अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाऔं
गत वर्ष चीनबाट फैलिएको कोरोना भाइरसले अहिले रूप फेरेको छ। कोरोनाको नयाँ प्रजाति (भेटियन्ट) ले सबैभन्दा बढी छिमेकी मुलुक भारतसँगै नेपाललाई पनि सतायो। भारतमा फैलिएको समयमा नयाँ भेरियन्ट पुष्टि हुँदा नेपालमा पनि यसका संक्रमितको संख्या उच्च भइसकेको थियो। परिवर्तित रूपमा आएको कोरोना महामारीले चाँडो असर गर्दा नेपालमानै मृत्यु र संक्रमितको संख्या केही दिनमै उच्च भयो। महामारीको संकट व्यवस्थापन गर्न धौ–धौ परेको सरकारलाई सहजै उपचार व्यवस्थापनको त परको कुरा संक्रमितको समयमा परीक्षण गर्नेसमेत मुस्किल पर्यो। अहिले संक्रमितको संख्या क्रमशः ओरालो लाग्दैछ। उपचार र परीक्षण सहज बन्दैछ, कोरोना जित्नेहरू बढ्दैछन्।
पहिलो चरणको कोरोना भाइरस नेपालमा भित्रँदासम्म नेपालमै यसको परीक्षण सम्भव थिएन। स्वाब संकलन गरेर परीक्षणका लागि हङकङ पठाउनु पर्थ्यो। परीक्षणको रिपोर्ट आउनै दुई साता कुर्दा उपचार र व्यवस्थापनमा मात्रै होइन, फैलनबाट रोक्न पनि मुस्किल पर्यो। सरकारले समयमा सक्रियता देखाउँदा अहिले कोरोना भाइरस (कोभिड १९) को परीक्षण नेपालका प्रायः सबै प्रदेशमा हुन्छ। केही निजीक्षेत्रले व्यावसायिक रूपमा समेत कोरोनाको परीक्षण गर्ने पीसीआर मेसिन राखेर परीक्षणलाई सहज बनाएका छन्। अहिले केही घण्टामै नेपालमा पीसीआर परीक्षणको रिपोर्ट हात पर्छ। यो खुसीको कुरा पनि हो।
कोरोना भाइरसको भेरियन्ट थपिँदो क्रममा छ। नयाँ भेरियन्ट आउँदा यसले पार्ने असर र देखिने लक्षण पनि फरक फरक छन्। समयमा भेरियन्ट र लक्षण पत्ता नलाग्दा उपचार पद्धतिमा पनि यसले असर पार्ने स्वास्थ्यविज्ञ बताउँछन्। नयाँ भेरियन्ट थपिँदै आउँदा यसलाई पत्ता लगाउन वा पुष्टि गर्न पनि नयाँ प्रविधि चाहिन थालेको छ। एउटै प्रविधिले सबै भेरियन्ट पुष्टि नहुने हुँदा थपिँदै गएको संक्रमण नयाँ भेरियन्ट हो या होइन छुट्याउन समस्या हुने गरेको छ। विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन भेरियन्टमध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ।
नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७) को मात्र परीक्षण हुन्छ। अन्य भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। यसअघि कोरोना भाइरस संक्रमितको नमुनाको जीन सिक्वेन्सिङका लागि हङकङ र भारतस्थित प्रयोगशालामा पठाइएको थियो। हङकङमा पठाइएका १५ नमुनामध्ये एक जनामा डबल म्युटेन्ट (अल्फा) भाइरस फेला परेको थियो। त्यस्तै, दोस्रोपटक मुलुकका विभिन्न भागबाट संक्रमितका ३५ नमुना डब्लूएचओको समन्वयमा भारत पठाइएको थियो। नयाँ भेटियन्ट पत्ता लगाउन गरिएको जीन सिक्वेन्सिङमा ९७ प्रतिशत (३४) वटामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र बाँकी ३ प्रतिशतमा कप्पा (बी.६१७.१) पाइएको थियो। यो सबै नेपालका लागि नयाँ हुन्। यो छुट्याउने प्रविधि अहिलेसम्म नेपालमा छैन। नयाँ भेरियन्टमध्ये अल्फाको मात्रै नेपालमा परीक्षण सम्भव छ। नयाँ भेटिएका मध्ये अल्फा, डेल्टा, गामा र कप्पा असर गर्ने भेरियन्ट हुन्। कोभिड–१९ को नेपालमा तीनवटा भेरियन्ट कडा खालको भएको पाइएको छ। डेल्टा, अल्फा र कप्पा (बी.६१७.१) नेपालमा फैलिएका नयाँ र कडा भेरियन्ट हुन्। यीमध्ये डेल्टा सबैभन्दा बढी संक्रामक मानिन्छ। यसको नेपालमा परीक्षण हुँदैन। स्वाब हङकङ र भारत पठाएर मात्रै यसलाई पुष्टि गर्न सकिने विज्ञ बताउँछन्।
कोरोनाको नयाँ रूपसँगै नयाँ प्रविधि जडान गर्नुपर्ने चुनौती देशलाई क्रमशः थपिँदै गएको छ। अल्फा बाहेकका अन्य भेरियन्ट परीक्षणका लागि नेपालमा कुनै संरचना निर्माण नभएकाले अब निर्माण गर्नैपर्ने बाध्यता र आवस्यकता पनि छ। केन्द्रीय स्तरको प्रयोगशालामा जनशक्ति, उपकरण, आधारभूत संरचना र सेवा सुविधालगायत अभाव अझै छ। सयमा यस्ता समस्या समाधान नगर्दा नयाँ भेरियन्टले बढी क्षति पुर्याएको छ। कोरोना महामारी अघिसम्म स्वास्थ्य क्षेत्रको विकास र नयाँ प्रविधि भित्र्याउन ध्यान नदिँदा संकटको अवस्था आएको हो। हरेक क्षेत्रमा नयाँ प्रविधि थप्दै जानुपर्छ भन्ने पाठ अब कोरोना महामारीले सिकाइसकेको छ। महिनैपिच्छे नयाँ भेरियन्ट आउने भएकाले समयमै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रयोगशाला व्यवस्थापनमा ध्यान पुर्याऔं। समयमा काम भए स्वाब बोकेर विदेश दौडने अवस्था आउँदैन।