अनपेक्षित व्यवहारले बालबालिकामा तनाव

अनपेक्षित व्यवहारले बालबालिकामा तनाव

अहिलेको समयलाई हामी सबैजसोले प्रतिस्पर्धाको समय भनेर भन्दै आएका छौं। कलिला बालबालिकालाई घरमा खाना खाने बेलामा होस् वा शिशु कक्षामा प्राप्त गरेको उपलब्धिका सन्दर्भमा होस्, एकअर्कामा तुलना गरेर आफ्नो बच्चालाई उत्कृष्ट बन्न घच्घच्याउने काम हरेकजसो अभिभावकले गर्ने गरेको देखिन्छ। पूर्वप्राथमिक विद्यालयमा समेत बालबालिकाका बीचमा उनीहरूका पढाइ, लेखाइ तथा अन्य गतिविधिलाई तुलना गरी उत्कृष्ट र निकृष्ट बालबालिकाका रूपमा परिभाषित गर्ने काम शिक्षक–शिक्षिकाले समेत गरेको पाइन्छ। अन्य व्यक्तिसँग तुलना र सफल व्यक्तिलाई पुरस्कृत गरेका दृश्यले बालबालिकालाई आफूले पनि केही राम्रो गरेर पुरस्कृत हुने चिन्तनको विकास हुन सक्ने एउटा सम्भावनालाई नकार्न सकिन्न। तर पनि बालबालिकाको सन्तुलित विकासलाई ध्यान नदिई क्षणिक र कृत्रिम उपलब्धिका लागि हौस्याउने कामले उनीहरूमा तनावपूर्ण वातावरणको सिर्जना भएको छ। यसले अनेकन् मनोसामाजिक समस्याहरू विकास हुने तथा अन्तर्निहित प्रतिभाको प्रस्फुटनमा अवरोध सिर्जना हुने सम्भावना बढ्छ।

हरेक व्यक्तिमा जन्मजात केही न केही मौलिक र विशिष्ट क्षमता हुन्छ। तर उसको मूल प्रकृति र प्रवृत्तिा नबुझी यस्तो र उस्तो बन्नुपर्छ भनेर दिइने अर्ती र गरिने तुलना प्रतितुलनाले व्यक्तिलाई तनावपूर्ण अवस्थामा पुर्‍याउनुका साथै उसको आत्मबलसमेत कमजोर बनाइदिन्छ।

राम्रो उद्देश्य राखेर गरिएको भए पनि ससाना बालबालिका बिचको प्रतिस्पर्धात्मक भावनाले उनीहरूलाई असामाजिक, असहिष्णु, असहयोगी, असन्तुष्ट, असंवेदनशील र मानसिकरूपमा असन्तुलित बनाएको अध्ययनहरूले देखाएका छन्। औपचारिक पढाइ लेखाइलाई धेरै जोड नदिने, सामयिक तथा लिखित परीक्षालाई आधार मानेर विद्यार्थीलाई विभिन्न समूहमा वर्गीकरण नगर्ने न्युजिल्यान्डको शिक्षण पद्धति र त्यसबाट उत्पादित जनशक्ति विश्वकै सबैभन्दा राम्रो जनशक्तिका रूपमा स्थापित हुनुको कारण बाल्यकालमा उनीहरूलाई सामाजिक, सहयोगी, सहिष्णु र शान्त एवं खुसी हुन सिकाउने विद्यालय शिक्षा नै हो भन्ने गरिन्छ। नेपालजस्ता तेस्रो विश्वका विद्यालयहरूमा विद्यार्थीलाई अव्यावहारिक र घोकन्ते शिक्षा दिने मात्र होइन, सामयिक परीक्षामा जसले बढी अंक प्राप्त गर्न सक्छ। उसलाई उत्कृष्ट घोषणा गर्ने अनि राम्रा सीप र क्षमता भएको तर परीक्षामा राम्रो गर्न नसक्ने विद्यार्थीलाई निकृष्ट र कमजोर भनेर उपेक्षा गर्ने प्रवृत्ति देखिन्छ। यसकारण सफल हुने विद्यार्थी आफूले राम्रो गर्नुभन्दा अरूले आफूलाई जितिहाल्ने हो कि भन्ने तनावमा रुमल्लिइरहेको हुन्छ। असफल ठहर गरिएको विद्यार्थी आफूसँग भएका सीप, क्षमता र कौशलको सही मूल्यांकन हुन नसक्दा पठनपाठन क्रियाकलापमा आफू कमजोर रहेको अनुभव गरी हीनताबोध ग्रन्थीले आक्रान्त भई जीवनभर दुःखी मात्र बनिरहन्छ।

