कोभिडको उपहार : नयाँ संस्कार र संस्कृति !

कोभिडको उपहार : नयाँ संस्कार र संस्कृति !

मानवीयताको प्रवद्र्धन गर्न चाहिने भनेको नै आध्यात्मिकताको उदय नै हो जुन कोरोनाकालमा देखिएको छ


विश्व इतिहासमा अनेकौं महामारीलेअनेक ढंगले त्राहिमाम पारे। त्यसबारेमा इतिहासमा लेखिएका सत्य, तथ्य कुराहरू पढ्न पाइन्छ। कोभिड–१९को भाइरसबाट बाँचेकाहरूले कोभिडको त्रासदी, कहर, महामारीको विकराल रूप जे भनौं देख्न पायौं, त्यो पनि इतिहासका लागि यो शताब्दीकै कहालीलाग्दो महामारीको रूपमा सम्झना रहिरहनेछ। कोभिडको नकारात्मक असर कति हो कति भनेरसाध्य छैन। यसले कत्तिको घर रित्यायो, काख रित्यायो, प्रियजन लिएर गयो अनि कतिका अभिभावक। मानिसको आर्थिक, सामाजिक जीवनलाई एक किसिमले भन्ने हो भने तहस/नहस नै बनायो। गाउँ–बस्ती उजाड बनायो। जस–जसलाई मार पर्‍यो, त्यसको दुःख–पीडा भनेर साँधी छैन। नपर्नेलाई कोभिड केही पनि होइन, सामान्य रुघाखोकी त रहेछ नि! भनेर उडाउनेहरूको संख्या पनि कम थिएन।

कोभिडको पहिलो लहरको बेला अस्पताल अव्यवस्थित थियो भने दोस्रो लहरमा केही व्यवस्थित भयो। पहिलो लहरको बेला अन्योल, आशंका, डर, त्रास थियो भने दोस्रोमा आत्मविश्वास, अनुभव र कतिपय अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी,चिकित्सक, सहयोगी, सुरक्षाकर्मीमध्ये कति कोभिडले ग्रस्त भएर पनि मुक्त भइसकेकाले आँट आर्जन गर्न सफल भइसकेको स्थिति थियो। भविष्यमा कुन रूप र शैली दुख्नु पर्ने हो थाहा छैन। खोजकर्ता वैज्ञानिकहरू पनि अलमलमा छन्। कोभिडले मृत्युशैयामा पुर्‍याएको आफन्तजनसँग देख/भेट र अनुहार हेर्नसम्म नपाउँदाको पीडा, आफन्तजनको घरमा गई इष्टमित्र, साथीभाइलाई समवेदना दिन नपाउँदा एवं आआफ्नो रीतिस्थिति, संस्कार र परम्पराअनुसार अन्तिम संस्कार गर्न नपाउँदा कति पीडाबोध भयो होला महसुस गर्न सकिन्छ। नेपाली धर्म–संस्कृतिमा आआफ्नो रीतिथितिअनुसार कसैले बाह्र–तेह्र दिन किरिया बस्ने, कोही केही दिन कोरा बार्ने गर्छन्, सबै जातजातमा आआफ्नै किसिमका चालचलन छन् त्यो पनि सम्पन्न गर्न नसकेर विधि पुर्‍याएर दुई–तीन दिनमै पुरोहितको उपस्थितिमा या पुरोहितबिनै जसोतसो पूरा गरेका अवस्था पनि देखियो। के यो हिजोको दिनमा कसैको मनमा आएको थियो यसलाई पनि समाजले स्वीकार्ला भनेर?

श्राद्ध गर्ने परम्परा भएको घरमा पनि पुरोहितमाथि यजमानको शंका कतै कोभिड सार्ने हुन् कि भन्ने, पुरोहितलाई यजमानको शंकाले हेर्ने। त्यसैले श्राद्ध पनि कतै ‘भर्चुअल’ बाटै सम्पन्न भए। कतै पुरोहितलाई सिधाभाग दिएर त कतै समाजसेवी संस्थाहरूमा भोजन व्यवस्था गर्ने व्यवस्था मिलाएर सन्तोष लिएको अवस्था पनि कोभिडले ल्याइदियो। कुनै शासक, नेता र सुधारकले नसक्ने काम ‘समय र परिस्थिति’को बेगले ल्याइदियो। चाहँदा हुनसक्ने विषयहरूलाई समयको महŒव बुझेर समयमै तिनको सम्पादन गर्न आलेटाले गर्दा आउने परिणाम यस्तै हुन्छ। विगतमा पनि यस्ता केही छिटपुट परिवर्तनकारी घटना नभएका होइनन्। बेलायतकी महारानीसमक्ष नेपालका राजदूतले ओहदाको प्रमाणपत्र बुझाउने काम पनि भर्चुअल भएको देखियो। पहिले कहाँ चिताउन सकिन्थ्यो? कतिपय बेला स्थिति यस्तो पनि आयो रोगभन्दा पनि रोगप्रतिको अन्योल र त्रासका कारण यो रोग के हो? भनेर या चाहिनेभन्दा बढी सम्बन्धित/असम्बन्धित हावादारी समाचार, टिकाटप्पणीको कारण पनि कोभिडका बिरामीले दुःख, पीडा भोग्नु परेको हो भन्ने कुरालाई नकार्न मिल्दैन। समयमा औषधि, अक्सिजन र भेन्टिलेटरको उपयुक्त व्यवस्था मिलाउन नसक्दा अकालमै कतिको ज्यान गयो !

