कोन्टाले विम्बल्डन गुमाउने
लन्डन : बेलायतकी नम्बर एक टेनिस खेलाडी जोहन्ना कोन्टाले विम्बल्डन टेनिस गुमाउने भएकी छन्। उनीसँगै रहेका खेलाडीमा कोरोना पोजेटिभ देखिएपछि कोन्टाले विम्बल्डन गुमाउने भएकी हुन्।
२७औं वरीयताकी कोन्टाले पहिलो खेलमा चेक रिपब्लिककी कट्रिना सिनिआकोभासँग मंगलबार खेल्ने तालिका रहेको थियो। ३० वर्षीया कोन्टा अब १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएको छ। ‘कोन्टाप्रति हाम्रो सहानुभूति छ। उनी चाँडै नै कोर्टमा फर्किन्छिन् भन्ने विश्वास छ’, विम्बल्डनले ट्विट गर्दै भनेको छ।
कोरोना भाइरसको महामारीका कारण गत वर्ष स्थगित विम्बल्डन सोमबारबाट सुरु भएको छ। यस पटक कोरोना प्रोटोकललाई कडाइ गर्दै प्रतियोगिता सञ्चालन गरिएको हो।
यसअघि रोमानियाकी टेनिस स्टार सिमोना हालेप र जापानी खेलाडी नाओमी ओसाकाले पनि विम्बल्डन गुमाइसकेका छन्। विश्व वरीयतामा तेस्रो स्थानमा रहेकी हालेपले चोटको कारण विम्बल्डन गुमाएकी हुन्। २३ वर्षीया ओसाकाले डिप्रेसनका कारण टेनिसबाट केही समय विश्राम लिने बताउँदै विम्बल्डन नखेल्ने बताएकी छिन्। चार पटकको ग्रान्डस्लाम विजेता ओसाकाले यसअघि फ्रेन्च ओपन टेनिसको दोस्रो चरणबाट नाम फिर्ता लिएकी थिइन्।
हालेपले इटालियन ओपनको खेल दौरान चोट बोकेकी थिइन्। देब्रे खुट्टाको पिँडुलामा चोट बोकेपछि उनले फ्रेन्च ओपनसमेत गुमाएकी थिइन्। हालेप विम्बल्डनको साविक विजेतासमेत हुन्। २९ वर्षीया हालेपले सन् २०१९ मा विम्बल्डनको उपाधि जितेकी थिइन्।