यस अर्थमा स्तरीकृत श्रेणी व्यवस्थामा विश्वास गर्ने अर्थात् विद्यालय शिक्षामा पनि पहिलो, दोस्रो र तेस्रो गरी विद्यार्थीको उपलब्धिका आधारमा विद्यार्थीलाई तुलनात्मक र सापेक्ष मूल्यांकन गर्ने प्रवृत्तिका कारण पढ्न लेख्न सिपालु वा कमजोर दुवै थरी विद्यार्थीलाई दुःखी र तनावपूर्ण बनाउने काम हाम्रा विद्यालयले गरेको देखिन्छ। हरेक व्यक्ति आफैंमा विशिष्ट र मौलिक अभिलक्षणयुक्त एवं कुनै न कुनै क्षेत्रमा विशिष्ट क्षमतासहित यस धर्तीमा जन्मिएको हुन्छ। सबैभन्दा पहिला बालबालिका वा व्यक्तिलाई व्यक्तिका रूपमा स्वीकार गर्न सक्नुपर्छ तर पूर्वनिर्धारित मानकका आधारमा व्यक्तिलाई कमजोर वा शक्तिशाली भनी वर्गीकरण गर्ने परम्परागत ढर्राका कारण जीवन र जीवनको खुसी तŒव ओझेलमा परेको छ भने बौद्धिकताको नाममा बालबालिकालाई प्राकृतिक र स्वाभाविक जीवन जिउनबाट वञ्चित गर्ने काम भइरहेको छ।

व्यक्तिको वैयक्तिक मौलिक विशिष्टतालाई अवमूल्यन गरी एउटै साँचोमा ढाल्ने प्रयास गर्दा सबैमा असन्तुष्टिको मात्रा बढ्न गई समाज नै तनावपूर्ण स्थितिमा अल्मलिने सम्भावना बढ्छ। हात्ती, कछुवा, खरायो र बाँदरलाई को छिटो रूखमा चढ्न सक्छ भनी गरेको परीक्षणमा बाँदरको सफलतालाई लिएर बाँदर मात्रै उत्कृष्ट प्राणी हो भन्न खोज्नु आफैंमा भ्रमपूर्ण र असत्य कुरा हो। यी विषम प्रकृतिका क्षमतायुक्त प्राणीको वास्तविक क्षमता कुनै एक किसिमको परीक्षण प्रणालीबाट हुन सक्दैन। उनीहरूको मौलिक विशेषताको पहिचान र मूल्यांकनबिना गरिने वर्गीकरण आफैंमा अवैज्ञानिक र अव्यावहारिक हुन्छ। यस्तै आजका हाम्रा विद्यालयमा पूर्वनिर्धारित निश्चित साँचोभित्र सबै बालबालिकालाई राख्न खोज्दा वास्तविक बालप्रतिभाको अवमूल्यन हुन पुगेको छ। जसले गर्दा बालबालिकाबाट खुसी खोसिएको छ भने उनीहरूमा सिर्जनशील सीप विकासका लागि भोक जगाउन सकिएको छैन।

