स्वास्थ्य, कृषि र पर्यटन सन्धिखर्कको प्राथमिकतामा

स्वास्थ्य, कृषि र पर्यटन सन्धिखर्कको प्राथमिकतामा

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा 'स्वस्थ सन्धिखर्क, सम्बृद्ध सन्धिखर्क बनाउने दिशातर्फ बढी केन्द्रित गरेको छ । 

कोभिड–१९ को महामारीबाट सम्पूर्ण विश्व जगत नै आक्रान्त भैरहेको परिवेशमा सन्धिखर्क नगरपालिकाले  नीति तथा कार्यक्रम महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमार्फत स्थानीय अर्थतन्त्र र सामाजिक जनजीवनमा यसले पार्ने प्रभाव न्यूनीकरण गर्ने तर्फ केन्द्रीत गरेको छ । 

संघीय सरकारसँगको समन्वयमा सन्धिखर्क नगरपालिकाका सम्पूर्ण नगरबासीलाई कोभिड –१९ बिरुद्धको खोप लगाउने कार्यको लागि आवश्यक बजेटको व्यवस्था गर्ने गरी नगर प्रमुख कमल प्रसाद भुसालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

नगर प्रमुख भुसालले पेश गरेको नीति तथा कार्यक्रम सर्वसहमतिले पास गरेको छ ।  नगरबासीको सुविधाको लागि आवश्यकता र जोखिमका आधारमा नगरपालिकाबाट टोल टोलमा गर्दै आएको एन्टिजेन परीक्षण प्रत्येक स्वास्थ्य संस्थाबाट निशुल्क गर्ने व्यवस्था मिलाउने भएको छ । 

कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारको लागि गठित नगरस्तरीय र वडास्तरीय रेस्पोन्स टिमलाई वर्षभरि क्रियाशील बनाइने र  नगरपालिकाले संचालन गर्दै आएको वडा तथा टोलस्तरीय एन्टिजेन परीक्षण र संक्रमितलाई औषधि वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

कोभिड–१९ को परिक्षण, तथा उपाचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उपलब्ध गराउँदै आएको जोखिम भत्तालाई निरन्तरता दिने जनाएको छ ।  बर्थिङ्ग सेन्टर रहेका वडाहरुका स्वास्थ्य संस्थामा पूर्णतः संस्थागत सुत्केरी गराई घरमा शून्य सुत्केरी कार्यक्रम अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । 

सुत्केरीलाई प्रदान गर्दै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइने र सुत्केरी अवस्थामा आवश्यक पर्ने रगतको सहज आपूर्तिको व्यवस्था गर्न प्रत्येक चौमासिकमा “नगर उपप्रमुख रक्तदान कार्यक्रम“ संचालन गर्ने भएको छ । 

पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा गर्भ जाँचको व्यवस्था समेत गर्ने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए  ।  जटिल प्रकृतिका रोगहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाबाट आर्थिक सहायता प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने र  अति विपन्न परिवारका गन्दर्भ, बादी तथा  अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि निश्चित मापदण्ड निर्धारण गरि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने भएको छ । 

नगर क्षेत्रभित्र पाठेघर खस्ने, फिस्टुला, पाठेघर तथा स्तन क्यान्सर तथा मुटु रोगबाट पीडित महिलालाई लक्षित गर्दै निशुल्क जाँच सिबिर संचालन गर्ने भएको छ ।  स्वास्थ्य संस्थासँगको समन्वय तथा साझेदारीमा मोतिबिन्दुको निशुल्क शल्यक्रियाको व्यवस्था गर्ने तथा निशुल्क गर्भ परीक्षण, सुरक्षित गर्भपतन सेवा तथा निमोनिया र दमका बिरामीका लागि निशुल्क नेबुलाइजेशन सेवा उपलब्ध गराउने नीति अवलम्बन गर्दै बालबालिका, किशोरीहरु तथा सुनौलो हजार दिन भित्रका महिलाको पोषण स्थितिमा सुधार ल्याउन  विशेष कार्यक्रम संचालन गर्ने भएको छ । 

कृषि व्यवसायलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकरण तथा बजारीकरण गर्दै नगरपालिकालाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम लागू गर्ने गरी नीति ल्याइएको नगर प्रमुख भुसालको भनाइ छ । 

नगर क्षेत्रभित्र उत्पादित तरकारी, फलफूल तथा अन्य भण्डारण योग्य उपजको भण्डारण गरि उचीत बजार मुल्य सुनिश्चित गरी  उत्पादित बस्तुको न्युनतम समर्थन मूल्य कायम गर्न संघ तथा प्रदेश सरकारसंग समन्वय गर्ने भएको छ ।  

