कृषि उत्पादन बजार पुगोस्

कृषि उत्पादन बजार पुगोस्

नेपालमा करिब ७० प्रतिशत जनसंख्या कृषि पेशामा निर्भर छ। यसमध्ये ७५ प्रतिशतले जीवन निर्वाहकै लागि कृषि पेशालाई अँगालेको विभिन्न समयमा गरिएका सर्वेक्षणले देखाएको छ। त्यसभित्र पेशालाई व्यावसायिक बनाउनेको संंख्या २५ प्रतिशत मात्रै छ। नेपाल कृषिप्रधान मुलुक भनेर चर्चा गरिरहँदा यो तथ्यांकले कृषिको व्यावसायिकतामा कमजोर भएको देखाउँछ। कृषिमा निर्भर भए पनि जीवन निर्वाहको मुख्य पेशा बनाउन नयाँ पुस्ताको ध्यान अझै मोडिएको छैन। केही युवा व्यावसायिक बन्न खोजे पनि बिस्तारै यो पेशाबाट पलायन भएको उदाहरण धेरै भेटिन्छ। कृषि उत्पादन राम्रै भए पनि बजार अभाव र ढुवानी समस्या पेशा परिवर्तनको मुख्य कारण बन्ने गरेको छ।

बजारमा कृषकले उत्पादन गरेका सबै वस्तु पाइन्छ। नेपाली उत्पादनले मात्रै नपुगेर छिमेकी मुलुक भारत, चीनसहित तेस्रो देशबाट पनि कृषिजन्य वस्तु ल्याएर बिक्री भइरहेका छन्। तर, नेपालकै कृषकले उत्पादन गरेका वस्तुले बजार नपाएको समाचार पनि धेरै आउँछन्। झट्ट सुन्दा यो विषय अनौठो पनि छ। मूल्य नपाउँदा गाउँका कृषकले दूध सडकमा पोखेको, गोलभेडा बाटोमा फालेको र उत्पादन खेतबारीमै कुहिएको÷सुकेको हामीसँग प्रशस्त उदाहरण छन्। तर, तिनै कृषकले मूल्य नपाएर फालेका वस्तुको मूल्य सहर बजारमा छोइसक्नु छैन। कृषकको उत्पादन बढ्दा बजारमा भाउ घट्नुपर्ने हो तर त्यो हुँदैन। नेपाली कृषकले मूल्य नपाएर फालेका र पोखेका कृषि उत्पादन बाहिरी देशबाट ल्याएको उपभोक्ताले खरिद गरिरहेका छन्। यसको मुख्य कारण भनेकै ढुवानी समस्या र बजारमा मध्यस्तकर्ता (विचौलिया) को मनोमानी हो।

ढुवानी र बजार समस्या भोगिरहेका नेपाली कृषकलाई अघिल्लो वर्षबाट कोरोना महामारीसँगै सुरु भएको लकडाउन र निषेधाज्ञाले पनि असर पुर्‍यायो। राम्रो मूल्य पाउने आशामा रोपेका नगदेबालीले अहिले बजार पाएको छैन। बजार लगेर बेच्नु पनि कृषकका लागि चुनौती छ भने यातायातका साधन नचल्दा आफैं बजार डुलाउने अवस्था त झनै व्यावसायिक कृषकलाई छँदै छैन। चितवन गुञ्जनगरका कृषक प्रतिनिधि पात्र हुन्। मनग्य आम्दानी हुने सपना बोकेर फूल खेती गर्ने ती कृषकको डेढ बिघा जमिनमा लगाएको फूल बजार नपाएर ओइल्याउन थालेको छ। गत वर्ष पनि लकडाउनले बिक्री गर्न नपाएका उनको समस्या यो वर्ष पनि दोहोरियो। लाखौंको क्षति उनले बेहोरेका छन्। सैयौं कृषक अहिले बजार अभावमा चिन्तित छन्।

कोरोना महामारीले हरेक कुरामा आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ नेपालीलाई सिकाएको छ। कोरोनाको असरका कारण कृषि बाहेकका धेरै क्षेत्र संकटमा पनि परेका छन्। ती क्षेत्रबाट लाखौंले रोजगार गुमाउँदै बेरोजगार हुँदा कृषि पेशा दिगो पेशा हो र यसमा लाग्नुपर्छ भनेर जुर्मुराउनेको संख्या पनि कम छैन। अन्य पेशा र वैदेशिक रोजगार त्यागेर कृषिमा लाग्ने युवाको संख्या पनि थपिने क्रममा छ। संघीय र प्रदेश सरकारले पनि कृषि क्षेत्रको विकासका लागि बजेटमा विभिन्न योजना समेटेका छन्। स्थानीय तहले पनि कृषिलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिरहेका छन्। यो कृषि पेशामा लाग्न चाहनेका लागि खुसीको कुरा हो। हिमाल, पहाड र तराई सबै क्षेत्रमा कृषि पेशालाई व्यावसायिक बनाउन सकिन्छ। सडक सञ्जालले हरेक जिल्ला जोडिएकाले एक ठाउँको उत्पादन अर्को ठाउँमा लगेर बिक्री गर्न पनि समस्या हुँदैन। बजार क्षेत्र बिस्तार हुँदा कृषिजन्य वस्तुको माग पनि घटेको छैन।

तर, कृषक र उपभोक्ता जोड्ने माध्यममा समस्या छ। बजार र ढुवानीमा कृषक आफैंले पहुँच राख्न सक्दैनन्। जसको कारण उत्पादन भएको क्षेत्रमा सस्तो मूल्यमा पाउने वस्तु उपभोक्ताकोमा पुग्दा अत्यधिक महंगो मूल्यमा पुग्छ। बजार र ढुवानी ओगट्ने ‘बिचौलिया’ले बजारमा माग भए पनि कृषकसँग मूल्यमा कुरा नमिल्दा उत्पादन उठाउँदैनन्। यो समय कृषक नाफा नराखी बेच्न बाध्य हुन्छन् भने उपभोक्ता महंगोमा किन्न, यो नै मुख्य समस्या हो। अब कृषकको उत्पादन बजारसम्म पुर्‍याउने पुलको भूमिका तिनै तहले निभाउनु पर्छ। उत्पादनलाई बजार पुर्‍याउन फरक संयन्त्र खडा गर्नुपर्छ जसले हाल मनोमानी गर्ने मध्यस्तकर्ताको सञ्जाल तोड्न सकोस्। अनि मात्रै कृषि पेशा दिगो र व्यावसायिक बन्न सक्छ। नत्र ल्याएका योजना र कृषिमा खन्याएको बजेट ‘बालुवामा पानी’सरह बन्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.