कस्तो बानीको विकास गर्ने ?
अभिभावकले हरेक बालबालिकामा आफ्नो अपूर्णता र असफलतालाई चिर्न सक्ने क्षमताको अपेक्षा राखेको हुन्छ। सन्तानबाट मात्र आफू पराजित हुन चाहने मनोवृत्तिका कारण बालबालिकामाथि उच्च अपेक्षा राख्ने अभिभावकको संख्या बढ्दै गएको छ। बालबालिकाको वास्तविक क्षमताको मूल्यांकन नगरी उनीहरूले प्राप्त गर्न नसक्ने उपलब्धिको अपेक्षा राखेको अवस्थामा वास्तविक वातावरण र उनीहरूका उपलब्धिबीच तारतम्य नमिल्दा उनीहरूको घरायसी र विद्यालयको वातावरण नै तनावपूर्ण बन्दछ।

वास्तवमा बच्चा बच्चाजस्तै हुन पाए खुसी हुन्छन्। घर तथा विद्यालयमा उनीहरूलाई बच्चाजस्तै बनेर खेल्न, पढ्न र व्यवहार गर्न उत्प्रेरित गर्नुपर्छ। बच्चामा अत्यधिक मात्रामा रहने जिज्ञासाका कारण उनीहरू हरेक क्षण के, किन, कहाँ, कहिले र कसरीजस्ता प्रश्नहरूको ओइरो लगाउने गर्दछन्। यस्तो बेलामा उनीहरूलाई प्रश्न गर्न निरुत्साहित नगरी अभिभावक वा शिक्षकले जिज्ञासा मेटाउन सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ। धेरै प्रश्न सोध्ने कामलाई झर्को लगाउने काम भनी निरुत्साहित गर्दा नयाँ कुरा सिक्ने, जान्ने र बुझ्ने अनुसन्धानात्मक सहज प्राकृतिक क्षमता संकुचित भई बालबालिका अन्तर्मुखी र कुण्ठित बन्न थाल्छन्। यहीबाट उनीहरूमा नकारात्मक तनाव सिर्जना भई बालसुलभ खुसी र सिर्जनशीलता हराउँदै जान्छ।

बालबालिकालाई अनावश्यक रूपमा आफ्ना साथीसँग प्रतिस्पर्धी बनाउने वा जिज्ञासा राख्दा निरुत्साहित गर्ने कामका सट्टा सहयोगी एवं समूह कार्य गर्न उत्प्रेरित हुने बानीको विकास गरी दया, माया, करुणा र सहिष्णुताजस्ता मानवीय गुणहरूको विकास गर्न सहयोग पुर्‍याउनु पर्छ। ससाना बालबालिका खेलमा रुचि राख्छन्। त्यसैले उनीहरू अलि बढी चकचक गर्छन्। चकचके प्रवृत्ति बालबालिकाको स्वाभाविक प्रकृति हो भन्ने कुरालाई बुझेर खेलको माध्यमबाट सिप सिकाउने एवं समूहकार्यमा जोड दिने प्रवृत्तिको विकास गरे उनीहरूको मौलिक प्रतिभाले प्रस्फुरण हुने अवसर पाउँछ।

कसको भूमिका कस्तो हुनुपर्छ ?
बालबालिकालाई तनावमुक्त वातावरणमा खुसी हुँदै सिक्न र सहकार्य गर्न अभिभावक, शिक्षक र विद्यालयको महŒवपूर्ण भूमिका रहन्छ। यसका लागि अभिभावकले बालबालिकालाई आफूजस्तो होइन बालबालिकाजस्तै बनाउने उद्देश्य राख्नुपर्छ। उनीहरूका उपलब्धिलाई अन्य बालबालिकासँग तुलना नगरी निःसर्त स्वीकार गर्नुपर्छ। बालबालिकाले कति पढेभन्दा कति खुसी भए र कति सहयोगी र सहिष्णु बन्न सिके भन्ने कुरालाई महŒव दिई उनीहरूको संवेगात्मक विकासमा टेवा पुर्‍याउनुपर्छ। शिक्षकले अबोध बालबालिकालाई रित्तो मस्तिष्क लिएर ज्ञान थाप्न आएका विद्यार्थी हुन् भन्ने भ्रमलाई त्यागेर आफ्नो भूमिका उनीहरूलाई चाहिए जति ज्ञान दिने होइन, उनीहरूमै रहेको क्षमतालाई पहिचान गरी सबलीकरण गर्ने हो भन्ने कुरालाई बुझ्नु अपरिहार्य छ।

