अमेरिकामा सवारी दुर्घटना: ९ बालबालिका सहित १० जनाको मृत्यु
वासिङटन: अमेरिकाको अलाबामा राज्यमा शनिबार सवारी दुर्घटना हुँदा ९ बालबालिका सहित १० जनाको मृत्यु भएको छ ।
दुईवटा भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ८ जना बालबालिका ४ देखि १७ वर्षका छन् भने एक जना ९ महिनाकी बालिका छिन् । साथै मृत्यु हुनेमा एकजना २९ वर्षीय पुरुष पनि छन् ।
स्थानीय अधिकारीहरुका अनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटना दुर्घटना भएको हो । जहाँ भ्यानभित्र उनीहरु यात्रा गरिरहेका थिए ।
प्रहरीका अनुसार २९ वर्षीय पुरुष र उनकी ९ महिने छोरी एउटा भ्यानमा यात्रा गरिरहेका थिए भने अरु बालबालिका अर्को भ्यानभित्र थिए । दुर्घटनाबारे सरकारले छानविन गर्ने जनाएको छ ।