नजानिँदो तरिकाले हेर्दाहेर्दै विश्वव्यापी रूपमा कोभिड–१९ ले एउटा यस्तो विश्वव्यापी नवीन संस्कार र संस्कृतिको उद्भव गराइदियो अब यो कहिलेसम्म रहन्छ कसैलाई थाहा छैन। तर विचारणीय कुरा के छ भने एकपटक मानिसको मन/मस्तिष्कमा प्रवेश पाइसकेको संस्कार र संस्कृतिले आफ्नो ठाउँबाट हट्न समय लिन्छ। यो विगतको इतिहास हेरे थाहा भइहाल्छ। अझ हामी सबै त्यसका उदाहरण छौं। हाम्रै कारण होइन, समयमै हटाउनु पर्ने, फ्याँक्नु पर्ने संस्कृतिभित्रका कतिपय विकृति, विसंगति, रुढीबुढी, अन्धविश्वास एवं अज्ञानतालाई फ्याँक्न ढिलो गरेको, सुधार गर्न खोज्नेहरूलाई पनि अनेक भाँजो र बिध्नबाधा दिएको?हामीले थाहै नपाउने गरी कोभिडले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा उथलपुथल हुने गरी नकारात्मकका साथै पछि गएर केही सकारात्मक संकेतहरू दिन खोजेको देखिँदो छ।

नमस्कार हाम्रो परम्परा होइन भन्नेहरू पनि अब अभिवादनको त्यही शैलीमा अभ्यस्त भए। योग र ध्यानको महत्व विश्वव्यापी संस्कृतिको अभिन्न अंग बन्न पुग्यो। यो महामारीले गरिब मुलुकका अस्पतालहरू पनि चाहिने सामानले सुसज्जित हुन थाले। नयाँ कवि, साहित्यकार, इतिहासकार, उपन्यासकार आदिको उदय भइरहेको छ।

कोभिडपछिको अवस्था पहिलेभन्दा विवेकशील गतिमा हिँड्न सक्ने हुन्छ र दुई वर्षमा बिगारेको/बिग्रेको अवस्थाको केही न केही क्षतिपूर्ति हुन्छ कि भनी आशावादी विचारले बाँच्नेलाई उत्प्रेरित तुल्याइरहेको उत्साहवद्र्धक छ। नयाँ संस्कार र संस्कृतिले अब कसैको घर, डेरा, अपार्टमेन्टमा प्रवेश गर्दा बैठक कोठा देख्न नपाइने बनायो। भेट्दा पनि घरबाहिर या बगैंचामै सीमित हुने भयो। यसरी कतिसम्म चल्ला त्यो कसैलाई थाहा छैन। स्वागत चिया, कफीले नहुने भयो। त्यसको सट्टा मास्क नलगाएको भए लगाउन दिएर आतिथ्य गर्ने, साबुनपानीले हात धुन दिने वा स्यानिटाइजर अघिल्तिर राखेर स्वागत–सत्कार गर्ने परिपाटी विश्वभरछायो। यो गरिबको घरमा पनि अवलम्बन हुने भयो, धनाढ्यको घरमा पनि लागू हुने भयो। गाउँ–सहर सबैतिर यसरी विश्वमा कहिल्यै एकसाथ नवीन संस्कार र संस्कृतिले अनायासै प्रवेश गरेको थाहा थिएन। अब यसलाई मानौं या नमानौं स्वतन्त्रता व्यक्तिविशेषको भए पनि त्यसलाई नकार्न सक्ने क्षमता आर्जन हुन अझै समय कुर्नुपर्ने अवस्था आएकोप्रति कोही विमति होलाजस्तो लाग्दैन।

