउन लागिएको उनले बताए । १ सय २० घर रहेको उक्त क्षेत्र नै बाढीको उच्च जोखिममा छ ।
दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार घर बगाएका र उच्च जोखिममा रहेकालाई फलेनी माविको भवनमा राखिएको छ । बाढीले बिजुलीको पोल बगाउँदा विद्युत अवरुद्ध भएको छ । खेलमैदान र किसानका कुखुराको खोर पनि बगाएको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका स्थानीयको उद्धारमा प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको बताए । सदरमुकाम बेसीशहरबाट करिब २५ किलोमिटर दुरीमा पर्ने हिलेबजार जाने कच्ची बाटो पहिरोले भत्किएको लुइँटेलले बताए । बाढीले घरहरूमा क्षेति भए पनि मानवीय क्षति भने भएको छैन ।
दोर्दीखोलामा आएको बाढीले निर्माण सकिनै लागेका जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ । लिवर्टी हाइड्रो पावर र हिमालय हाइड्रो पावरले बनाइरहेका आयोजनामा क्षति पुगेको प्रजिअ लुइँटेलले बताए । उनका अनुसार दोर्दीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका टावर र बिजुलीका अन्य पोलसमेत बाढीले ढलाएको छ ।
प्रजिअ लुइँटेलले हिलेबजारमा राहत लिएर जाने तयारी भइरहेको बतसाए । गाडी लिएर जाने अवस्था नभएकाले अन्य उपाय खोजिरहेको उनले बताए । उनका अनुसार राहत सामग्रीलाई उदीपुरस्थित नेपाली सेनाको श्रीजंग गणमा पुर्याउने र त्यहाँबाट सेनाले पारी चितीतर्फ ट्याक्टर झिकाएर लैजाने प्रयास भइरहेको छ ।
यस्तै मस्याङ्दी नदीमा आएको बाढीले भुलभुलेमा लेकबेसी पानी उद्योग, इलाका बन कार्यालय र एउटा रेष्टुरेन्ट बगाएको छ । मस्र्याङ्दी नदीले कटान गर्दा रामबजारस्थित खेलमैदान बगाएको बाघेता युवा क्लबका अध्यक्ष विष्णु गुरुङले बताए ।
बाढी र पहिरोका कारण मस्र्याङ्दी–४ जगतमा २ वटा बुङ्गुर फार्म र एउटा कुखुरा फार्म पनि बगाइदिएको छ । बेसीसहर चामे सडकको लमजुङ र मनाङ खण्डको विभिन्न स्थानमा झरेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । सडकमा झरेका ठुलाठुला पपिहरो पन्छाउन नसक्दा अति आवश्यक एम्बुलेन्स, विद्युत लगायतका सेवासमेत सञ्चालन हुन सकेका छैनन् ।