१० हजारको एन्टिजेन परीक्षण गर्दै मध्यपुर थिमि नगरपालिका
भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले कोरोना भाइरस संक्रमण पत्ता लगाउन नगरवासीको एन्टिजेन परीक्षण सुरु गरेको छ। उसले १० हजार नगरवासीको एन्टिजेन परीक्षण गर्ने जनाएको छ। जसको लागि नपाका ९ वटै वडामा नौ वटा परीक्षण केन्द्र निर्धारण गरिएको छ।
शनिबार एकैदिन नपाका नौ वटै वडामा एन्टिजेन परीक्षण भइरहेको वडा नं. १ का अध्यक्ष सुरज खड्काले जानकारी दिए।
जसअनुसार वडा नं. १ को लागि निर्मला व्यांक्वेट, २ वडाको लागि महेन्द्र आधारभूत विद्यालय, ३ वडाको लागि नयाँ वडा कार्यालय र ४ वडाको लागि बालकुमारी स्वास्थ्य चौकी केन्द्र तोकिएका छन्।
त्यस्तै ५ वडाको लागि भुलाँखेल, ६ वडाको लागि ठिमी स्वास्थ्य चौकी, ७ वडाको लागि नगदेश स्वास्थ्य चौकी, ८ वडाको लागि बोडे सहरी स्वास्थ्य चौकी र ९ वडाको लागि बोडे स्वास्थ्य चौकी परीक्षण केन्द्र निर्धारण गरिएको छ।
वडा अध्यक्ष खड्काका अनुसार नगर क्षेत्रको समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको तथा नफैलिएको एकिन गर्न एकैपटक नौवटै वडामा एन्टिजेन परीक्षण गरिएको हो।
भक्तपुरका ४ वटा नपामध्ये मध्यपुर थिमि नपा कोरोना भाइरस संक्रमणका दृष्टिले हटस्पट मानिन्छ। पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि मध्यपुर थिमि नपामै सबैभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यस्तै कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउने पनि मध्यपुर थिमिकै बढी छन्।
एन्टिजेन परीक्षणमा पोजिटिभ देखाएका नगरवासीको नपाले नै निःशुल्क पीसीआर विधिबाट पुनः कोरोना भाइरस संक्रमण परीक्षण गरिने २ नं. वडाका अध्यक्ष एवं नपाका प्रवक्ता राम थापामगरले जानकारी दिए।
उनका अनुसार एन्टिजेन र पीसीआर परीक्षण दुइटै निःशुल्क हो। कोरोना भाइरस संक्रमण पुष्टि भएर अस्पतालमै उपचार गर्नुपर्ने भए पनि मध्यपुर थिमि नपाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले निःशुल्क उपचार गर्ने उनले बताए। यसको लागि नेपाली कांग्रेसको तर्फबाट निर्वाचित ६ जना वडा अध्यक्षले आआफ्नो वडाबाट ३०–३० लाख रुपैयाँ अस्पताललाई सहयोग गरेका छन्।
त्यस्तै नपाले बोडेस्थित कृषि विकास तालिम केन्द्रमा निःशुल्क आइसोलेसन केन्द्रसमेत सञ्चालन गरिरहेको छ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जेठ मसान्तसम्म मध्यपुर थिमि नपाका ७ हजार २४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन्। जसमा पुरुष ३ हजार ८९७ र महिला ३ हजार ३४७ जना रहेका छन्।
यहाँका ६३ जना पुरुष र २८ पहिला गरी ९१ जना संक्रमितको मृत्यु भएको छ। कार्यालयका अनुसार मध्यपुर थिमि नपाका ३ हजार ७४८ जना पुरुष र ३ हजार २१२ महिला गरी ६ हजार ९६० जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन्।