भिन्न–भिन्न धर्म/संस्कृतिको नाममा छाती–छाती मिलाउने, गाला–गाला मिलाउने, ‘ह्यान्डसेक’ गर्न नछोड्नेहरू पनि नमस्कारतिर ओइरिए। नमस्कार हाम्रो परम्परा होइन भन्नेहरू पनि अब अभिवादनको त्यही शैलीमा अभ्यस्त भए। नमस्कारको अर्थ औपचारिकता मात्र होइन रहेछ यो एक अस्तित्व या आत्माले अर्को अस्तित्व या आत्माप्रति देखाएको सम्मान, आदर रहेछ भन्ने कुरा बुझेपछि अब यो सबैको बन्न पुगेको छ। त्यसैगरी योग र ध्यानको महत्व विश्वव्यापी संस्कृतिको अभिन्न अंग बन्न पुग्यो। यो महामारीले गरिब मुलुकका अस्पतालहरू पनि चाहिने सामानले सुसज्जित हुन थाले। सामान्य पीपीई, ग्लोभ्स नभएर कोभिडको पहिलो लहरमा शंकास्पद बिरामीको राम्ररी उपचार गर्नसमेत हिच्किचाइरहेका या डराइरहेका चिकित्सकहरू र अस्पतालहरूमा अहिले आवश्यक अक्सिजन प्लान्ट, भेन्टिलेटरलगायत आवश्यकीय सामग्रीहरूले गर्दा व्यवस्थित बन्ने सिलसिला पनि सुरु भयो। यो पनि कम उपलब्धि होइन। पहिला चाहेर पनि गर्न नसकेका कामहरूलाई कोभिडले बाध्यात्मक बनाइदियो! नभए त विकसित र सम्पन्न मुलुकहरूमा पनि बिरामीले अस्पतालको बेड नपाएको, अक्सिजन र भेन्टिलेटर जरुरी पर्दा त्यसको अभावमा कैयन्ले ज्यान गुमाउनु परेको नाजुक परिस्थिति बाहिर आए।

फेसनको दुनियाँमा पनि निकै फेरबदल ल्याइदियो। मास्कले मुहार ढपक्क ढाकेर हिँड्ने भएपछि कस्मेटिक खरिदमा मानिसको मन उति जाने भएन। कहीँ अपवादस्वरूप यसभन्दा भिन्न परिस्थिति आउला तर त्यो ठूलो संख्यामा नहुन सक्छ। कोभिडको नयाँ–नयाँ भेरियन्टको डर जतिञ्जेलसम्म रहन्छ, पहिलेको परिस्थितिको पुनरावृत्तिको अवस्था धीमा गतिमै आउँछ त्यो पक्का छ। बन्दाबन्दीमा घरमा बस्न पाउँदा तथा आधुनिक प्रविधिले उपलब्ध गराएको सुविधाको कारण अनेक प्रकारको सृजनाको परिकल्पना मानिसले गरिसक्यो/भइरहेको छ। नयाँ कवि, साहित्यकार, इतिहासकार, उपन्यासकार आदिको उदय भइरहेको छ। आउँदा दिनमा कैयन् अरू विषयमा परिवर्तनको प्रत्यक्ष प्रभाव देखिनेछ– खानाका अनेक परिकारहरू घर–घरमा ख्याल–ख्यालमा कस्तो हुन्छ भनेर बनाउँदा–बनाउँदै नयाँ परिकार बनेकाले विश्वबजारको ‘खानाको परिकार’ मा  पनि अब मेनु फरक आउने छ। यो घर, घरभन्दा बाहिरको रेष्टुरेन्ट, होटलहरूमा समानरूपले व्यवहारमा आउनेछ।

कोभिडले कामका लागि कार्यालय नै गएर काम गर्नुपर्छ र? भन्ने सोचमा परिवर्तन ल्याइदियो। कार्यालयमा जानैपर्ने आवश्यकीय कर्मचारीबाहेक अरू घर–घरमा बसेर काम गर्ने संस्कृतिको विकास हुन गयो। यसले अब कार्यालयको निर्माण र सञ्चालनमा हुने गरेको करोडौं–अरबौं रुपैयाँलाई बचाउन सकिन्छ,फजुल खर्च रोक्न सकिन्छ भन्ने मान्यतालाई सम्पुष्ट तुल्याइदिएको छ। यसले कुनै एउटा मुलुकलाई मात्र होइन, विश्वव्यापी रूपान्तरणमा मद्दत पुर्‍याएको कसैबाट छिपेको छैन। बिजुली, वाइफाइको सुविधा भएको घर–कार्यालय, जहाँकहीँ बसेर काम गर्न सक्ने अबस्थाको सूत्रपात भयो। कुनै निश्चित जिम्मेवारी भएकाबाहेक अरू कार्यालय जानै नपर्ने, तलब लिन जानै नपर्ने, पेन्सिन लिन कार्यालयको मुखै हेर्नु नपर्ने ‘अनलाइन सेवा’ले के अविकसित, के विकसित अधिकांश मुलुकहरूमा नयाँ प्रविधि भित्र्याउन चटारो लगाइदियो। इ–कमर्सको बजारले व्यापकता पायो। कोभिडको सन्त्रासपूर्ण वातावरणमा पनि सामाजिक संस्थाहरू कहीँकतै भोजन, रासन–पानीका लागि त्यति अप्ठेरोमा परेको समाचार कतै सुनिएन। यसको कारण हो– मानिसमा उदाएको दया, माया,करुणा, सेवाभावको उत्सर्जन !

