स्मृतिका पाना पल्टाउँदा

स्मृतिका पाना पल्टाउँदा

सम्झनाका झिना मसिना लेख स्मृतिपटमा लेसिएर बसेका हुँदा रहेछन् मज्जाले। लेसिएका ती सुक्ष्मरेसाहरू कुनै अन्तरालबीच झसझस झल्याँस्स भइरहँदा रहेछन्, मस्तिष्कधारी मानव प्राणी हामीमाझ। अनायसै यस क्षण रमाउन थालेको छु। रंगै नभइएर नि रंगिन रहनु प्रकृतिको शाश्वत तारतम्य ! न हर्ष न विस्माद ! मान्नै पर्दोरहेछ शाश्वत प्राकृतिको नियम ! मनमनै गुन्दै गर्दा आफूसित आफैं रमाउने मनमोजी साइत अनुपम मुहुर्त !

यस्तै क्षणहरू बटुलेर तपोवनको तपस्या कोठैभित्र संगालिरहेको हुन्छु। मथिंगल माझिँदै थियो– दूरभाष यन्त्र किरिरिङ किरिरिङ कराउन थाल्यो। उठ्दै पल्लो कोठा दूरभाष यन्त्र स्थलमा पुगी ‘हजुर, नमस्कार’ गरें। के गर्दै हुनुहुन्छ ? मनगढन्ते कुराको यानमा सैर गर्दै भने। रमेश विकल हुन् या रोचक घिमिरे बिलखबन्दमा परें। जरजर मस्तिष्क थरथर गर्छन्। विकलजीलाई सोध्न जाऊ... उहाँकै स्नेहमयी अँगालोको पासोबाट फुत्कन सकूँला नसकूँला दोमन लाग्छ। रोचकजी त यही मत्र्यलोककै सहचारी सहकर्मी हुनुहुन्छ। कोभिड–१९ को भीडमा नपर्ने गरी हलो हाई त चलाउन सकिन्छ नि... !

दूरभाषमा सम्पर्क गरें। रोचकजी आज्ञा गर्नुहुन्छ, के छ मित्र ? ३०–४० मिनेट मजाक भयो। जोबन–जीवन कर्मचारी आयु बिताइयो। कर्मचारी कर्मलाई नै प्रधानता प्रदान गर्छन्। कर्ममा प्रधानता देख्न र पाउने एकल पन्थी यात्रु। रमेश विकल (रामेश्वर चालिसे) २०१७ सालदेखि नै सहकर्मी। उहाँ जनक शिक्षा सामग्री केन्द्र पाठ्यक्रम विकासमा कार्यरत। कलमका हकदार यो शुद्ध भादगाउँले तेजेश्वर गृहपञ्चायत मन्त्रालयअन्तर्गतका स्थानीय विकास प्रशिक्षण केन्द्रमा। पाठ्यक्रम विकासकेन्द्र र प्रशिक्षण केन्द्रबीच सारगर्भित सम्बन्ध अनुभूतिगम्य रहेको रहै रह्यो। सामाजिक जन्तुका सामाजिक दायित्व बोधी ज्ञान ज्योतिर्मय तपोज्ञान ! यिनै ज्योतिर्मय ज्ञान ज्योतिमा नुहाई शुद्धीकरण गर्दैछु– इहलीला ! यताउता दायाँबायाँ कर्तनलागी... मनभरी पाइला भरी भरी... ! अब त जीउमा बल नि छैन ! पाइलामा चाल पनि छैन गतिशील ! माहुते बनेर जंगली हात्ती कजाउन न मनै छ, न त बलै छ जिउमा ! अहिले जे जसो छ त्यसै रहौं। मन डुलाएर पो के हुँदो हो ? स्थिर मन शान्त जीवन ! शान्त जीवन दीर्घ आयु। दीर्घ आयु समृद्ध जीवन ! समृद्ध जीवन स्वच्छ मन ! स्वच्छ मन समृद्ध तन ! समृद्ध तन सदा बहार घर परिवार ! सदाबहार घर परिवार स्वान्त सुखसागर। स्वान्त सुखसागर सामाजिक संसार !

