... नत्र समयले पर्खंदैन !
नेपालको राजनीति दिनानुदिन एउटा गहिरो दलदलमा फसेको प्रत्यक्ष प्रमाण देखिँदैछ
नेपालको राजनीति दिनानुदिन एउटा गहिरो दलदलमा फसेको प्रत्यक्ष प्रमाण देखिँदैछ। जनताका समस्या, ज्यानमालको सुरक्षा र गाँस बास कपासको आवश्यकतासँग कुनै सरोकार नै नभएको जस्तो एउटा ‘शासक वर्ग’ देखिन्छ। जुन कान्तिपुरीमा लीलामाथि चर्तिकलामा व्यस्त छ। त्यो शासक वर्ग सरकारमा होस् वा प्रतिपक्षमा, कार्यपालिकामा होस् वा व्यवस्थापिका अथवा न्यायालयमा– उसको स्वरूप र प्रवृत्ति उस्तै देखिन्छ। ऊ आफ्नो स्वार्थको रक्षाभन्दा माथि केही सोच्दैन, देश उसका लागि दोहन गर्ने कामधेनु गाई जस्तो मात्र हो र जनताको संवेदना मात्र क्यास गर्न मिल्ने एउटा ब्ल्यान्क चेक।
सशस्त्र द्वन्द्व, त्यसपछिको संक्रमणकाल र त्यसपछिको दुईतिहाईको पतन कालले अहिलेका स्थापित राजनीतिक दल, राज्यका अन्य जिम्मेवार संघसंस्था र नेतृत्वको विश्वसनीयता माटोमा मिलाइसकेको छ। यस्तो अवस्थामा एकतर्फबाट के नेपालका मुख्य दलहरूको पुनर्गठन गरेर नयाँ बाटो निकाल्न सकिन्छ त भन्ने प्रयास हुँदैछ। माओवादी द्वन्द्वका प्रमुख विचारकमध्ये एक बाबुराम भट्टराईले केही दिनअघि यस्तो ट्विट लेखे ः ‘भनिन्छ, टाउकाको ओखती नाइटामा लगाएर हुन्न। अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति÷दल÷नेतृत्वको स्खलन नै हो। कांग्रेस ‘कांग्रेस नरहनु’, कम्युनिस्ट ‘कम्युनिस्ट नरहनु’, समाजवादी ‘समाजवादी नरहनु’। कि यिनलाई आमूल परिवर्तन गर्ने वा नयाँ पार्टी बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खंदैन है !’
‘दलहरू... लाई आमूल परिवर्तन गरौं अथवा नयाँ पार्टी बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खंदैन है’ भनेर लेखेका भट्टराईले आफैंले केही वर्षअघि आँटेर नयाँ शक्तिको नाममा नयाँ पार्टी सुरु गरेका थिए, निर्वाचनमा आमजनताको त्यसप्रति कुनै आकर्षण नरहेको स्पष्ट देखिएपछि उनको उक्त पार्टीलाई नै एउटा क्षेत्रीयता र जातीयतावादी शक्तिसँग विलय गराएर त्यो नयाँ उद्यमको अन्त्य गरेका थिए। तर प्रश्न यो उठ्छ कि आफू सेवा निवृत्त हुने उमेरका भइसकेका पूर्वप्रधानमन्त्री र एकपटकको आफ्नो नयाँ पार्टी बनाउने उद्यम असफल भइसकेपछि पनि किन अझै, नयाँ पार्टी बनाउने आह्वान गर्ने र त्यो नगरे समयले नपर्खने घोषणा उनी गर्छन् ? त्यो आँट उनलाई कहाँबाट आउँछ ?
