असुरक्षित बुहारी
मानिस सामाजिक प्राणी हो। निश्चित सेरोफेरो, संस्कृति र जीवन प्रणाली समेटिएर समाज बनेको हुन्छ। समाजका हरेक सदस्य सामाजिक लक्ष्य पूरा गर्नुलाई नै आफ्नो चेतना विकासको सूचक ठान्छन्। चेतनशील समाज नै त्यस स्थानको महत्वपूर्ण सम्पत्ति पनि हो। यस्तो समाजले त्यस क्षेत्रको हरेक वस्तुको मूल्य उच्च बनाएको हुन्छ। त्यसैले त समाज सुधारका प्रयासमा सरकार र विभिन्न संस्थाले करोडौं रुपैयाँ वर्षेनी खर्चने गर्ने गरेका छन्। चेतनाको विकास, नैतिक उत्तरदायित्व, जात, धर्म, पेशा, भाषा र संस्कार संस्कृतिको संरक्षणले समाजलाई सुन्दर बनाएको हुन्छ। त्यस्तो समाजमा हुर्कने जो कोहीले जीवन जिउने सही पाठ सिक्छन् र व्यवहारमा लागू गर्छन्।
तर, समाजमा हुने गलत संस्कारको विकासले मानिसलाई यतिसम्म क्रूर बनाउँछ कि परिवारभित्रै एकले अर्काको त्रासमा बस्नु/बाँच्नु पर्ने अवस्था पनि आउँछ। पछिल्लो समय हुने आपराधिक क्रियाकलापमा घरभित्रै हुने हत्या र हिंसाका घटनाको तथ्यांक पनि उच्च छ। घरभित्रै एकले अर्काको हत्या गरेका समाचार पनि आइरहन्छन्। त्यति मात्रै होइन, परिवारकै सदस्य मिलेर बुहारीको हत्या गरेका घटना समाजमा नौलो छैनन्। अझै यस्ता घटना तराईका जिल्लामा धेरै हुने गरेको छ। विषेशगरी दाइजो प्रथा र अनमेल विवाहसँग जोडेर बढी हुने यस्ता घटना पछिल्लो समय अन्य कारणले पनि भइरहेका छन्। यस्तैमध्ये पछिल्लो एक उदाहरण हो, महोत्तरीको लोहारपट्टी–७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या। उनको शव घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको अवस्थामा भेटियो। माइतीको जाहेरीमा प्रहरीले उनको परिवारमाथि अनुसन्धान गरिरहेको छ, हत्याको कारण खुलेको छैन। परिवारले अर्कैसँग गएको बताए पनि अवस्था त्यस्तो पाइएन। यस्ता घटनाले तराईका महिला पुनः त्रसित र आतंकित छन्।
तराई–मधेसमा शक्तिशाली पितृसत्तात्मक सोचका कारण अझै पनि महिला घरभित्रै बस्नुपर्ने अवस्था छ। घरायसी कार्यका निर्णयदेखि उच्च निकायमा पुग्नसमेत महिलालाई त्यति सहज छैन। नेपालमा विभिन्न कालखण्डमा भएका ठूला ठूला परिवर्तनहरूमा मधेसको सहभागिता महŒवपूर्ण छ। तर वैधानिक कानुन २००४ देखि नेपालको संविधान २०७२ सम्मले पनि मधेसी महिलाहरूलाई यथेष्ट हक अधिकार दिन सकेको देखिँदैन। महिला हकहितलाई संरक्षण गर्न महिला आयोगसमेत गठन गरिएको छ। आयोगले मधेसी महिलाको समस्या समाधानका लागि अहिलेसम्म उल्लेख्य काम गरेको देखिँदैन। देश संघीय संरचनामा गएसँगै तहमा न्यायिक निकाय छन्। यस्ता न्याय दिने भनेर स्थापना भएका संरचनाले पनि महिलाको पीडामा मलम लगाउन सकेका छैनन्। यस क्षेत्रका महिला अहिले पनि हत्या र हिंसाको सिकार बनिरहेका छन्।
चेतना विकासको महत्वपूर्ण पक्ष शिक्षा हो, तर मधेसका चेलीबेटी अझै पनि शिक्षाबाट वञ्चित छन्। यौनजन्य अपराध बढ्नुको मुख्य कारण यौन शिक्षा र दाइजो नल्याएको निहुँमा हत्या÷हिंसा हुनुमा कानुनको ज्ञान अभाव नै मुख्य कुरा हो। यस्ता घटना बढी हुने क्षेत्रको पहिचान गरी शिक्षा दिने र हत्या हिंसामा सहभागीलाई कडा सजाय दिए धेरै महिलाको ज्यान सुरक्षित राख्न सकिन्छ। ज्यान जाने अवस्थासम्म पुग्नुअघि उनीहरूले कति मानसिक तनाव भोगे ? त्यसको कुनै आँकलन पनि हामी गर्न सक्दैनौं। अहिले पनि विभिन्न कारणले मानसिक रूपमा विक्षिप्त भएर धेरै महिला बाँचेका छन् भन्ने यस्ता घटनाले सहजै अनुमान गर्न सकिन्छ। प्रदेश २ का जिल्लाहरूमा अझै पनि महिला हिंसासम्बन्धी घटनाहरू बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन्।
जबर्जस्ती करणी, शारीरिक यातना, बलात्कारजस्ता महिला हिंसा र हत्याका सिकार ससाना नानीदेखि किशोरी, विवाहित महिला, अधबैंसे महिलासमेत हुने त्यस्ता अध्ययनले देखाउँछ। अवैध दाइजो प्रथा, बहुविवाह लगायतका कारण धेरै महिला घरेलु हिंसाको रापमा पिल्सिरहेका छन्। सामान्य निहुँ र रिसइबीका कारण महिलाहरूले कुटपिट भोग्नुपर्ने र ज्यान नै गुमाउनुपरेका घटना बढ्दैछन्। महिलामा हुने हिंसा र हत्याका घटना रोक्न सामुदायिक विद्यालयका छात्रालाई आत्मरक्षा तालिम दिन सुरु गरिए पनि त्यो क्रम सबै क्षेत्रमा पुगेको छैन। यो राम्रो प्रयास भएकाले यसको विस्तार आवश्यक छ। तहमा बनेका न्यायिक निकायले अन्यायमा परेका महिलालाई खोजेर पनि न्याय दिनुपर्छ। सरकारले लैंगिक हिंसा न्यूनीकरण गर्ने बनेका कानुनको कडाईका साथ कार्यान्वयन गर्नुपर्छ। नत्र अझै धेरै महिलाले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ।