परासर गीता र जीवन रहस्य
कोरोना बन्दाबन्दीले हाम्रो वातावरण रोग, भोक र शोकले ग्रस्त छ। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल जताततै आउने सही र गलत सूचनाले धेरैलाई समस्या थपेको पनि छ। यस्तो विषम परिवेशलाई छिचोलेर अगाडि बढ्न सर्वसाधारणमा हौसला र प्रेरणाको खाँचो छ। हाम्रो वेदभूमिका ऋषि परासर र हाम्रै धर्मभूमिमा राजगर्ने राजा जनकबीचको सम्वाद नै परासर गीता हो।गीतामा भनिएको छ, डरपोक क्षत्रीय, जे पायो त्यही खाने ब्राह्मण, बेरोजगार वैश्य र अल्छी शुद्र भएको देश कहिल्यै उँभो लाग्दैन।
शील नभएको विद्धान्,सदाचार नभएकी स्त्री,विषयाशक्त योगी,नियम, कानुन नभएको राज्य,व्यक्तिगत पोषणका लागि खाना बनाउने व्यक्ति, तत्कालै परिणाम खोज्ने स्वार्थी व्यक्तिको समूह, मूर्खवक्ता, अराजक नेतृत्व, इन्द्रिय नजितेका नागरिक, जनता रक्षा गर्न नसक्ने, महँगी, कालोबजारी, घूसखोरी नियन्त्रण गर्न नसक्ने र सीमा सुरक्षा गर्न नसक्ने सरकार यी सबै शोकका संकेतहुन् भनिएको छ। जहाँ जनता शोकले डुब्छन्, शवको ताँती लाग्न थाल्छ, औषधोपचार हुन्न, स्त्रीको अस्मिता लुटिन्छ, व्यभिचारीको संख्या बढ्छ, त्यस्तो वातावरणमा रहनु भनेको मृत्युलाई अगाडि बोलाउनु हो। जंगली जनावरका बीच, सर्पको आसनमा बसेसरह हो।
आयु दुर्लभ छ, आत्मालाई कसैले क्षीण गर्न दिनु हुन्न। पुण्य र सुकर्मले दिन रात दुवै उज्यालो हुन्छ। अन्जानको पापलाई तप र दानले कटाउन सकिन्छ। दाग नभएको कपडा धुँदा मात्र सफा देखिन्छ, कालो दाग लागेको कपडा साबुन, पानीले सफागर्न सक्दैन,मानिसमा पनि त्यही लागू हुन्छ। अन्जानको हिंसालाई अहिंसाको व्रतले कटाउन सकिन्छ, जानेर गरेको हिंसाले व्यक्ति र देशलाई पोलिरहन्छ। नेतृत्वले जहिले पनि न्यायपूर्वक देश सञ्चालन गर्नुपर्छ, हरतरहले नागरिकलाई सुरक्षित राख्नुपर्छ,राज्य नागरिकको अभिभावक हो।करको रूपमा चुसेर उसलाई निमोठ्नु हुन्न।
सत्य बोल्ने व्यक्तिले दिएको दान र तपको पूजा गर्नुपर्छ। चरित्र ठीक हुनेले प्रतिग्रहको दोष बोक्नु पर्दैन। विद्या भन्नु तप भन्नु एकै हो जसले जीवनलाई जीवन्त बनाउँछ।न्यायले धन आर्जन गर्ने भनौं नीतिले कमाउने, रीतिले बाँच्ने र प्रीतिले सबैलाई बाँच्न दिने जुन धर्म हो। मन्दिरमा पाठ, पूजा मात्रै धर्म होइन, भोकालाई खाना दिनु पनि ठूलो धर्म हो। मन्दिरमा सुन चढाउने तर मन्दिर बाहिरकालाई लात हान्ने गर्नु धर्म हुन्न।क्रुर कर्मले कमाइएको धनले सुख दिँदैन, शान्ति हुन्न, आनन्द त परैको कुरा हुन्छ।प्रत्येक व्यक्तिले जन्मैदेखि आर्जित ऋषि, देव र पितृ ऋण चुक्ता नै गर्नुपर्छ, त्यो चुक्ता स्वध्यायबाट हुन्छ। संसारका सबै प्राणी मानिसका लागि मित्रवत् छन्,बाँच्न पाउने अधिकार सबैको हुन्छ।
चरित्र ठीक हुनेले प्रतिग्रहको दोष बोक्नु पर्दैन। विद्या भन्नु तप भन्नु एकै हो जसले जीवनलाई जीवन्त बनाउँछ।मन्दिरमा पाठ, पूजा मात्रै धर्म होइन, भोकालाई खाना दिनु पनि ठूलो धर्म हो।