पहिले धेरैजसो मानिसमा धर्मको नाममा साम्प्रदायिक सोच, व्यवहार भइरहेकोमा यस अवधिमा आध्यात्मिक भावना जागरण भएको देखियो। यो अत्यन्त राम्रो सुरुआत हो। मानवीयताको प्रवद्र्धन गर्न चाहिने भनेको नै आध्यात्मिकताको उदय हरेकको हृदयमा हुनु हो। जात, वर्ण, रंग,सम्प्रदायभन्दा माथि उठेर मानवीय काम गर्न सकिए नै मानवताको प्रवद्र्धन छिटो गतिले हुन सक्छ। यद्यपि धनी राष्ट्रहरूले आफूलाई चाहिने ठूलो परिमाणका औषधिलगायत भ्याक्सिनहरू भण्डार गरेर राख्ने, अविकसित एवं गरिब राष्ट्रहरूले भने विभिन्न कारणले त्यसलाई समयमै नपाउने अवस्थामा रहेको दुर्भाग्य आफ्नो ठाउँमा नभएको होइन। त्यसो भए पनि अहिलेको महामारीमा एक राष्ट्रले अर्को राष्ट्रलाई परिआउँदा आवश्यकीय सामग्री सहयोगस्वरूप उपलब्ध गराएको सन्दर्भलाई उत्साहवद्र्धक मान्नुपर्छ। विश्व स्वास्थ्य संगठनको भूमिका पनि सराहनीय रह्यो। कोभिडको कारण देशकै सीमा बन्द गरेर मानिस कसरीसम्म बस्न सक्दो रहेछ? राष्ट्रिय/अन्तर्राष्ट्रिय हवाइयातायात, सडक यातायात आदि निषेध गरेर विपदाको कसरी सामना गरिदोरहेछ भन्ने कुराको द्रष्ट्रा र साक्षी आज बाँचेका व्यक्तिहरू बन्न पुगे। यो पनि एउटा उपलब्धि नै हो।

अधिकांशको हात–हातमा मोबाइल र यसमा समेटिएको प्रविधिको कारणले झन्डै दुई वर्षको हाराहारीमा अनेकौं प्रकारका बन्दाबन्दी, निषेधाज्ञालगायत यावत् प्रकारका सामाजिक दूरी कायम गर्नु पर्दाको अवस्था आयो। त्यसबेला मोबाइलले पुर्‍याएको सुविधा अबका दिनमा अझ अरू अनेकौं सुविधायुक्त प्रविधितर्फ लम्कने परिस्थितिलाई उर्वर बनाइदिएको छ। प्रविधिसँग घनिष्ठ हुने दिन अरू व्यापक हुनेछ। किनभने क्वारेन्टाइन र बन्दाबन्दीले मानिसलाई प्रविधिसँग थप घनिष्ठ बनाइदियो। यसबेलाका साथी–संगाति जे भनौं आफन्तजनसँगको सम्पर्कको माध्यम नै त्यही बन्यो/बनिरहेछ। यसको दुरूपयोग नहुने सदुपयोग हुने संस्करण भविष्यका लागि प्रभावकारी हुने कुरामा विश्व आशावादी बनेको छ। कोभिडले भित्र्याएको नयाँ संस्कार र संस्कृतिले मानवताको प्रवद्र्धन एवं सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकै छ। मानिसको प्राकृतिक स्वभाव अनुसारको जीवन निर्वाहमा विकसित प्रविधिहरूको सही सदुपयोग गरेर मनुष्य जीवनको जीवन्तता प्रकृतिको उचित प्रकारले संरक्षण, सम्वद्र्धन गर्नमै हुन्छ। चेतना र विवेक जगाउने काममा सबैको ध्यान जानु त्यत्तिकै जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.