रोचक घिमिरेसित मित्रबर वार्तालाप गर्दै थिएँ। बहसिँदै बकिनु वार्तालाप भरिका स्वच्छन्द निर्बन्ध निबन्धात्मक तानाबाना सम्झन्छु। यिनै तथ्यलाई पुख्र्याैली शानदार झण्डा फहराई निषेधात्मक सुर्ति निवारणात्मक दूरभाष प्रलाप लम्ब्याउँछु। कतै जानु छैन। ट्याक्सी चढ्नु छैन। न हल्ला न खल्ला। जे पर्ला पर्ला। घिउ केमा पोख्ला डालैमा। दूरभाषको बोल तिरिन्छ। चित्त साम्य पार्ने मनोबल यही ढुकढुकी भित्र छ। कामरेड माधव नेपाल स्व. मनमोहन अधिकारीको मन्त्रिमण्डलमा रक्षा र परराष्ट्रमन्त्री थिए। त्यसताका नेपाल जापान एलुमनाई एसोसिएसन (जान) का सक्रिय आजीवन सदस्य थिएँ। वरुणप्रसाद श्रेष्ठ जानका अध्यक्ष हुनुहुन्थ्यो। जानको चालिसौं वार्षिक कार्यक्रमको उपलक्ष्यमा ‘मिलन’ पत्रिका सम्पादन गर्दै थिएँ। लगत्तै वरुणजीले ‘दाइ, हाम्रो वार्षिकोत्सव कार्यक्रमको प्रमुखअतिथि उपप्रधानमन्त्री माधवकुमार नेपाल आगमन हुनेभयो। दाइले उहाँका लागि एउटा मन्तव्य अंग्रेजीमा तयार गरिदिनुस् भन्नुभयो। सक्दो सहयोग गर्नु जीवन धर्म सम्झें। उहाँले सौम्य र शालीनता साथ जस्ताको तस्तै वाचन गर्नुभयो। चियाचमेनामा पहिलो चिनारी भयो।

परापूर्व कालमा जीवनकै प्राकृत अवस्थामा मानिस नदी, कुँवाबाट पानी अञ्जुलीमा उठाई प्यास मेटाउँथ्यो। त्यसै पृष्ठभूमिमा बिम्बात्मक प्रयोग यहाँ भएको अन्तर्य भेटिन्छ। दुई हत्केला जोडेर गरिने अभिवादन नमस्कार बन्छ।

मनमोहन अधिकारीको निधनपछि माधव नेपाल पार्टीअध्यक्ष नबनी यथावत महासचिव नै रहनुभयो। उहाँको महासचिव कालमा सिंहदरबारभित्रको बैठक कक्षमा नेपालका लेखकहरूलाई रायसुझाव निमित्त बोलाइएकोमा म नि परेथें। प्राय: सबै लेखक मित्र यथास्थानमा बस्नुभएको पाएँ। पस्नेबित्तिकै ढोकै सामुको कुर्सीमा बसें। पालैपालो आफ्ना भनाइहरू प्रस्तुत गरे। राजनीति नबुझ्ने, नगर्ने अराजनीतिक जन्तुले ठाडै मनको बह सबैका माझ बिसाएँ। बिसाउँदै गएँ :– ‘महासचिवज्यू, हामी अहिले जनताको बहुदलीय जनवाद भन्छौं– ज.ब.ज। आमजनतालाई शुद्ध पिउने पानी एक घैलाको प्यास छ। म भादगाउँले सूर्यविनायकनिवासी... ! बाल्टिन बोकेर ढुंगेधाराबाट पानी बिसाउँछु। किन्तु यहाँ जताततै कोकाकोला, पेप्सीकोला, बियर, खुकुरीरम के के हो के के ? १२/२० पाइलैमा छ्यापछ्याप्ती पाइन्छ।’

