आधा शताब्दी बढीको पर्खाइपछि ८२ वर्षीया वृद्धा जेफ बेजोससँग अन्तरिक्ष जाँदै
न्यूयोर्क : साठी वर्ष पहिले अन्तरिक्ष यात्राका लागि तालिम लिएकी वाली फङ्क अन्तरिक्ष जाने भएकी छन्। ८२ वर्षीया फङ्कले संसारकै धनी जेफ बेजोससँग अन्तरिक्ष यात्रा गर्ने भएकी हुन्।
बेजोसले फङ्कलाई यात्राका लागि छनोट गरेसँगै उनी अन्तरिक्ष जाने भएकी हुन्। यात्रामा बेजोसका भाइ मार्क बेजोस र अर्का व्यक्ति रहने बताइएको छ। ती व्यक्ति भने अहिलेसम्म छनोट भइसकेका छैनन्।
फङ्कले अन्तरिक्ष यात्राका लागि आधा शताब्दीभन्दा बढी पर्खिनु परेको सीएनएनले जनाएको छ।
फङ्कले ‘मर्करी १३’ कार्यक्रम अन्तर्गत सन् १९६१ मा स्वयम्सेवा गरेकी थिइन्। साथै १३ जना महिलाहरूले अन्तरिक्ष यात्राको तालिम लिँदा उनीसमेत सहभागी भएकी थिइन्। नासाले त्यसबेला ७ जना पुरुषलाई मर्करी कार्यक्रमका लागि छनोट गरेको थियो। त्यतिबेला उनी तालिम लिनेमध्ये सबभन्दा सानो उमेरकी थिइन्।
सो समय फङ्कलाई ‘अन्य व्यक्तिभन्दा राम्रो चाँडो कार्य सम्पन्न गरेको’ भनिएको थियो। उनले आफूले अन्तरिक्ष यात्री बन्ने सपना बुनेको र नासाले चारपटकसम्म पास गराउँदा पनि आफूलाई कसैले अन्रिक्षका लागि नलगेको बताएकी छन्। ‘मैले माथि जान सक्दिन भनेर कहिल्यै सोचिन’, उनले भनिन्, ‘यदि तपाईँ चाहनुहुन्छ भने तपाईँ के हो वा को हो भनेर मतलब राख्दैन, म सधैँ भन्ने गर्थेँ। अनि म यस्तो काम गर्न चाहन्छु कि जुन पहिले अरू कसैले नगरेको होस्।’
फङ्कसँग १९ हजार ६ सय घण्टा एयरक्राफ्ट उडानको अनुभव रहेको छ। त्यस्तै उनले हालसम्म ३ हजारभन्दा बढीलाई एयरक्राफ्ट उडाउन सिकाएकी छिन्। यद्दपि यो अनुभव भने अन्तरिक्ष यात्रामा उनलाई आवश्यक छैन।