महोत्सवका उत्कृष्ट कविता

महोत्सवका उत्कृष्ट कविता

नेपाल प्रज्ञा प्रतिष्ठानको ६४औं वार्षिकोत्सवका अवसरमा आयोजित भर्चुअल राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रथम, द्धितीय र तृतीय भएका कविता। फरक धार र आलोचना गरिएका कवितालाई प्रतिष्ठानले स्वीकार्दैन भन्ने बुझाइलाई महोत्सवले स्पष्ट पारेको तर राष्ट्र, राष्ट्रियता, जाति, समुदाय, लिंग, भाषा, संस्कृति र संविधानप्रति आक्षेप लगाइएको कवितालाई भने स्वीकार गरेका काव्य विभागप्रमुख प्राडा हेमनाथ पौडेलले जानकारी दिएका छन्।


प्रथम

देशको नक्सा

- कविता राई

म कोरिरहेकी छु
देशको सग्लो नक्सा।

खाली पानामा कोर्छु असंख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र।

अनायस करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु 
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु
र मेट्छु धाँजाहरू !

विषाक्त हावा बोकीआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेंसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी 
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू ! 

ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू 
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन, भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !

छामिहेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा।

भोजपुर


- द्वितीय

डढेलोपछि पनि वसन्त आउँछ

- अमृता स्मृति            

हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे 
मगमगाउँथे हार्दिक भावहरू
झमझमाउँथे प्रेयसीका पाउजु
र घिस्रिरहन्थ्यो बुढो लौरी 
आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
घन्किरहन्थ्यो आदिवासी धुन
ती सबै–सबै कहाँ गए ?
विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको
पिँढीको गुन्द्री बिर्सिएर
कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
भोलि यही बाटोमा भेटिएला/नभेटिएला
आमाका पैतालाका डोबहरू !

न कुनै आहत
न कुनै पदचाप
समय आफैं मलामी 
आफैं मुर्दा बनेर लम्पसार छ 
ए ! छिरिङ ए ! खान 
चित्र प्रदर्शन गर्न
किलोको आड चाहिएजस्तै
देशलाई चाहिएको छ
हाम्रा पाखुराहरूको आड
हाम्रा चेतनाहरूको आड
मौरीहरू मुर्झाउन नखोज भर्नै बाँकी छ 
यो देशको घारमा महको चमक !

झुल्किन्छ–झुल्किन्छ 
हामीले जीवनभर खोजिरहेको उज्यालो घाम 
पर्दा बनेको यो कैदी समयमा पनि
तराई, भावर, चुरे र पहाडमा
महाभारत, हिमाल र भोटमा
कुन–कुन जातका फुल फक्रिसके होलान् ?
जंगलमा डढेलोपछि पनि रुख/विरुवा पलाउँछन्
जंगलमा डढेलोपछि पनि वसन्त आउँछ। 

धादिङ



- तृतीय

आमा म आएँ अब

- सविता बराल

हाँस्छन् शैल, मनुष्य पल्लवित छन्, बोल्छन् शिलागौरव
इन्द्रेनीमय जात, धर्म, थरले छर्छन् सुधा सौरभ
यस्तो सृष्टिकला अमूल्यनिधिको बोकी महासागर
थोपो खोज्न कतै म जान्नँ जननी आएँ म आएँ अब

मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर
रोदी, मादल, धाननाच, जितिया बन्धुत्वका रक्षक
गाऔं गान ‘सयौं थुँगा...’ सँगसँगै आमा म आएँ अब

टोपी, बक्खु तयार छन्, सडकमा नांगा नरोउन् कतै
किंकर्तव्यविमूढ बन्न नपरोस् भोकाहरूले अझै
यार्चागुम्बु, चिराइतो कलुषता निर्मूल पार्दै सब
बाँच्ने विश्व बचाउने रहरले आऊ, म आएँ अब

मेरा पाउ समृद्ध छन्, शिर उँचो, छाती खुला निर्मल
सीमामा बलभद्रका कलमले गर्दैछु हस्ताक्षर
साझा लक्ष्य विकासको मुलुकमा मेची र कालीसँग
नौलाद्वार सुशान्तिका, प्रगतिका खोलेर आएँ अब

बोकीमाथ म विश्वसाथ नउठे के काम यो शैलको
कोसीझैं अविश्रान्त बग्न नसके के अर्थ यो सैरको
मेरा शैलशिखा, सुरम्य सरिता साँचेर राखूँ सब
आफ्नै आँगनमा निचोर्न पसिना आमा म आएँ अब

