सुदूरपश्चिम सरकारले दियो निजीलाई ५ करोड अनुदान
टीकापुर : सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिलाई ५ करोड अनुदान दिने भएको छ। कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिका–१० पहलवानपुरस्थित यो फार्मको नाम प्रदेशको बजेटसहित हालै जारी रातो किताबमै उल्लेख गरी अनुदान दिन लागिएको हो।
कोल्ड स्टोर निर्माण गर्न अनुदान दिन लागेको जनाइएको छ। यद्यपि, झन्डै ४ हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर गत फागुन २७ गतेदेखि सञ्चालनमा छ। यो फार्म २०७२ सालदेखि सञ्चालन भएको हो। यसका सञ्चालक १ सय १ जना छन्। झन्डै १७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको कोल्ड स्टोरका लागि प्रदेश सरकारले रकम विनियोजन गरेको हो। यसमा सो क्षेत्रका अधिकांश समाजसेवी, व्यापारी, राजनीतिकर्मी र पेशाकर्मी सञ्चालक छन्।
यसको नेतृत्व पहलवान सिंह मेमोरियल माविका शिक्षक रामबहादुर रावतले गर्दै आएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि भीम बडुवालका अनुसार मोहन्याल सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेका रावतकै नेतृत्वमा कोल्ड स्टोर निर्माण भएको हो।
रावत अध्यक्ष रहेको उक्त सहकारी देशकै उत्कृष्ट सहकारीका रूपमा सम्मानित भएको थियो। सहकारीको सफल व्यवस्थापनपछि रावतले उक्त प्रालिका नामबाट गाईपालन गरेका थिए। ‘क्रिएटिभ काम गर्ने शिक्षक रावतले ठूलो गाई फार्म सञ्चालन गरेका थिए’, नेता बडुवालले भने, ‘भौतिक संरचना अझै रहे पनि गाईपालनमा सफल नभएपछि कोल्ड स्टोर निर्माण सुरु गरिएको हो।’ बडुवालले किसानका उत्पादन भण्डारण गर्ने सुदूरपश्चिमकै ठूलो कोल्ड स्टोर निर्माण भएको बताए।
फार्मका सदस्यसचिव खड्क रावतका अनुसार संस्थाले नेपाल बंगलादेश बैंकबाट ११ करोड रुपैयाँ ऋण लिएको छ। रिज्म नामक एक गैरसरकारी संस्थाले ९ महिनामा कोल्ड स्टोर निर्माण सम्पन्न गर्ने गरी ३ करोड रुपैयाँ लगानी गरेपछि कोल्ड स्टोर निर्माणको काम सुुरु भएको थियो।
फार्मले नौ महिनामा २ करोड १२ लाख रुपैयाँबराबरको काम मात्रै सम्पन्न गरेपछि कोल्ड स्टोर अलपत्र परेको थियो। सदस्यसचिव रावतले संस्थापक सेयर सदस्य प्रतिव्यक्ति १ लाख, अन्य सदस्य प्रतिव्यक्ति ५१ हजार र न्यूनतम ५० हजार रुपैयाँको सेयर सञ्चालकलाई दिइएको बताए। उनका अनुसार फार्मले प्रांगारिक मल कारखानासमेत सुरु गरेको छ।
भारतबाट आउने सामान समयमा नआउँदा निर्माण कार्यमा ढिलाइ भएको रावतले बताए। ‘सामान नै नपाइने, पाएको सामानसमेत गत वर्षको लकडाउनमा भन्सारमै पाँच महिना थन्किएपछि समयमा सकिएन’, रावतले भने, ‘समग्र किसानका उत्पादनलाई लक्षित गरी निर्माण गरिएको कोल्ड स्टोर निर्माणका लागि हामीले व्यापारीसँग नगद र सामान उधारोमा ल्याएका छौं।’
सो क्षेत्रका प्रदेश सांसद अमर साउदको पूर्वाधार विकास कार्यक्रमबाट ५ लाख रकम पाए पनि राज्यले यसअघि कुनै अनुदान नदिएको सदस्यसचिव रावतले बताए। ‘२०७४ सालदेखि नै मुख्यमन्त्री, विभागीय मन्त्री, सांसद, संसदीय समितिहरूसँग पटक–पटक छलफल चलाउँदै आएका थियौं’, उनले भने, ‘यस वर्ष प्रदेश सरकारले रातो किताबमै ५ करोड अनुदान दिने भनेको छ। यसले हामीलाई केही राहत हुनेछ।’
घोडाघोडी र गौरीगंगा नगरपालिकाका किसानलाई लाभ पुग्ने गरी फार्म सञ्चालनमा गरिएको उनले बताए। फार्मका अध्यक्ष रामबहादुर रावतले रिज्मको अनुदानबाट सुरु गरिएको कोल्ड स्टोर निर्माणको डिजाइन, स्टिमेट, लागत समय फरक परेका कारण कोल्ड स्टोरमा ठूलो लगानी लागेको बताए।
उनका अनुसार ९ करोड ३८ लाख लागतमा सम्पन्न हुने कोल्डस्टोर निर्माणसम्पन्न हुन १७ करोड लागेको छ। फर्मलाई कृषि ज्ञान केन्द्र कैलालीले पनि सहयोग गर्दै आएको छ। गत वर्ष ९ लाख १५ हजार रुपैयाँ भौतिक संरचना निर्माणका लागि सहयोग गरेको थियो। गत वर्ष नै घोडाघोडी नगरपालिकाले ६ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष रावतले बताए।
‘सुुरुवातमा थोरै पिलरसहित निर्माण गरेर ९ करोड ३८ लाखमा सम्पन्न हुन्छ भनिएको थियो’, अध्यक्ष रावतले भने, ‘२ शय ६४ वटा पिलर ४० फिट गहिराइमा गाडेर निर्माण गर्दा, भन्सारमा सामान थन्किएपछि हाम्रो लागत बढेको हो।’
शिक्षक रहेका रावतले कोल्ड स्टोर सञ्चालनका लागि दुई वर्षदेखि विद्यालयबाट बेतलबी बिदा लिएका छन्। उनको बेतलबी बिदा यही असार २० गते सकिँदै छ। घोडाघोडी र गौरीगंगा नगरपालिका एक घरः एक सदस्य रहने गरी उक्त फर्मलाई पब्लिक कम्पनी बनाउने निर्णय भएको अध्यक्ष रावतले बताए।