बागलुङमा करेन्ट लागेर एक युवकको मृत्यु
बागलुङ: बागलुङ नगरपालिका–४ उपल्लाचौरमा करेन्ट लागेर शुक्रबार एक युवकको मृत्यु भएको छ ।
केही दिनयता लगातार परेको वर्षासँगै आएको बाढीले ल्याएको गग्रेटो सहितको माटो सफा गर्ने क्रममा करेन्ट लागेर पर्वतको जलजला गाउँपालिका ६ धाइरिङ घर भएका१९ वर्षीय सागर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपल्लाचौरस्थित राजकुमार शर्माको ग्यारेजको माटो सफा गर्दा करेन्ट लागेर ज्यान गएको उनका ससूरा याम बहादुर विकले बताए । आफूले माटो उठाउने र ज्वाइँले ठेलामा फाल्दै गर्दा करेन्ट लागेर ज्वाइँ हेर्दाहेर्दै अचेत भएको र अस्पतालमा उपचारका लागि लगिएको विकको भनाइ छ ।
करेन्ट लागि अचेत भएर लडेका नेपालीलाई धौलागिरी अस्पताल लगिए पनि अस्पतालले केही समयमै मृत घोषणा गरेको थियो ।
मृतक नेपाली ससूराको घरमा बस्दैआएका थिए । सामान्य ज्याला मजदुरी गर्ने नेपालीका पिताको पनि एक महिनाअघि मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।