मनाङमा हेलिकप्टरबाट ३५ बाढी पीडितको उद्धार
बेंसीसहर : हिमालपारी मनाङमा बाढीबाट विस्थापित ३५ जनाको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ। तीन दिनदेखि बाढीका कारण फसेका मनाङ नासोँ गाउँपालिका तालका स्थानीयको बिहीबार उद्धार गरिएको हो।
मनाङका निवर्तमान सांसद पाल्देन गुरुङसहितको उद्धार टोलीले मनाङको नासोँ गाउँपालिका– १, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा लगेको छ। नासोँ गाउँपालिका– ५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।
यस्तै, नासों गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धारको प्रयास गरिएपनि मौसम खराबीका कारण विहिबार सम्भव भएको छैन्। विघटित प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले चामेमा पानीको अभाव भएपछि निजी हेलिकप्टरमार्फत खानेपानी लगिएको बताए।
बाढीका कारण भौगोलिक रूपमै समस्यामा परेकालाई उद्धार गरिएको छ भने सुरक्षित ठाउँमा बसेकालाई सोही ठाउँमा राहत पुर्याइएको छ।
मंगलबारदेखि नै बाढी प्रभावितको उद्धार गर्न प्रयास गरे पनि मौसम खराबीका कारण सम्भव भएको थिएन। मनाङको नार्पाभूमि गाउँपालिकाको फु गाउँको लेकमा फसेका ७५ जना फसेका छन्। हेलिकप्टरले उनीहरुको अवस्था बुझेर फर्किएको छ। उनीहरु फु गाउँमा रहेको पाँच हजार मिटर उचाईको नामु लेकमा रहेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहितको टोली पनि बिहीबार सेनाको हेलिकप्टरमा राहत लिएर चामे पुगेको थियो। मुख्यमन्त्री पोख्रेलसंग मन्त्री राजीव गुरुङ, प्रदेश सांसद चिन्ता घलेसहितको नौ जनाको टोली थियो।
यस्तै पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ पनि बिहीबार नै निजी हेलिकोप्टरमार्फत राहत लिएर मनाङ पुगेका छन्। यस्तै, बिहीबार नै प्रभु हेलिकप्टरले मनाङबाट आफ्ना कर्मचारीलाई उद्धार गरेको छ।
मनाङमा बाढीले बुधबार नासाँे गाउँपालिकाको भवन, प्रहरी चौकी धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन र पाँचवटा होटेल बगाएको थियो।
नासोँ गाउँपालिका– १ को तालगाउँका ५० घर र चामेको ६ घर डुबानमा परेको छ। बाढीले बुधबार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चे क्षेत्र जाने झोलुंगे पुल बगाएको थियो। बाढीले चामेबजार, तालगाउँका गरी सयभन्दा बढी घरका हजारजना विस्थापित भएका छन्।