तुलसीपुरको पातुखोला बाढीको उच्च जोखिममा
दाङ : एक सातादेखिको अविरल वर्षाका कारण धेरै क्षेत्रहरु डुबानमा परेका छन् । बस्ती र बजार समेत डुबानमा परेका छन्। सडक, पुलपुलेसा बगेका छन् । यस्तै बाढी र पहिरोको उच्च जोखिममा दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको पातुखोला क्षेत्र पनि रहेको छ। राष्ट्रियस्तरमा सबैभन्दा बढी जोखिम क्षेत्रको रुपमा मानिएको तुलसीपुरको पातुखोला क्षेत्र अहिले पनि उच्च जोखिममा रहेको छ ।
लामो समयदेखि खोलाकै रुपमा बगेको उक्त क्षेत्र नेपालमा चलेको सशस्त्र द्वन्द्वको समयदेखि मानवीय अतिक्रमणमा परेको थियो । झण्डै १८/२० वर्षको अवधिका खोला- कुलोमा परिणत भएको छ । बगर बजार र बस्तीमा परिणत भएको छ ।
पातुखोला क्षेत्रको ५ किलोमिटर क्षेत्र अहिले पूर्णरुपमा बस्तीको रुपमा विकास भएपछि यो क्षेत्र उच्च जोखिममा परेको हो। मानवीय लापरवाहीका कारण अहिले यो क्षेत्र उच्च जोखिममा रहेको र यसका लागि सरकारले सुरक्षाको उपायहरु खोजिरहेको तुलसीपुर उपमहानगरपालिका ९ का वडा अध्यक्ष घनश्याम ढकालले बताए ।
संरक्षणका लागि तीनै तहका सरकार जुटेको भएपनि त्यो प्रयाप्त नभएको उनले बताए । बाढीले विगतमा पुर्याएको क्षति हेर्दा भविष्यमा यसबाट ठूलै क्षति हुने स्थानीयको आंकलन छ।प्रकृतिलाई मानव जातीले नै चुनौति दिइरहेकाले कालान्तरमा खोलाले आफ्नो लय समात्ने ठूलो जोखिम रहको स्थानीय नारायण भण्डारीले बताए । उनले विपतका नाममा त्यहि क्षेत्रमा राज्यले पछि राहतको नाममा थुप्रै बजेट समेत खर्च गर्नुपर्ने अवस्था रहने भन्दै त्यो अवस्था आउन नदिन समयमा नै सोच्नुपर्ने बताए । यसमा अहिले नै सहज भएमा सबै सुरक्षित हुने तर्क उनले गरे ।
पातुखोलाको सिरान सल्यानको कपुरकोट क्षेत्र हो । त्यो क्षेत्र केहि वर्षदेखि दलदल क्षेत्र बनेकाले पहिरोको समेत उच्च जोखिम रहेको र पहिरो खस्न वित्तिकै त्यसको असर तुलसीपुर क्षेत्रमा पर्ने र पातुखोला क्षेत्र पूर्णरुपमा प्रभावित रहने अवस्था छ । पातुखोला क्षेत्रमा मात्रै हजारै घरहरु निर्माण गरिएका छन् भने,दशौं हजार मानिसक बसोबास गर्दै आएका छन् ।
स्थानीय पदम केसीले पातुखोला संरक्षणका लागि तटबन्धहरु निर्माण भइरहेको भएपनि जोखिम भने कम नभएको बताए । उनले बगरको बस्ती र बजार भएकाले जुनकुनै समयमा पनि समस्या आउन सक्ने उल्लेख गरे ।
तुलसीपुर उपमहानगरनगरपालिका १ राम्रीको फेदिबाट उरहरीको सुकौरा बबईसम्ममा पर्ने पातुखोलाको रेड क्षेत्र पहिचान र खोजि गर्न यसअघि काम सुरु भएको छ। यसका साथै भविष्यमा हुने क्षतिको विषयमा अध्ययन अनुसन्धान समेत भइरहेको छ। समयमा सजक नभए पातुखोलबाट ठूलो क्षति नहोला भन्न सकिन्न।