म्यान्मारमा बालबालिका निसाना
म्यान्मार : म्यान्मारको सैनिक शासकले हत्याको निसाना बालबालिकालाई बनाएको छ। गत फेब्रुअरीको सैन्य ‘कू’यता ७३ निर्दाेष बालबालिकाले सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका छन्। देशभर सैन्य सत्ताको बन्दुकले ती बालबालिकाहरूको हत्या भएको राष्ट्रिय एकता सरकार (एनयूजी)ले पुष्टि गरेको छ।
सैनिक सत्ताद्वारा मारिएका बालबालिका कुनै प्रदर्शनमा सहभागी थिएनन्। उनीहरू घर–आँगनमा खेल्दाखेल्दै ताकेरै गोली हानिएको थियो। जुन्ता शासकले हत्या गरेका बालबालिकामध्ये ६३ बालक र ९ बालिका छन्। एक जनाको पहिचान खुल्न सकेको छैन।
पछिल्लो सैन्य कब्जायता देशभर ८ सय ७० स्वतन्त्र नागरिकको हत्या भएको छ। प्रजातन्त्रका समर्थकमाथि सैन्य शासकको बन्दुक निधारमा ताकिने क्रम रोकिएको छैन। यो म्यान्मारमा वर्षांैदेखि भोग्दै आएको कहाली लाग्दो ‘कालोकथा’ हो। तर, सैनिकको गोलीले अबोध बालबालिका समेत यसपालि सुरक्षित बनेका छैनन्।
प्रजातन्त्र पुनःस्थापना लागि अग्रसर आन्दोलन दबाउन जुन्ता ‘शासक’ सके अभिभावक, नसके निर्दोष सन्तानमाथि गोली चलाइरहेको छ। जताततै त्रासमा बाँचिरहेका छन् बालबालिका। सैनिकको आतंकले निराश छन् बुबा–आमा। एनयूजीले ७३ बालबालिका मारिएको प्रतिवेदन सार्वजनिक गरे तापनि मिन्टाप, कनी र दिमसोलगायत स्थानमा सैनिकले हत्या गरेकाहरूको संख्या यकिन छैन। अझ थप हुने आँकलन छ। जातीय मुठभेड भएका ठाउँमा सैन्य हवाई हमलाबाट थुप्रै बालबालिकाले ज्यान गुमाएका छन्। तर, चासो कुनै निकायको देखिँदैन।
सन् १९८८ को जनआन्दोलनमा समेत दर्जनौं बालबालिकाले ज्यान गुमाउनुपर्यो। तत्कालीन अवस्थामा अभिभावकमा सैनिक त्रासले सीमा नाघिसकेको त्यो आन्दोलनका अग्रजहरू बताउँछन्। अघिल्लो सैन्य शासनमा दुईजना युवाहरूको मृत्यु र केहीको पक्राउपछि कमै नागरिक प्रदर्शनमा जान्थें। तर, यसपल्ट अवस्था त्यसो रहेन। दिनहुँ हुने आन्दोलनले अभिभावक र उनका सन्तान सैनिकको तगारो बनिरहेका छन्।
आफू र आफ्ना बालबालिका जतिनै मृत्युको घेरामा भए पनि त्रास साम्राज्य खडा हुन नदिने, जुसुकै परिस्थितिमा पछि नहट्ने म्यान्मालीको अठोट छ। सैनिकले सत्ता कायम गर्न निर्दोष बालबालिकामाथि बन्दुक पड्काइरहेको छ। छिमेकीहरू मर्माहित छन्। स्वतन्त्र नागरिकहरू युद्व मैदानमा ढलिरहेका छन्। दुःखद् दृश्य– सात वर्षीय खिन म्यो छिट जब बुवाको काखमा खेलिरहेका थिए त्यसैबेला सैनिकले गोली ठोकी हत्या गर्यो।
सत्ताको उन्मादमा म्यान्माली सेना गाउँ–टोलमा छापा मार्दै खिन म्योछिट्को घरसम्मै पुगेको थियो। सैन्य खानतलासीका क्रममा अतालिएकी म्यो दौडिँदै बुबाको काखमा घुस्रिएका थिए। तर, सेनाले बाबुलाई गोली ताक्दै ‘फायर’ गरेपछि काखमा रहेको खिन म्योको पेटमा लाग्यो। उनी बुवाको काखमा रुँदै छटपटाइरहे। तर, उनलाई उद्धार गर्न कोही अघि बढेनन्। अन्ततः रगतले लतपत्तिएका खिन म्योको बुवाकै काखमा निधन भयो।
भन्छन्– तानाशाहको आँखा हँुदैन। मन पनि हुँदैन। न त भावना हुन्छ, न त संवेदना नै। खिन जस्तै १८ वर्षमुनिका ७३ निर्दोष बालबालिकाले ज्यान गुमाए भने लाखौं बालक डरमा बाँचिरहेका छन्।
अघिल्लो साता कचिन राज्यको ग्रामीण भेगमा आफ्नो घरमा खेलिरहेकी ९ वर्षे बालिकाको सेनाकै गोलीले मृत्यु भयो। सुरक्षाकर्मीले टोलमा अन्धाधुन्ध आक्रमण थालेपछि भागाभाग मच्चियो। सबै भागे। ती ९ वर्षीय बालिका भाग्दै गर्दा लडिन् र ज्यान गुमाइन्। उत्तरी छिन राज्यको टेदिममा सैनिकले बम बिस्फोट गराउँदा १० वर्षीय बालकको मृत्यु भयो। १० वर्षे अर्का एक घाइते छन्।
बालबालिका सैनिक निसानामा परेपछि मानव अधिकारवादी र राजनीतिज्ञले आपत्ति जनाएका छन्। मानव अधिकारकर्मी आङ मायो मिनले भने, ‘सबैलाई थाहा छ, हाम्रा सन्तानहरू सुरक्षित छैनन्। जतिसुकै बेला पनि मारिन सक्छन्। दैनिकजसो हिंसा भइरहेको छ। उनीहरूको बाँच्न पाउने अधिकार तानाशाही शासकले खोसिरहेको छ।’
सैन्य सरकारले बालबालिकाहरूलाई जानजानी हत्या गरेका घटनाले मानव अधिकार उल्लंघन मात्रै नभई गम्भीर अपराध गरेको समानता म्यान्मारका संस्थापक प्रमुख तथा वकिलले बताएका छन्।