हुन त भट्टराई सामाजिक सञ्जालमा सक्रिय नेता हुन् र त्यसकारण उनका टिप्पणीहरूप्रति नकारात्मक प्रतिक्रिया पनि धेरै नै आउने गर्छन्। तर, उनको त्यो ट्विट अहिलेका लगभग धेरै शीर्ष नेताहरूको मनस्थितिको झलक पनि हो। देशलाई यो गर्तमा पुर्याएको अवस्थामा पनि अझै सत्तरी वर्ष वरिपरि पुगेका यी तमाम नेताहरूलाई न आत्मग्लानि छ, न आफूहरू असफल भएको बोध छ। बरु हामी बाहेक यो देश कसैले चलाउन सक्दैन भन्ने भ्रम मात्र छ। अझै पनि समयले हामीलाई नै मौका दिनु पर्छ भन्ने आशा छ। तर के अहिलेको अवस्थामा अहिलेका दलहरूलाई आमूल परिवर्तन गर्न सम्भव छ त ? नेकपा एमालेको अहिलेको अवस्था हेर्दा त्यो दलबारे अहिले कुनै पनि आँकलन नै गर्न सकिने अवस्था छैन। माओवादी केन्द्रसँगको हुन नसकेको एकीकरणले गर्दा शीर्ष नेताहरूमा आएको जुँगाको लडाईले पार्टी मात्र धरापमा पारेन। दुईतिहाईको बहुमत दिएर जनताले प्रकट गरेको स्थिरताको चाहनाप्रति घोर घात पनि भएको छ।
नयाँ संविधानअन्तर्गत स्पष्ट बहुमतका साथ सत्तामा आएको सरकारको यो जुन हवीगत भयो– व्यवस्थामाथि नै प्रश्न उठ्ने प्रशस्त ठाउँ यसले सिर्जना गर्यो। जनताले धैर्यपूर्वक द्वन्द्वकाल र संक्रमणकाल झेलेर त्यो अन्योलको अवस्थाबाट मुक्ति खोजेको समयमा यति गैरजिम्मेवार व्यवहार नेतृत्वबाट भए कि यसले सबै आशा पानीमा मिलाइदियो। तर सबैभन्दा खट्केर देखियो– यो दलमा दोस्रो पुस्ताका नेताहरूको लाचारी र अविवेकीपन। म्याद सकिएका शीर्षहरूकै पिछ्लग्गु भएर जुन प्रकारको अक्षम्य निरीहता दोस्रो पुस्ताका नेताहरूले देखाए, त्यसले यो दलप्रति कुनै आकांक्षा राख्न नसकिने अवस्थामा पुर्याएको छ। अर्कोतिर नेपाली कांग्रेसको अवस्था छ– जहाँ स्पष्ट छ कि पच्चीस वर्षअघि प्रधानमन्त्री बनेका देउवा अझै पनि पार्टीमा सर्वेसर्वा छन्। उनलाई चुनौति दिएर सफल हुने नेता देखिएन। नेपाली कांग्रेस हालको अवस्थामा गुटहरूको महासंघजस्तो बनेको छ। जस्तोसुकै काबिल नेता पनि आआफ्ना गुटको दममा मात्र टिक्न सक्ने र गुट बाहिर उभिनै नसक्ने अवस्था छ।
टाउकाको ओखती नाइटामा लगाएर हुन्न। अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति÷दल÷नेतृत्वको स्खलन नै हो। कांग्रेस ‘कांग्रेस नरहनु’, कम्युनिस्ट ‘कम्युनिस्ट नरहनु’, समाजवादी ‘समाजवादी नरहनु’। कि यिनलाई आमूल परिवर्तन गर्ने वा नयाँ पार्टी बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खंदैन है !
यस्तो अवस्थामा आमूल परिवर्तनका लागि चाहिने तरंग र तरलता यो दलमा पनि सम्भव छैन। यी कारणहरूले गर्दा अहिलेको अवस्थामा नयाँ दलको दरिलो उपस्थिति अपरिहार्य भएको छ। तर के पुरानै नेताहरूले बनाएको नयाँ दलले अहिलेको समस्याको निकास दिन सक्छ त ? वास्तवमा, भट्टराई जस्तै अन्य नेताले नयाँ पार्टी बनाउने आँट गर्दैमा त्यो पार्टी नयाँ बन्दोरहेनछ भन्ने उनैले सिद्ध गरेका छन्। अहिलेसम्मको नेपाली राजनीतिक दलहरूको संस्कार र अभ्यासले कस्ता खालका दलहरू जन्माउने रहेछन् भन्ने उदाहरणहरू छर्लङ छ। भट्टराईले बनाउन खोजेको नयाँ शक्ति पनि उनको आफू र परिवारकेन्द्रित एउटा सामान्ती प्रवृत्तिको शासक समूहजस्तो भनेको थियो भन्ने संकेत उनका साथ छोडेका धेरै नेताको उदाहरणबाट बुझ्न सकिन्छ।