यस्तै चक्लाबन्दी, लिज खेति सामुहिक तथा करार कृषि खेतीलाई प्रोत्साहन गरी खेतियोग्य जमिनमा बस्ती विकास र सहरीकरण गर्ने कार्यलाई निरुत्साहित गर्ने भएको छ ।  कृषि उपज संकलन केन्द्र तथा कृषि सहकारी मार्फत बिक्रि हुन आएको तरकारीको प्रति केजीको हिसाबले उत्पादनको आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराई कृषि पेशालाई प्रोत्साहित गर्ने साथै  तरकारी, जडिबुटी तथा फलफूल खेतीलाई क्षेत्रफलको आधारमा प्रोत्साहन गरिने नगर उपप्रमुख ठाकुर कुमार बिकले बताए ।  बाझो जग्गा राख्ने कार्यलाई निरुत्साहित गर्दै बाझो जग्गा भाडामा लिई कृषि कार्य गर्ने व्यक्ति तथा समूहलाई प्रोत्साहन गर्ने भएको छ ।
 
कोभिड –१९ को कारण बैदेशिक रोजगारी गुमाई स्वदेश फर्कीएका व्यक्तिहरुले व्यवसायिक रुपमा तरकारी, जडिबुटी तथा फलफूल खेति गर्न चाहेमा संघ तथा प्रदेश सरकारसंग समन्वय गरि प्रति रोपनीका दरले प्रोत्साहन अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको भनाई छ । सार्वजनिक जग्गा, मठ मन्दिर, विद्यालय, स्वास्थ्य केन्द्रका जग्गामा फलफूल बिरुवा रोपण कार्य अगाडि बढाइने र प्रांगारिक, अर्गानिक तथा बेमौसमी खेतिलाई प्रोत्साहन गर्ने भएको छ । 

“गाउँ घरका फलफूल र तरकारी, बिक्री गर्ने हाम्रै सहकारी' भन्ने मूल मन्त्रलाई आत्मसात गरि सहकारी संस्थाहरुलाई नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि तथा पशुजन्य उत्पादनहरु संकलन, भण्डारण र बिक्री वितरण गर्न परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

सुपा देउराली, खाँची दरबार, शिद्देश्वर शिवालय मन्दिर, अर्घा भगवती मन्दिर, गोपेश्वोर पिठ मथुराबेसी क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न एकीकृत योजना बनाइ अगाडि बढ्ने भएको छ । 

नरपानीमा रहेको गंगा सरोबर क्षेत्रको प्रथम चरणको निर्माण कार्य पुरा गरि तालमा प्याडल बोट संचालन गरिने नगर प्रमुख भुसालको भनाई छ । नरपानी पिकनिक स्थलको निर्माण तथा सौन्दर्यकरण गरि मनोरन्जनात्मक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने भएको छ । 

जाललकाँडा प्राकृतिक स्टोन गार्डेनको बिस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने लदाम बगैचा, शान्ति बगैचा, मथुरा बगैचा, बि.पी. स्मृति पार्क, सहिद मनोज झपेन्द्र पार्कको सौन्दर्यकरण गरि अन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने जनाएको छ । 

अर्घा भगवती मन्दिर परिसरमा देवीको विशाल मूर्ति स्थापना गरि मन्दिर क्षेत्रको पुनर्निर्माण तथा सौन्दर्यकरणमार्फत आकर्षक धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरी  अर्घा दरबार क्षेत्रमा परम्परागत धार्मिक तथा संस्कृतिक बस्तुहरुको संग्रहालय तथा प्रदर्शनी केन्द्र स्थापनाका लागि आवश्यक प्रकृया अगाडी बढाउने भएको छ । 

वडा नं ९ नौलापानी र वडा नं. ७ को सुपा देउरालीमा रहेको झोलुंगे पूलमा शाहसिक पर्यटन प्रवर्द्धन गर्न बन्जीजम्प संचालनको लागि संघ तथा प्रदेश सरकारसंग आवश्यक पहल गर्ने भएको छ ।     

पूर्ण रुपमा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने गरि नगर क्षेत्रभित्र स्थापना हुने साना तथा मझौला उद्योगलाई कर छुटको व्यवस्था गर्ने तथा कोरोनाका कारण वा अन्य जुनसुकै कारणबाट बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरि बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यमा 'नगर प्रमुख उद्यमशील सहुलियतपूर्ण पशुपालन तथा कृषि कर्जा कार्यक्रम' तर्जुमा गरी लागू गर्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.