गाउँमा छाप्रो छैन। हिँड्न राम्रो गोरेटो छैन। यहाँ भव्य भवन र पजेरो गाडी गुड्छ। निमुखा गाउँले नेपाली मान्द्रो पाउन्नन्। धनबिनाको कुबेर यस्ताले महासचिवज्यूलाई सत्कार्न कसरी सकूँ ? कमसेकम सुकुलमाथि एउटा चकटी त बिछ्याउनै पर्‍यो। जनताको बहुदलीय जनवाद भन्दै उर्लन्छौं। गर्नै पर्छ गर्छौं। उपस्थित लेखक, स्रष्टा बन्धुजन सबैैले आआफ्ना पालो भ्याइसकेका थिए। समय घर्किसकेको थियो। मै मात्र बाँकी। त्यति नै खेर माधव नेपालले जिज्ञासा राख्नुभयो; ‘ग्वंग:जी कहाँ बस्नुहुन्छ ?’ भक्तपुर, भनें। त्यसो भए तपाई मेरो गाडीमा बस्नुस् ! उहाँले भन्नुभो। बस छँदैछ। त्यसमै जान्छु। म नि त्यतै बस्छु। पुर्‍याइदिन्छु नि ! महासचिवज्यू कुन ठाउँसम्म पाल्नु हुन्छ ? त्यतैबाट बस चढेर घर जाउँला। गाडीचालक महाशयले हाम्रा वार्तालाप सुनिराखेका थिए– मनग्य। कोटेश्वर पुगेपछि भनें, ‘महासचिवज्यू यहीँबाट बिदा लिन्छु।’ चालक भाइले स्टेरिङ कोटेश्वर कोलोनीतिर सोझ्याइसक्या थियो। ‘होइन, घर जाने हैन। उहाँलाई भक्तपुर पुर्‍याउनु पर्छ।’ ‘भक्तपुर पुग्न त तेलै पुग्दैन, हजुर ! चालक बन्धुले भने। कमरेड माधव नेपालले भन्नुभयो; ‘अघि दिउँसो ३० लिटरको कुपन दिएको होइन ?’ हजुर, त्यसको तेल हालेको छैन। ‘त्यसैबाट हालन। ऊ, त्यहीँ जडिबुटीनिर पाइन्छ नि’। हजुर त्यसबाट त पम्पवाला मान्दैन। ‘त्यसो भए त्रिपुरेश्वरै गएर हालुँ न’। त्रिपुरेश्वर जान त गाडीमा भएको तेलले भ्याउन्न। मलाई असजिलो र अप्ठ्यारो लाग्यो। हजुर, म यहीँबाट बस चढछु। एकैछिनमा घर पुगिहाल्छु। महासचिवज्यू, यो ‘संस्कृतिका आयाम’ संस्कृतिमूलक निबन्ध संग्रह सादर उपहार दिँदै ओर्लन लागें। उहाँले मान्नुभएन। वालेटबाट ३०० रुपैयाँ निकालेर चालकलाई दिँदै जडिबुटीनिरको पम्पमा हाल्नु भनी सुझाउनु भयो।

राजनीति नगरे–नलागेका गैरराजनीतिक जन्तु मलाई एक नयाँ पात्रताको अनुभूति भयो। यति भद्र, सरल, शालीन एक राजनीतिक व्यक्तित्व हुँदोरैछ। लाग्यो, विचरा चालक भाइको घर कतिपर कहाँ हुँदो हो ? उनी पनि हामीजस्तै घरपरिवार भएको सामाजिक प्राणी। बेफ्वाँकमा मेरा कारण अल्झिए बाटो बीच... ! चालक भाइले त्यसैगरी सूर्यविनायक पुर्‍याए। महासचिवज्यू, एक कप रुखासुखा चिया र दही सत्कार सम्मान ग्रहण होस् ! आग्रह थियो मेरो। तेजेश्वर जी, म पक्कै आउनेछु ! अहिले अँध्यारो भइसक्यो ! पत्याउनुस् है... ! यी वृत्तान्त बताएँ मित्रवर रोचक घिमिरेलाई। यत्तिकैमा रोचकजी सप्रशन्न आज्ञा गर्न थाल्नु भयो।

