जारखोला सिचाईं आयोजना निर्माण
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा जारखोला सिचाईं आयोजना निर्माण भएको छ। आयोजनाबाट भुरुङ्ग–तातोपानीको कटुञ्जे र ठूलोबगरको १८ हेक्टर क्षेत्रफलमा सिचाई सुविधा पुगेको छ।
आठ वर्षअघि जारखोला सिचाई आयोजनाको परिकल्पना गरेका कृषकहरुले सपना पुरा भएकोमा उत्साहित भएका छन्। खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले वि.सं. २०७५ सालदेखि जारखोला सिचाई आयोजना निर्माण सुरु गरेको थियो।
५० लाख रुपैयाँमा आयोजना निर्माण भएको कार्यालयका इञ्जिनियर अञ्जन खत्रीले बताए। ‘आर्थिक वर्ष २०७६/७७ ठेकेदारले मुहानमा इन्टेक, ठूलोबगरमा ७२ हजार लिटर क्षमताको पानी संकलन गर्ने ट्यांकी निर्माण गरेको थियो,’ उनले भने ‘सर्वेक्षण गरेकोभन्दा ३५० मिटरमाथि मुहान सार्न उपभोक्ता समितिमार्फत काम भएको थियो।’
रामकृष्ण कन्ट्रक्सनले ३३ लाख ७७ हजार रुपैयाँ भुक्तानी लगेको छ। आयोजनाको करिब आठ किलोमिटर दुरीमा एचडिपी र जिआई पाइपलाइन जडान भएको छ। निर्माण व्यवसायी र उपभोक्ता समितिमार्फत काम विभाजन गरेर आयोजना कार्यान्वयन भएको थियो।
उपभोक्ता समितिले गत वर्ष तीन लाख ९६ हजार रुपैयाँमा ३३० मिटर एचडिपी पाइप जडान गरेका थिए। चालु आवमा कार्यालयको ९ लाख ७९ हजार ३५२ रुपैयाँ सहयोग र एक लाख ७३ हजार रुपैयाँ बराबरको श्रमदानमा शाखा लाइन बिस्तार गरेर आयोजना सञ्चालनमा ल्याएको उपभोक्ता समितिका अध्यक्ष पुर्ण पुनले बताए।
‘सिचाई सुविधा भएपछि यहाँका बासिन्दा कृषि व्यवसायतर्फ आकर्षित भएका छन्,’ उनले भने ‘ठूलोबगरमा व्यवसायिक तरकारी र कटुञ्जेमा सुन्तला खेती सुरु भएको छ।’ ३७ घरधुरीले ब्यवसायिक तरकारी र सुन्तला खेती सुरु गरेका छन्।
सिचाई सुविधाको अभावमा कृषकहरु व्यवसायिक खेति र आयआर्जनको अवसरबाट बञ्चित भएका थिए। बाह्रै महिना सिचाई सुविधा भएपछि बाँझिएको जमिन हराभरा बनेको छ। वडा सदस्य वुद्धी पुनले वर्षौको प्रयासपछि सफल भएको जारखोला सिचाई आयोजना कृषकको जिवनस्तर सुधारमा सहयोगी बन्ने बताए।
‘सिचाई भएपछि यहाँका कृषक निकै उत्साहित भएर व्यवसायिक खेतीमा लागेका छन्,’ उनले भने ‘सुन्तला र तरकारी खेतीमार्फत कृषकको आम्दानी र जिवनस्तर सुधार गर्न जोड दिएका छौं।’ अन्नपूर्ण गाउँपालिकाले गत पुष महिनामा ठूलोबगरलाई सडक सञ्जालमा जोडेको थियो।
दोवाको सुनारी हुँदै ठूलोबगर पुगेको सडकलाई कटुञ्जे जोड्ने गाउँपालिकाले विनियोजन गरेको दश लाख रुपैयाँ र स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको आठ लाख रुपैयाँ बजेटबाट मार्ग निर्माणको काम भइरहेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए।