अभ्यासपछि उद्धार, धनजनको ख्याल
‘विपत् बाजा बजाएर आउँदैन।’ हालै धनजनको क्षति गर्ने बाढीपहिरोले यही चर्चित उखान स्मरण गराएको छ। प्राकृतिक विपत् जुनै समय पनि आउनसक्छ भन्ने सन्देश बुझ्न यसले मद्दत गर्छ। बाढी, पहिरो र डुबानजस्ता घटना वर्षात्को समयमा हुने भए पनि कुन दिन र कुन समय हुन्छ भन्ने टुंगो हुँदैन। आगलागीका घटना त झनै बाह्रै महिना हुने गर्छन्। त्यसैले प्राकृतिक विपत्बाट जोगिन पूर्वतयारी आवश्यक पर्छ। विपत् न्युनीकरणसँगै विपत् आए सुरक्षित हुने उपायको पनि खोजी र तयारी समयमै गर्नुपर्छ। जसले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति भने रोक्न सकिन्छ।
वर्षात्को समय भएकाले बाढी, पहिरो र डुबानको क्रम पनि सुरु भएको छ। मानव बस्तीमै बढी हुने यस्ता प्राकृतिक घटनाले मानवीय क्षति पनि भइरहेका छन्। दिनमा भन्दा रातको समयमा हुने यस्ता प्राकृतिक घटना अझै जोखिमपूर्ण हुन्छन्। रातको समयमा बढी वर्षा हुनु र जोखिपूर्ण क्षेत्रमा बाक्लो बस्ती भएकाले नेपालमा मानवीय क्षति बढी हुने गरेको विभिन्न समयमा गरिएका अध्ययनबाट प्राप्त तथ्यांकले देखाउने गरेको छ। नेपालमा सबैभन्दा बढी बाढी–पहिरो, त्यसपछि आगलागी र बाँकी वन्यजन्तुको आक्रमण र चट्याङबाट मानवीय क्षति हुने गरेको छ। यसबाट हुने क्षति न्युनीकरणका लागि सुरक्षाका केही पूर्वतयारी भने गर्न सकिन्छ।
प्राकृतिक विपत्बाट हुने भौतिक र मानवीय क्षति न्युनीकरण गर्न हरेक वर्षजसो सुरक्षा निकायले पूर्वतयारी अभ्यास गर्ने गरेका छन्। आगलागीको समयमा आगो नियन्त्रण र आगलागी क्षेत्रमा फसेकाको उद्धार, बाढीपहिरोमा बेपत्ता भएकाको खोजी र उद्धारको पूर्वतयारी अभ्यास सार्वजनिक रूपमै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले गर्छन्। यो अभ्यास काम पनि लाग्दै आएको छ। अभ्यासबाट पोख्त बनेरै उनीहरूले प्राकृतिक विपत्मा फसेकाको सहज उद्धार गर्ने गरेको देखिन्छ। पछिल्लो समय महंगो भए पनि हेलिकोप्टरबाट हुने उद्धार कम जोखिमपूर्ण मानिँदै आएको छ। त्यसैले केन्द्र र प्रदेश सरकारले वर्षात्को समयमा हेलिकोप्टरलाई ‘स्ट्यान्डबाई’ राख्ने गरेका पनि छन्। छिटो र भरपर्दो हुने भएकाले विपत्मा हेलिकोप्टरको प्रयोग गरिन्छ।
फसेकाको उद्धार मात्रै नभई जंगलमा लागेको आगो नियन्त्रणमा पनि नेपालमा हेलिकोप्टरको प्रयोग हुन थालेको छ। केही महिना अघिमात्रै पाथीभराको जंगलमा लागेको आगो सिम्रिक एयरको हेलिकोप्टरबाट नियन्त्रण गरेको सफल उदाहरण छ। प्रविधिको विकाससँगै विपत्मा क्षति न्युनीकरण गर्ने उपाय पनि नयाँ भित्रँदैछन्। समयअनुकूल सुरक्षा तयारी र प्रविधिको प्रयोग पनि आवश्यक छ। बाढीपहिरोका लागि सुरक्षाको पूर्वतयारी गर्दा खोलामा पौडने, खोलामा परेकालाई निकाल्ने र आफू पनि सुरक्षित हुने अभ्यास पुराना हुँदैछन्। यसले उद्धारमा खटिनेको पनि जोखिम उत्तिकै हुन्छ। भएका स्रोतसाधनको मात्रै प्रयोगले गरिने पूर्वतयारी अभ्यासले जोखिम बढ्नुको साथै उद्धार कार्य सफल नभएका पनि उदाहरण छन्। त्यसैले विपत्को पूर्वसुरक्षा तयारी पनि समयअनुकूल परिवर्तन हुन आवश्यक छ।
विपत्मा सबैभन्दा धेरै खट्ने भनेकै सुरक्षा निकाय हुन्। आफ्नै ज्यान जोखिममा राखेर विपत्मा परेकाको उद्धार गर्नु उनीहरूको दायित्व पनि हो। तर, उनीहरूलाई आवश्यक पर्ने साधनको भने अभाव नै हुने गरेको छ। बाढीपहिरोको समयमा केही व्यवस्थापन भए पनि अन्य समय यस विषयमा सरकारले नसोच्दा जनशक्ति भए पनि विपत्मा खट्दा आवश्यक पर्ने साधन अभावमा सुरक्षाकर्मीले जोखिम मोलिरहेको भेटिन्छ, यो दुःखद् पक्ष हो। पहिरो तथा बाढीबाट हुन सक्ने अवरोध हटाउन एक्स्काभेटर, डोजर तथा एक्रोब्रिज, रिभाई बोट, लाइफ ज्याकेट सबैभन्दा बढी आवश्यक पर्ने साधन हुन्। यसको अभाव अझै छ।
अहिले तीन तहको सरकार छ। सबैले प्राकृतिक विपत् न्युनीकरणका लागि योजनासँगै बजेट विनियोजन गरिरहेका छन्। उनीहरूले मौसमी विपत्मा आवश्यक पर्ने साधन खरिद गरेसँगै असुरक्षित ठाउँमा रहेकालाई सुरक्षित राख्न अहिले पहिलो प्राथमिकता दिनुपर्छ। विपत्मा खटिने सुरक्षाकर्मीलाई पूर्णरूपमा सामग्रीसहित चुस्त राख्नुपर्छ। यो तत्काल आवश्यक पर्ने पाटो हो। विपत्का लागि आवश्यक पर्ने सामग्री खरिद गर्न कञ्जुस्याई गर्नुहुँदैन। सँगै यस्तो विपत्मा खट्न प्रत्येक तहमा सुरक्षा निकाय बाहेकका पनि जनशक्तिको तयारी गर्दै लैजानु पर्छ। यसले मानवीय क्षति न्युनीकरणमा सघाउ पुग्छ।