अतिथि सेवा,मातृ पितृ सेवा, देव, गुरुहरूको सेवा, साधुसन्तको सेवा मानिसको परम कर्तव्य नै हो।छोराछोरीको शिक्षा, दीक्षा, विवाह आदि कर्मले उनीहरूको ऋण चुक्ता हुन्छ भने मातापिताको ऋण उनीहरूको यथोचित लालनपालन, मृत्यु संस्कारका कामबाट चुक्ता हुन्छ। आदर्श परिवारले छोराछोरीलाई उचित शिक्षा दिई सकेसम्म उनीहरूलाई ऋणभारमा राख्नु हुँदैन।धनका लागि कहिल्यै परापूर्वदेखिको धर्म छोड्नु हुन्न, कष्ट सहेर पनि अरूको निन्दा नगर्ने, धर्माचरण गर्ने व्यक्ति देवतुल्य हुन्छ।जहिले पनि असल गुणको पछि लाग्ने गर्नुपर्छ, अरूको दोषको पछि लाग्नु हुन्न। जस्ताको संगत गर्यो, व्यक्तिमा त्यही गुण सर्छ।आलु रोपेर आँप, आँपको बीउ रोपेर आलु फल्दैन। जीवनमा सुख र दुःख दुवै आउँछ, सुखमा मात्तिने र दुःखमा आत्तिने गर्नु हुन्न।
सिक्काका दुई पाटा हुन्छन्, नदीका दुई किनारा हुन्छन्। वाल्यजीवन सत्य युग हो,यौवन जीवन क्रेता हो, वयस्क जीवन द्धापर हो। बुढ्यौली जीवन कलि युग हो। वृद्धावस्थामा घर परदेश भएझैं कलिमा धर्ममा विभिन्न चुनौती आइपर्छन्। धर्म गर्नेभन्दा नगर्नेको बाहुल्यता धेरै हुन्छ।कलिमा धर्मको अवस्था एक खुट्टा मात्रै चलेजस्तो हुन्छ। सत्य युगमा चार पाउ, त्रेतामा तीन पाउ र द्धापरमा धर्मको दुई पाउ हुन्छ। अर्थात् धर्मको स्वरुप नै भनौं बाटो घट्दै आएको हुन्छ। वचपनमा मातापिता, युवावस्थामा असल जोडी, वृद्धावस्थामा गुरु र गोविन्द साथमै हुनुपर्छ। एक हातले ताली बज्दैन, दिनको महत्व रातले दिन्छ तर रात भनेको कलि नै हो जसलाई अँध्यारो भनौं अज्ञान भनिन्छ।
अँध्यारोबाट उज्यालोतिर जान ज्ञानको भोको हुनुपर्छ, कोठामा आराम गरेर ज्ञान पाइँदैन। वर्षाको भेल रोक्न प्रयास गर्नुपर्छ। आकाशको पानी भर्न पनि भाँडोलाई बिर्को नलगाई उत्तानो पारेर राख्नुपर्छ। विद्धान्को सेवाले धर्म बढ्छ,धर्मले धन बढाउँछ। परिश्रम नगर्नेको हातमा लक्ष्मी खुसी हुन्नन्। दान गर्दा आडम्बर गर्नु हुन्न। दाहिने हातले दिएको दान देब्रे हातले थाहा नपाउँदा पनि हुन्छ, दुष्कर्म नगर्ने, गरिहाले प्रायश्चित्त गर्नुपर्छ। धन हुनेले आडम्बर गरेर दान गरे त्यसलाई लुटेरा भन्नुपर्छ,ढोंगी भन्नुपर्छ।फलको आशा नगरी कर्म गर्नुपर्छ। कसैले याचना नगरी स्वेच्छाले गरेको दान र अन्य सुकर्मले परिणाम राम्रो दिन्छ। याचनापछिको दान मध्यम हो। अपहेलना गरी दिएको दान अधर्म हो। इन्द्रिय संयमले सबै जाति शुद्ध हुन्छन्।
जीविकाका लागि ब्राह्मणले क्षत्रीय र वैश्यको काम गर्न सक्छन् तर कुलाचारको धर्म छोड्नु हुन्न। धर्म छोडी विधर्मी भए त्यसको दोष आपूmले मात्रै होइन, पूर्खा र आउने पुस्ताले पनि त्यसको फल भोग्नुपर्छ। धर्म छोड्दा घमण्ड बढ्छ,यसबाट क्रोध, क्रोधबाट सदाचार क्षीण हुन्छ। लोभ बढ्छ,त्यसपछि मोह बढ्छ। सबैथरि बढेपछि पाप बढ्छ, पाप भन्नु प्रदूषण हो धनको, तनको र मनको। यसले नराम्रो काम गर्न प्रेरित गर्छ, यो साइकल चक्र घुम्दाघुम्दै अनेकानेक जीवनसम्म पार पाउनै सकिन्न। नर जन्म बहुतै मुस्किलले पाइन्छ, चौरासी लाख जीवन व्यतीत गरेर फेरि मानवमा फर्कन लाखौं वर्ष लाग्छ।
यसै मानव जीवन पाएको बेला आफूले आफैंलाई उद्धार गरेन भने कहिले गर्ने ? अरू कसैले उद्धारगरिदिने होइन। पुत्र, पुत्री, पद, प्रतिष्ठा, पैसा, परिवार शरीर रहुञ्जेलका पाहुना हुन्। शरीर छोडेपछि तिनको केही अर्थ रहन्न।बिहान खाएको वस्तु त साँझ दूषित भइसक्छ, बाहिर फाल्नुपर्छ। त्यही खानाले पोषित शरीर कसरी नित्य हुन सक्छ र? आज कोरोनाले बालक÷जवान केही भनेन, टप्प टप्प टिपेर लग्यो।