गण्डकीमा मन्त्रीको कार्यविभाजनमा सकस : मनाङेसहित दुई मन्त्री अझै विना विभागीय
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपालीलाई मन्त्रिपरिषद्को कार्यविभाजन कठिन बन्दै गएको छ।
मन्त्रिपरिषद् कार्यविभाजनको प्रयासका लागि काठमाडौं पुगेर पोखरा फर्किएपछि पनि उनले मन्त्रीको कार्यविभाजन गर्न सकेका छैनन्। आइतबार अस्थायी रुपमा कार्यविभाजन गरिए पनि चार मन्त्रीमध्ये दुई जनालाई विना विभागीयमा यथावत राखिएको छ।
मुख्यमन्त्री नेपालीको सिफारिमा मन्त्रिपरिषद्मा रहेका चार मन्त्री मध्ये दुई जनालाई भने देश प्रमुख सीताकुमारी पौडेलले मन्त्रालय तोकेकी छन्।
प्रदेश प्रमुख पौडेलले कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई सामाजिक विकास र माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।
मुख्यमन्त्री पोखरेलले लामो प्रयासमा पनि राजीव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यलाई मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन्।
स्वतन्त्र प्रदेशसभा सदस्य मनाङे र जनता समाजवादी पाटीबाट मन्त्री बनेका हरिशरण आचार्य विना विभागीय मन्त्रीको जिम्मेवारीमा यथावत रहेका हुन्। अन्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पोखरेल स्वयम्ले लिएका छन्।
असार ४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका पोखरेलले सोही दिन चारजना नेतालाई विना विभागीय मन्त्री बनाएका थिए । नेपालीलाई मुख्यमन्त्री बनाउन निर्णायक मानिएका स्वतन्त्र सांसद मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका छन् । शपथ खाएका मन्त्रीको कार्यविभाजन हुन नसक्दा पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्नसमेत सकेका छैनन् ।