ग्वंग: पासा सुन्नु हुनेछ है : कामरेड माधव नेपाललाई हामीले नि साहित्य सदन रामहिटी चावहिलमा रमेश विकल स्मृति ग्रन्थ लोकार्पण कार्य सम्पन्न भइसकेपछि सदनकै उत्तरमा रहेको पर्ति जग्गा सदनले पाउन सके साहित्यकारहरू बेलाबखत बसी रचना कृति सृजना गर्ने ठाउँ बनाउन मिल्ने अनुरोध गर्‍यौं। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालजीले साहित्य सदनलाई सम्पोषण गर्नु भएथ्यो। रोचक घिमिरे मित्रका मित्र यो कलमजीवी पनि त्यस समारोहमा उपस्थित थियो। रोचकजी त्यसबेला साहित्य सदनका अध्यक्ष नै थिए। त्यसरी नै मित्रबर रोचकजी (गा: बाज्या) ले अर्को रोचक अनुभव पुराण हाल्न थाल्नुभो। उसबेला बाजेको पालामा (श्री ३ भीमको शासनकालमा पूर्वतिरबाट गैरीधारामा बसाई सर्नुभएको रहेछ। त्यो बेला काठमाडांै उपत्यका शुद्ध नेवार पण्डितहरूको बसोबास स्थल थियो। गैरीधारा स्थानमा बसेका ब्राम्हण बाजे परिवारलाई गा:बाजे भन्ने गरेका रैछन्।

रोचकजीका घोचक मित्रले ठट्टेउली पारामा रोचकजी नमस्कार। जोजलपा: भनें। जोजलपा: भन्या के ? प्रश्नबोधक जिज्ञासा तेर्साउनुभयो। भनें कि नेपालभाषामा जो = एक जोर, जलपा = जलपात्र, अर्थ हुन्छ। भन्नुहोला जोजलपा:को अर्थ विन्यास कसरी नमस्कार हुन्छ... ? परापूर्व कालमा जीवनकै प्राकृत अवस्थामा मानिस नदी, कुँवाबाट पानी अञ्जुलीमा उठाई प्यास मेटाउँथ्यो। त्यसै पृष्ठभूमिमा बिम्बात्मक प्रयोग यहाँ भएको अन्तर्य भेटिन्छ। दुई हत्केला जोडेर गरिने अभिवादन नमस्कार बन्छ। थरिथरिका अर्थबोधक शब्दका अर्थ विन्यास बुझ्न अलि घोत्लिनु पर्दो हुन्छ। अनि रोचकजीले गा:बाज्याको सम्मानजनक अर्थ बोध गर्नुभो। हरएक भाषाका आआफ्नै भाषा–विज्ञान यसैगरी विकसित भएको हुन्छ। यही तवरले गैरी धारा = खाल्डो/गैरो अनि नेपालभाषामा गा:/गाल/खाल्डो हुन्छ। बाज्या = बाजे/बाहुन हुन्छ। गैरो धारामा बस्ने बाजेलाई नेपालभाषा भाषी नेवार समुदायले गा:बाज्या भन्ने गरेको हो।

रोचकजीको उत्कण्ठा जिउँदो जाग्दो नै रहे। जीवन्त अनुभूति सलल पोख्न थाल्नुभयो यसरी:
–    कि वर्तमान प्रधानमन्त्री केपी ओली (त्यसबेला पूर्वप्रधानमन्त्री) को निजी निवास बालकोटबाट फोन आयो; ‘रोचकजी आज माननीय केपी ओलीले राष्ट्रकवि माधवप्रसाद धिमिरेज्यू, तपाई, नगेन्द्रराज शर्मा (घिमिरे)लगायत केही लेखक–साहित्यकारलाई बालकोटमा आमन्त्रण भएको छ। म यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। कार्यक्रम विवरण २०७३।९।२१ को यसरी :
–    कति बजे नि ?
–    बिहान ९ बजे नै। यहीँ खानपिन गर्ने गरी। यहाँबाट गाडी लिन आउँछ। तयार भएर बस्नुस्। साथै नगेन्द्रराजजीलाई पनि भन्नुभएको छ।

अनि तुरुन्तै नगेन्द्रजीसित पनि दूरभाष सम्वाद गरें। रोचकजी बताउँदै गर्नु हुन्छ :–
–    मलाई त खबर गर्‍या छैन...! नगेन्द्रको उत्कण्ठा रह्यो।
–    तपाईको नामै किटानी साथ भनेकै हो। 
–    तत्काल फोन आयो। नगेन्द्रजी कै रहेछ। ...आयो ...आयो ...भर्खरै।

गाडी चढी नगेन्द्रसहित बालुवाटार पुग्यौं। राष्ट्रकवि नि आइपुग्नु भो। साहित्यिक माहोल जम्यो। तत्क्षण उहाँले तपाईहरूलाई आदर सूचक चिनो दिन्छु भन्दै केही लोगो वितरण गर्नुभयो। मानिस त हौं। ससंकित भई हातमा लियौं। भलै सूर्य चिन्ह लोगो रैनछ। नेपाली राष्ट्रिय झण्डाको लोगो थियो। अनि अरू केही पाउँ... ! साथीभाइलाई नि दिउँ... ! एकै मुठी दिनुभो। नगेन्द्रले पनि केही पाउनुभो। २:३० तिर फोन बज्यो। ओलीज्यूलाई बैठकमा जानु पर्ने भएछ। ‘म आधा घण्टामै फर्कन्छु। राष्ट्रकविज्यू ! बस्नु हुन अनुरोध गर्छु,’ भन्दै हिँड्न आँट्नु भो।

राष्ट्रकवि माधव धिमिरेले यी दुई मित्रगण नि साथैरहे बस्छु: भन्नुभो। बसी हाल्नु हुन्छ नि भन्दै पूर्वप्रधानमन्त्री ओली प्रस्थान हुनुभयो। रोचकजीले त्यसकै सिलसिलामा एउटा रमाइलो किस्सा जोड्नुभयो। त्यस महफिलमा मुक्तकण्ठ गायक रामेश श्रेष्ठ पनि उपस्थित थिए। ओलीजीले धर्मपत्नीतिर हेरी रामेशलाई चिनाउन लाग्नु भयो। श्रीमती राधिका शाक्यले भन्नुभयो; ‘रामेशजीलाई हाम्रो विवाह हुनु तीन वर्ष अघिदेखि चिन्छु। लगभग दुई धाई घण्टामै आइपुग्नु भयो। कविज्यू अलि जाडोले थरथराउनु भयो। त्यसलाई आत्मसात गरेर एकछिनमा आउँछु भन्दै माथि उक्लनु भयो माननीय ओली। एकै झिम्कामा एउटा प्याकेट लिई प्रवेश गर्नुभयो। प्याकेट खोलिवरी आफैंले कविज्यूलाई लगाइदिए। कालोन्यानो टपकोट/ओभरकोट। राष्ट्रकवि मख्ख परे। तबत थरथराहत लोप भइ हाले। गफिँदै ओली महाशयसित सायम भोजन गरी हामी फर्कियौं– गैरीगाउँका ‘गा:बाज्या’ र नगेन्द्रराज शर्मा आआफ्ना घरमा... !

स्मृतिका पाना पल्टाउँदै बन्द गरें पनि यसरी। सरसवती... सरस्वती ज्वजलपा... इति प्रणामञ्च... !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.