कोरोना संक्रमण : सहरमा थोरै, गाउँमा धेरै
भोजपुर : गत जेठ २६ मा टेम्केमैयुङ गाउँपालिका—६, कोटका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको होमआइसोलेसनमा मृत्यु भयो। त्यस्तै जेठ २९ मा रामप्रसाद राई गाउँपालिका—६, वैकुण्ठेको कोभिड अस्पतालमा उपचाररत अर्का ३६ वर्षीय पुरुषको पनि ज्यान गयो। केही साताअघि मात्र उत्तरी षडानन्द नगरपालिका—१, नेपालेडाँडा मझुवाबेँसीको सिंगो गाउँ नै कोरोनाले थलिए। गाउँ सिल गरियो।
जिल्लाभर निषेधाज्ञा गरिए पनि स्वास्थ्य मापदण्ड लागू नहुँदा भोजपुरका ग्रामीण क्षेत्रमा संक्रमण दर बढेको छ। विशेषगरी कामका सिलसिलामा जिल्ला बाहिर रहेका मानिस लकडाउन सुरु भएपछि गाउँ फर्किएलगत्तै संक्रमण फैलिएको हो।
स्वास्थ्य मापदण्डको ज्ञान नहुँदा सहरबजारमा भन्दा गाउँमा संक्रमण बढेको छ। गाउँमा स्वास्थ्य सुरक्षाको कुनै आत्मानुभूति नहुनुले पनि संक्रमण फैलिएको चिकित्सक विपना राईले सुनाइन्। ‘गाउँका मानिस संक्रमणको विषयमा अनविज्ञ र सानातिना रोगबिमारलाई बेवास्ता गर्ने बानीले को कहाँबाट गाउँ पस्यो, कतिजनासँग साथसम्पर्कमा रह्यो कुनै जानकार छैन, जसका कारण कोभिड संक्रमण गाउँगाउँ फैलिएको छ’, उनले भनिन्।
पछिल्लो तथ्यांक अनुसार ९ स्थानीय तहमध्ये रामप्रसाद राई गाउँपालिकामा सबैभन्दा बढी १ सय २६ जनालाई संक्रमण पुष्टि भएको छ। त्यस्तै अरुण गाउँपालिकामा १ सय ११ र हतुवागढी गाउँपालिकामा ९९ जना संक्रमित छन्। सदरमुकाम रहेको भोजपुर नगरपालिका र प्रमुख व्यापारिक नाका रहेको दिङ्ला क्षेत्रमा संक्रमणदर अन्य स्थानीय तहको भन्दा कम छ। सदरमुकाम, प्रमुख सिमानाका, हाटबजार र सार्वजनिक स्थानहरूमा निषेधाज्ञा गरिएका छन्।
निको हुनेभन्दा संक्रमितको संख्या दिनानुदिन बढेकाले होमआईसोलेसनमै सुरक्षित बस्न प्रशासनले निर्देशन दिएको छ। कोभिड—१९ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिँदा भाइरल ज्वरो ठान्ने अधिकांश ग्रामीण क्षेत्रका मानिसलाई परीक्षण गराउँदा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणीन्द्र थापाले बताए।
उनले भने, ‘अधिकांश केसहरूमा वर्षायामसँगै सुरु भएको भाइरल ज्वरो र टाइफाइड ठानेर सामान्य लिँदै असुरक्षित तरिकाले घरमै बस्नेहरूको परीक्षण गराउँदा कोरोना भेटिएको छ’, जिल्लाभर निषेधाज्ञा गरिए पनि आवश्यक कामले छिटफुट हिँड्डुल गरिरहने सर्वसाधारण र संक्रमितको सम्पर्कमा आउने व्यक्तिबाट जोगिनै समस्या थपिएको छ। दोस्रो भेरियन्टको कोरोना संक्रमणले ५ जनाले ज्यान गुमाइसकेका छन्।
ग्रामीण भेगमा स्वास्थ्य सावधानी नअपनाउनाले संक्रमण बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसका कारण अहिले सहरबजारमा भन्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको हो। जोखिमलाई विशेष ध्यानमा राखेर स्थानीय तहहरूले प्रत्येक वडातहहरूमा शंकास्पदहरूको एन्टिजेन परीक्षण गराउन स्वास्थ्यकर्मीको टोली खटाएको छ। शंकास्पद संक्रमितको पहिचान र जोखिम न्यूनीकरण गर्ने प्रयास भइरहेको भोजपुर नगरपालिकाकी उपमेयर ममिता राईले सुनाइन्।
जिल्लाका धेरै ग्रामीण समुदायमा कोभिड परीक्षण गर्दा ठूलो संख्यामा भाइरस संक्रमण भेटिएको छ। संक्रमित व्यक्ति सुरक्षितसँग नबस्दा अन्य व्यक्तिमा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ। कोभिड जाँच गर्ने एन्टिजेन र स्वाब किटहरू पनि पर्याप्त नहुँदा कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्तिको स्वास्थ्य जाँच गराउन समस्या भएको जिल्ला अस्पताल भोजपुरका निमित्त प्रमुख डा. अमितेशराज पाण्डेले बताए।
कोरोना संक्रमणका कारण केही स्थानीय तहका कार्यसम्पादनहरू प्रभावित बने। आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधि र कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना लागेपछि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएको थियो। यस्तै टेम्केमैयुङ गाउँपालिका र पौवादुङमा गाउँपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै अत्यावश्यक कामबाहेक सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको थियो।