विम्बल्डनबाट बाहिरिन् सिमोना हालेप
लन्डन : रोमानियाकी टेनिस स्टार सिमोना हालेपले विम्बल्डन टेनिस नखेल्ने भएकी छन्। विश्व वरीयतामा तेस्रो स्थानमा रहेकी हालेपले चोटको कारण विम्बल्डन गुमाउने भएकी हुन्।
हालेपले इटालियन ओपनको खेल दौरान चोट बोकेकी थिइन्। देब्रे खुट्टाको पिँडुलामा चोट बोकेपछि उनले फ्रेन्च ओपनसमेत गुमाएकी थिइन्। हालेप विम्बल्डनको साविक विजेतासमेत हुन्। २९ वर्षीया हालेपले सन् २०१९ मा विम्बल्डनको उपाधि जितेकी थिइन्।
गत वर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेन। यस वर्षको विम्बल्डन यही सोमबारबाट सुरु हुँदैछ। हालेपले विम्बल्डन गुमाए पनि अल इङ्ल्यान्ड क्लब च्याम्पियनसिप भने खेल्ने विश्वास गरिएको छ। यो प्रतियोगिता अर्को हप्ताबाट सुरु हुँदैछ। त्यतिखेरसम्म उनी ठीक हुने अनुमान गरिएको छ। उनले यस प्रतियोगिताको पनि सन् २०१९ मा उपाधि जितेकी थिइन्।
‘यो निर्णय लिनुपर्दा म निराश छु। विम्बल्डनका लागि मैले धेरै मेहनत गरेको थिएँ। प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी पनि थिएँ। साविक विजेता पनि भएकाले ममाथि ठूलो आशा पनि गरिएको थियो’, उनले भनेकी छन्, ‘तर दुर्भाग्य मलाई मेरो शरीरले साथ दिएन।’
उनले आगामी दिन आफ्ना लागि अझै चुनौतीपूर्ण रहेको बताइन्। ‘यो निर्णय लिनुपर्दा वास्तवमै दुःखी छु। मैले पछिल्लो दुई महŒवपूर्ण प्रतियोगिता गुमाएको छु’, उनले भनेकी छन्, ‘मानसिक तथा शारीरिक रूपमा मेरा लागि अझै चुनौतीपूर्ण रहनेछ। तर, मलाई विश्वास छ, म एक मजबुद खेलाडीका रूपमा अगाडि बढ्नेछु।’
विम्बल्डन टेनिसबाट हात झिक्ने हालेप दोस्रो महिला खेलाडी बनेकी छन्। यसअघि जापानी खेलाडी नाओमी ओसाकाले प्रतियोगिताबाट हात झिकेकी थिइन्। २३ वर्षीया ओसाकाले डिप्रेसनका कारण टेनिसबाट केही समय विश्राम लिने बताउँदै विम्बल्डन नखेल्ने बताएकी थिइन्।
चार पटकको ग्रान्डस्लाम विजेता ओसाकाले यसअघि फ्रेन्च ओपन टेनिसको दोस्रो चरणबाट नाम फिर्ता लिएकी थिइन्। सन् २०१८ मा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गरेदेखि नै मानसिक रोगको सिकार भएको ओसाकाले बताउँदै आएकी छन्। सोमबारबाट सुरु हुने विम्बल्डन नखेले पनि आफ्नै देशमा आयोजना हुने टोकियो ओलम्पिक भने खेल्ने सम्भावना रहेको बताएकी छन्। ओसाका विश्व वरीयतामा दोस्रो स्थानमा छिन्। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुँदैछ।