बेलैमा मल
जब धान खेती गर्ने समय हुन्छ, किसानले मल पाउँदैनन्। डीएपी र पोटास चाहिने समयमा युरिया मल पाइन्छ, युरिया चाहिने समयमा डीएपी र पोटास। बजारमा जुन वस्तुको आवश्यकता बढी हुन्छ, त्यसलाई सहजै पाउन मुस्किल त पर्छ नै। तर अन्य वस्तुभन्दा नेपालमा मलको कथा फरक छ। किसानले चाहेको समयमा रासायनिक मल कहिले पर्याप्त पाएका छैनन्। ‘मलको हाहाकार’ वर्षेनी बन्ने समाचारको विषयजस्तै बनेको छ। यो वर्ष पनि धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको देशभर अभाव हुँदा किसान पिरोलिएका छन्। धान खेतीको सुरुआतमा र गोड्ने समयमा मल आवश्यक पर्छ। यो वर्ष दुवै समय मलको अभाव हुने देखिन्छ।
कोरोना संक्रमण महामारीका बीच मल किन्न पाइने आशामा किसानहरू घन्टौं लाइनमा बसेको भेटिन्छ। धान रोप्ने समय भएकाले अहिले अरू रासायनिक मल डीएपी र पोटासभन्दा युरिया मलको माग उच्च छ। बन्दाबन्दी अघिसम्म मौज्दात रहेको युरिया मल चैते धान र मकै बालीमा प्रयोग भइसकेको छ। थप मल आयात नहुँदा किसानले दुःख पाएका छन्। यस वर्ष पनि पहाड र तराईमा खेतीको सिजन चलिरहँदा मलबिना रोपाइँ गर्नुपर्ने बाध्यतामा किसान छन्। मलबिना खेती गर्दा उत्पादन घट्छ नै। लगानी पनि खेर जाने पीर किसानमा छ। यो वर्ष मल आपूर्तिका लागि आह्वान गरिएको ग्लोबल टेन्डरमा कुनै आपूर्तिकर्ता सहभागी भएनन्। जसका कारण समयमा मल आयात भएको छैन। विश्व बजारमा रासायनिक मलको मूल्य बढ्दै गएको र आपूर्तिकर्ताको हकमा लागू भएको ‘कारोबारमा लाग्ने आयकर’का कारण पनि विदेशी आपूर्तिकर्ता बिच्किएर बोलपत्रमा सहभागिता नजनाउँदा मल आपूर्ति प्रणाली प्रभावित भएको छ।
अहिले मल चाहिने समय सुरु हुँदा बल्ल सरकारद्वारा सरकारलाई (जीटुजी) अन्तर्गत मल उपलब्ध गराउने विषयमा भारत सरकारसँग पहल भइरहेको छ। मल आपूर्तिका लागि ग्लोबल टेन्डर र जीटुजीको प्रक्रियामध्ये कुनै सुनिश्चित नभएको हुँदा मलको अभावको श्रृंखला यो वर्ष पनि चरम रूपमा देखिने निश्चित छ। अन्य कुनै पनि प्रक्रियामार्फत मलको जोहो गर्न नसकिए किसानले मल पाउने छैनन्। ग्लोबल टेन्डरबाट मल ल्याउन कम्तिमा सात महिना लाग्न सक्छ। आगामी साउनदेखि गहुँबालीको सिजनसम्मलाई कम्तिमा एक लाख ३० हजार टन युरिया र ७० हजार डीएपी मलको माग छ। यो समयका लागि पनि अहिले नै मलको जोहो गर्नुपर्ने भएकाले ठूलो मात्रामा मल आयात गर्नुको विकल्प छैन। हाल मौज्दात रहेको र बाटोमा आउँदै गरेको युरिया मलले जेनतेन साउन पहिलो सातासम्मको धानबालीलाई पुग्ने भए पनि अहिले चाहिने समयमा मलको वितरण भएको छैन।
नेपाल कृषिप्रधान मुलुक हो। किसान व्यावसायिक बन्न खोज्दैछन्। कहिले बीउ त कहिले मलको अभाव झेल्ने किसान महामारीले पनि थलिएका छन्। उत्पादन समयमा बिक्री गर्न नपाउँदा चिन्तित बनेका किसानलाई मलको अभावले पीडा थपेको छ। पछिल्लो समय मल हाल्नु किसानका लागि रहरभन्दा बाध्यता भएको छ। उत्पादन धेरै हुने प्रशिक्षण दिँदै रासायनिक मल प्रयोग गर्न किसानलाई सरकारकै संयन्त्रले सिकायो÷बानी पा¥यो। निरन्तर रासायनिक मलको प्रयोगका कारण मलबिना उत्पादन आधाले घट्ने अवस्था छ। रासायनिक मलले माटो बिग्रिएको छ। अब प्रांगारिक मल प्रयोग गर्न सुरु गर्दा पनि यसको सकारात्मक असर देखिन समय लाग्ने कृषिविज्ञ बताउँछन्। जसका कारण किसान रासायनिक मलकै प्रयोग गर्न बाध्य छन्।
चाहिने समयमा मल अभाव हुने विषय नेपालमा नौलो होइन। नेपालमै उत्पादन नहुने भएकाले यसको आयातमा बाहिरी मुलुकको भर पर्नुपर्छ। सरकार कुन समयमा मल आवश्यक पर्छ भन्ने विषयको जानकार छ। आवश्यकताको समयलाई बुझेर समयमा मल खरिदमा ध्यान दिनुपर्छ। ग्लोबल टेन्डरबाट मल ल्याउन समय लाग्ने भए यसको विकल्प पनि सरकारले खोज्नुपर्छ। जीटुजी र अन्य विकल्प पनि पहिचान गरेर चाँडो मल आयात गर्न सरकार गम्भीर बनोस्। सधैं मलको हाहाकार हुने नेपालमा रासायनिक मलको विकल्प वा नेपालमै उद्योग सञ्चालन गर्ने विषयको पनि अध्यायन गर्नुपर्छ। नत्र यस्तो समस्या पुस्तौंपुस्ताले पुनः नभोग्लान् भन्न सकिँदैन।