ताप्लेजुङ
–––

- तृतीय

युगीन प्रतिध्वनि

- निरन्जनाकुमारी चन्द

अणु र परमाणुका मुटु थर्काउने हाँकहरूसँगै           
भस्मासुर र भाइरसका पटकपटकका विश्वयुद्घहरू           
र सिमानाका रक्तरञ्जित कथाहरूले निम्त्याएका                
युगीन त्रासदीहरूमा                       
छातीमा अड्याएर जीवन               
पिइदिऊँ घामका लप्काहरू
छाइदिऊँ शीतलता 
सँगालेर जूनका टुक्राहरू
लाइदिऊँ माला
उनेर गुराँसका थुँगाहरू।

विशाल हृदयहरूको खानी
विश्वभूगोलको एक टुक्रा मेरो देश
धावा दिएर गाउँछ गीत वीरताको
र उचालेर चन्द्रसूर्य
म लगाउँछु सिन्दुर
भुइँको एक चिम्टी माटो उठाई 
गाउँछु गीत सगरमाथा उचाइको ।

छोडेर विध्वंसका अस्त्रहरू
आत्मज्ञान विस्फोट गराई कोहिनुर उज्यालोमा
गरिदिऊँ बीजारोपण शान्तिका सम्बोधी आँखाहरूको
विश्वब्रह्माण्डभर गुन्जाएर बुद्घका मन्त्रध्वनिहरू
उडाइदिऊँ सेता परेवाका जोडीहरू
रोग भोग शोक अनेक सन्नाटाहरू मेटाएर
छरिदिऊँ मानवताका सम्यक् बीजहरू।

आऊ श्रमका पुजारीहरू !
पौरखी जिजीविषा फुलाएर
फिजाइदिऊँ दायित्वका नवरंग आकाशभरि
समृद्घिका आशातीत रंगहरू इन्द्रेणीमा 
पोतिदिऊँ धर्तीमा झिकाएर
चिहानबाटै जुर्मुराएर
बिहानबाटै ब्यँुझिएर
रोपिदिऊँ समानताका सुन्दर बोटहरू।
जीवनका अप्ठ्यारा आँधीहुरीहरूमा
मैदानबाट दौडिँदै चुचुराबाट गर्जिँदै
खेलिदिऊँ पौंठेजोरी सतिसाल भएर।
उठ ए झुपडीका ताता मान्छेहरू !
सल्काइदिऊँ चिराक मूच्र्छना जगाएर
जाग ए किनारीकृत निन्याउरा मान्छेहरू !
बुलन्द गराइदिऊँ दबाइएका आवाज
पुरिदिऊँ गहिरा खाडलहरू।
      
बर्दिया      
–––

- तृतीय
बोधिसत्व खोप

- प्रकाश सिलवाल

कुनै जादुगरले
कागजका पानाहरूलाई
चपाई चपाई स्वाट्ट निलेर
ह्वालह्वाल्ती पानी निकालेझैं
किन चटक हेर्न
विवश छन्
स्वयम्भूका आँखाहरू ?

घरी कर्ममौरीहरूलाई
डकैतीले झैं घेर्न खोज्छ
घरी आफैंलाई 
जिउँदै जलाएको सपना देख्छ 
र आफ्नै मलामीको जुलुसलाई 
घन्टौं कर्कश सम्बोधन गर्छ !

यो कस्तो संक्रमण हो 
जसले, लालीगुराँसको सुगन्धमा बाँचिरहेको
डाँफे चरीको श्वासथैलीलाई 
चलमलाउन दिँदैन
प्राणवायु प्रवाह हुने
कोषिकापत्रलाई नै
कुनै समय नेपालको मानचित्रबाट
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई 
अलप गराइएझैं
क्षणभरमै अलप गराइदिनसक्छ
रक्तनलीभित्रको हेमोग्लोबिन तŒवलाई
चैतमासको खहरेझैं सुकाइदिएर
आनन्द लिन चाहन्छ  
अशान्ति र पृथकतावादका सूत्रधारहरूलाई
रानीमहलका जोडीले झैं
असीम प्रेमको आलिंगन सुम्पन छोड्दैन !

यतिबेला म 
आधुनिक धन्वन्तरी भएर
समृद्धिको धरहरालाई सम्झिएर
एउटा त्यस्तो मेसिन बनाउँदैछु
जसले तुरुन्तै पत्ता लगाउने छ–
यो भयानक भाइरसका कारण र असरहरू 
प्रिय बुद्धभूमिविरुद्धका 
घातक कुण्ठा 
र तुच्छ स्वार्थका बीजहरू...

सुन !
त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
जसले पहिलो मात्रामै
परास्त गर्नेछ–
सगरमाथा हाँस्दा रमाउन नसक्ने
विकृत स्नायुग्रन्थीका तमाम संक्रमणहरू !

नुवाकोट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.