त्यसो भए अहिलेको अवस्थामा समाधान के त ? पारम्परिक पार्टीहरू आफैंमा समस्या हुन् र नाम फेर्दैमा यिनको चरित्र फेरिँंदैन। जब नेतृत्व आफैं समस्याको जड भइदिन्छ, फेरि उनैबाट समाधान आउन सक्दैन। नेपाली राजनीतिको यो स्तरको पतन निरन्तर चलिरहेको समयमा त्यसको ओखती पनि सँगसँगै समाजले निकालिरहेको छ। केही समयअगाडि स्वर्गीय उज्वल थापाको शालीन नेतृत्व शैलीमा स्थापित भएको र नागरिक आन्दोलनको रूपमा सुरु भएको विवेकशील नेपाली दल हाल आएर रवीन्द्र मिश्रको नेतृत्वमा स्थापित साझा पार्टीसँग एकीकरणपछि विवेकशील साझा दल बनेको छ। युवाको नेतृत्वमा फरक शैली र अभ्यासलाई राजनीतिको आधार बनाउँदै हुर्कँदै गएको विवेकशील राजनीतिमा साझा पार्टी मिसिन गएर बनेको यो दल नै आजको समयका लागि ओखती बनेर आउने सम्भावना प्रबल भएको पार्टी हो।
उक्त दलका तीन सांसदको बागमती प्रदेशमा उपस्थिति र प्रस्तुतिको रेकर्ड होस् अथवा उक्त दलद्वारा विभिन्न मुद्दामा सभ्य शैलीमा गरिने गरेको प्रस्तुति, नेपालमा सुसंस्कृत राजनीतिको जग बसेको सिद्ध भएको छ। यही दलबाटै अब वैकल्पिक राजनीतिलाई नयाँ दिशा दिएर अहिलेको गर्तबाट देशलाई उन्मुक्ति दिलाउन सकिने आशा गर्न सकिन्छ। यो अपेक्षा गर्नुका पछाडि अन्यभन्दा फरक शैली मात्र एउटा कारण होइन। दक्ष र शिक्षित युवालाई जसरी छिटो नेतृत्वमा पुर्याउन सक्ने खुबी यो दलले देखाएको छ, परिवर्तन सम्भव छ भन्ने त्यसले सिद्ध गरेको छ।
तर विवेकशील साझा पार्टी जनताको विश्वास जित्न सक्ने सशक्त राजनीतिक दल बन्न सक्ला त ? यो दललाई मुख्य आक्षेप यो आउने गरेको छ कि यो सहरकेन्द्रित मुद्दा मात्र उठाउने सहरी युवाको पार्टी बनेको छ। निकै हदसम्म यो आरोप सत्य हो तर जुनसुकै राजनीतिक परिवर्तन समाजका तत्कालीन एलिट वर्गको नेतृत्वबाट नै सम्भव हुन्छ। त्यसकारण अबको समय यस दलले तीव्र गतिमा आफ्नो पहुँच आमजनतासमक्ष पुर्याउन सके एउटा नयाँ विकल्पको आभास र आशा जगाउन असम्भव छैन।
अर्को महत्वपूर्ण कुरा छ मुद्दामा अस्पष्टताबारे। मिश्रका पुराना लेखहरू र बिचबिचमा आउने भ्रामक अभिव्यक्तिहरूले धर्म र राजतन्त्रबारे स्पष्ट अडान लिन हिच्किचाएको जस्तो बेलाबेलामा देखिने गरेको छ। कहीँकतै युवालाई यो पनि दक्षिणपन्थी शक्ति बनेर निस्कने त होइन भन्ने आशंका पनि छ। मलाई लाग्छ, सक्षम युवालाई नेतृत्वमा पुर्याउने उदाहरणसहित स्पष्ट सन्देश दिएर अगाडि बढ्न सक्ने हो भने यो दलले दक्षिणपन्थी सस्तो लोकप्रियताको सहारा लिनु पर्दैन। युवाको नेतृत्व, सक्षम नेतृत्व र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको मुद्दा आफैंमा नयाँ दल स्थापित गर्ने तागत भएका मुद्दा हुन्। विवेकशील साझा पार्टी दरिलो रूपमा यी मुद्दासहित मैदानमा उपस्थित हुन सक्ने हो भने बाबुराम भट्टराईका पुस्ताका नेताहरूले राजनीतिबारे धेरै चिन्ता गर्न छोडेर सेवानिवृत्त अवस्थामा स्वस्थ मार्गदर्शन गर्ने सुखद् अवस्था आउँछ।