बालबालिकाको श्रेणी विभाजन र जिज्ञासा राख्ने कामलाई निरुत्साहन नगरेर उनीहरूलाई बढीभन्दा बढी अभिव्यक्त हुने अवसर प्रदान गरी एकआपसमा सहिष्णुता कायम गर्ने जीवनोपयोगी सीप सिकाउने भूमिका शिक्षकको हुन्छ। यस्तै विद्यालयले विद्यार्थीलाई घोकाएर कुनै तह विशेषको परीक्षामा उत्कृष्ट अंक हासिल गरी आफ्नो विद्यालयको गुणस्तर दाबी गर्ने होइन, बालबालिकालाई खुसी हुन सिकाएर नयाँ कुरा सिक्न प्रेरित गर्नुपर्दछ। यसले बालबालिकामा रहेको तनाव व्यवस्थापनमा निकै सहयोगी भूमिका निर्वाह गर्दछ भने विद्यालय जीवनमा मात्र होइन। विद्यालयपछिको समग्र जीवनमा सन्तुलित, संयमित, सहिष्णु, सहयोगी एवं मानसिक रूपमा स्वस्थ नागरिक बन्ने सुअवसर विद्यार्थीलाई प्राप्त हुन्छ।

अन्यथा बाल्यकालदेखि नै तनावको सामना गर्दै हुर्किएका बालबालिका जीवनभर बेखुसी, चिन्ता, इष्र्या र असहिष्णुताका कारण असंयमित र असन्तुलित अवस्थामा जीवन बिताउन विवश हुन्छन्। हाम्रा बालबालिका शैशव कालदेखि नै तनावको सामना गर्न बाध्य भएको सन्दर्भमा हाम्रो घरायसी वातावरण, विद्यालय र सामाजिक परिवेश बालबालिकाको संवेगात्मक विकासका लागि सहयोगी अनि बालमैत्री बन्नु अति आवश्यक छ।

निष्कर्ष
हरेक व्यक्तिमा जन्मजात केही न केही मौलिक र विशिष्ट क्षमता हुन्छ। यी क्षमतालाई पहिचान गरी उत्प्रेरणा दिन सकेमा व्यक्तिले त्यस क्षेत्रमा विशिष्टता प्राप्त गर्दछ। तर उसको मूल प्रकृति र प्रवृत्ति नबुझी यस्तो र उस्तो बन्नुपर्छ भनेर दिइने अर्ती र गरिने तुलना प्रतितुलनाले व्यक्तिलाई तनावपूर्ण अवस्थामा पुर्‍याउनुका साथै उसको आत्मबलसमेत कमजोर बनाइदिन्छ। अनावश्यक रूपमा प्रतिस्पर्धी बन्न प्रेरित गर्दा व्यक्ति कहिल्यै पनि खुसी बन्नै सक्दैन। यसैले प्रकृतिले कुनै पनि व्यक्तिलाई खोक्रो र रित्तो मस्तिष्कसहित जन्माएको हुन्न। सबैलाई कुनै न कुनै क्षेत्रको विशिष्ट क्षमता दिएकै हुन्छ। व्यक्तिको वैयक्तिक विशेषतालाई सम्मान गर्ने प्रवृत्तिको विकास गरी समाजमा सहयोग, सहकार्य, सहिष्णुता र सद्भावलाई प्रवद्र्धन गर्ने काममा सबैले सहयोग गर्नुपर्छ। यसको सुरुआत हरेक घर तथा विद्यालयमा बालबच्चालाई तनावरहित वातावरणमा हुर्कने अवसर दिलाएर गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.