तीनजना सवार मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
![तीनजना सवार मोटरसाइकल दुर्घटना, चालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/BKT-Accident_20210617052452_JYYDOdDcWS.jpg)
भक्तपुर : मध्यपुर थिमि नगरपालिका ४ चारदोबाटोमा बुधबार राती तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अरु दुईजना भने घाइते भएका छन्।
दुर्घटनामा चालक सोलुखुम्बु चौलाखर्क ३ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उनले उपचारको क्रममा बिहीबार बिहान करिब साढे २ बजे घाइते बस्नेतको मृत्यु भएको बताए।गिरीका अनुसार मोटरसाइकलको पछाडि बसेका उदयपुरको ताप्ले गाउँपालिका -५ घर भएका २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुलीको तीनपाटन गाउँपालिका- ५ घर भएका २५ वर्षीय अमित जैरु घाइते भएका छन्। उनीहरु दुवैको काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पालमा उपचार भइरहेको उनले बताए।
भक्तपुर प्रहरीका अनुसार बुधबार करिब ११ बजे काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ७७ प ५६०५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक बीचमा रहेको आइल्याण्डमा ठोक्किई उक्त दुर्घटना भएको थियो।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ नजिकै रहेको प्रहरी टोलीले घाइते तीनजनालाई उपचारको लागि मध्यपुर थिमि नपा- ३ गट्ठाघरस्थित नागरिक अस्पताल पुर्याएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
नागरिकमा प्रारम्भिक उपचारपछि तीनैजनलाई त्रिवि शिक्षण अस्पाल रिफर गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)