काख रित्तिएको काठमाडौं
कोभिड–१९ को दोस्रो लहरले आक्रान्त, अस्तव्यस्त, अन्यौल, व्यथित र शोकाकुल काठमाडौंमा वैशाख २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला राख्दा पहिलेजस्तो उत्साह, उत्तेजना भएन। एयरपोर्टबाट बाहिरिने बित्तिकै घर बाहिर विचरण गर्ने हतारो पनि थिएन यसपालि। विमानबाट अवतरण गरेपछि आगमनको औपचारिकता निभाउनुअघि पल्टनमा भर्ना हुन लाइनमा लागेका रिकुटे शैलीमा विमानस्थलको मैदानमा उभिरहने सबैजसोको अनुहार उत्साहहीन नै देखें। दृष्टि दोष थियो वा यथार्थ ? निक्र्यौल गर्ने पनि मन भएन। बेचैनीपूर्वक पट्यारलाग्दो प्रतीक्षापश्चात् विमानस्थलको प्रकृया पूरा गरी ट्याक्सीमा निवासतिर गइरहँदा महसुस गरें, काठमाडौं सुनसान छ। चुपचाप छ। उदास छ। आक्रान्त छ। आतंकित छ। निराश छ। उदास छ। उदासिन छ।
काठमाडौंलाई काष्ठमण्डप भनिन्थ्यो। आजकाल काठमाडौं भन्छन् धेरैले। काठमाण्डु पनि भन्छन् कोहीकोही। अंग्रेजीमा त काठमाण्डु नै भन्ने लेख्ने गर्छन्। काठमाडौंमा आउने पहिलो विदेशी को थियो होला ? त्यो खोजीको विषय होला। तर हिप्पी युगमा काठमाडौंमा ह्यासिस खुल्लम खुल्ला बिक्री हुँदा हिप्पीहरूको ताँती लागेको पढ्न पाइएको थियो। अमेरिकी गायक वव सेगरले त सन् १९७० मा काठमाडौं आएर गीतै गाइदिए :
आइ थिंक आई एम गोइङ टू काठमाण्डू
ह्वेयर आई एम गोइङ टू
ईफ आइ एभर गेट आउट अफ हेयर
ह्वाट्स ह्वाट आई एम गोन्ना डू
यो गीतको माध्यमले पश्चिमा जगत्मा काठमाडौंको उदात्त अनुहारको परिचय पुग्यो। गीतको दृष्यमा गायकका टोलीका सदस्यहरू र विदेशीहरूले गाँजा तानेको र पर्यटकहरू भौतारिएका चलचित्रका दृष्यमा काठमाडौंको त्यसबेलाको अनुहार देखिन्छ। काठमाडौं चलायमान देखिन्छ। तर त्यतिबेलाको कम जनसंख्याको काठमाडौंको चलायमानता जति पनि छैन अहिले त निषेधाज्ञा र लकडाउनका आदेशले। कोरोनाको त्रासले। दुई हप्तासम्म क्वारेन्टाइनमा बसेपछि निस्कें घरबाहिर। बिहान ९ बजेसम्म किराना दोकान र तरकारी फलफूल दोकान खु्ल्ने भएपछि चलायमानताको अनुभव हुन थाल्यो। तर ९ वजेपछि फेरि सुनसान। चुपचाप। चकमन्न।
काठमाडौंको चरित्र सुनसान होइन। चुपचाप होइन। चकमन्न होइन। हिमालदेखि तराईसम्मका सबैले एकसाथ कोरस गाउने चौतारो हो काठमाडौं। नारा लगाउने थलो हो काठमाडौं। पृथ्वीनारायण शाहले आफ्नो समयमा देश निकाला गरे पनि २०४६ सालपछि गल्ली गल्लीमा खुलेका चर्चमा हुने इसाई प्रार्थनासमेत थपिएपछि पशुपतिनाथको शंख, घण्टा र स्वयम्भूनाथ बौद्धनाथका ओममणि पद्मे हुँ माथि थप कोलाहल मिसियो। गौरांगहरू नै हरेराम हरेकृष्ण गर्दै सडक सडकमा हिँड्न थालेपछि थप कोलाहल हुने नै भयो। चुपचापको मात्रा त्यसले पनि घटाउने नै भयो।
अनि घामका किरणले गणेश हिमालको निधारमा चुम्बन गरेपछि काठमाडौंको जीवन सुरु हुन्छ। कोलाहलसँगै काठमाडौंको दिनचर्या अघि बढ्छ। काठमाडौंले पुनर्जीवनको आभास पाउँछ। त्यतिबेला सुनसान, चुपचाप र उदास काठमाडौं बेपत्ताा हुनेछ।
अहिले ती सबै शान्त छन्। चूपचाप छन्। छाल तरंग जन्माउने पानी जमेर हिउँ बनेपछि कसरी होस् हल्ला, हल्ली खल्ली र सुनियोस् कोलाहलको हुण्डरी ! मेची–महाकाली, हिमाल, पहाड, तराई हरेक ठाउँका जनजनको एउटै र अन्तिम आकांक्षा–
गन्तव्य काठमाडौं।
पढाइको राम्रो अवसरका लागि– काठमाडौं।
जागिरको राम्रो अवसरका लागि– काठमाडौं।
देशको राजधानी– काठमाडौं।
सरकारको राजधानी– काठमाडौं।
राजनीतिको राजधानी– काठमाडौं।
साहित्यको राजधानी– काठमाडौं।
पत्रकारिताको राजधानी– काठमाडौं।
विदेश जाने प्रस्थानविन्दू– काठमाडौं।
विदेशबाट फर्कने आगमन विन्दु– काठमाडौं।
राम्रा अस्पतालहरू भएको ठाउँ– काठमाडौं।
राम्रा डाक्टरहरूको हब– काठमाडौं।
काठमाडौं अपरिहार्य छ। काठमाडौं अपरिहार्य बनाइयो। यो अपरिहार्यताले काठमाडौंलाई कोलाहलमय बनाइदियो। सबैलाई नभइ नहुने भयो काठमाडौं। तर यस्तो काठमाडौंलाई माया गर्ने पात्र भने देखिएनन्। रैथाने काठमाडौंको अनुहार बदलियो। रैथाने भावभंगीमा परिवर्तन भयो। रैथाने माथि बाहिरियाको अतिक्रमण बढ्यो। माया गर्ने रैथानेहरू बाहिरियालाई काठमाडौं सुम्पन थाले, अलिअलि गर्दै। टुक्रा टुक्रामा। अंश अंशमा। किस्ता किस्तामा। बाहिरियाहरू काठमाडौंलाई माया गर्ने मूडमै पुग्दैनन्। पानीको अभाव। ढलको अभाव। फोहरको डंगुर। प्रदूषणको विषाक्तता ! घरबेटीको दुव्र्यवहार। महँगो भाडा ! खोजेजस्तो जागिरको अभाव ! अनन्त: गुनासैगुनासाका चाङ। कसरी होस् प्रेम पनि काठमाडौंसँग ! गुनासाका डंगुरमा बसेर कसोरी गर्नू काठमाडौंलाई माया ?
काठमाडौंको नियति गजबको छ। काठमाडौं नआई हुँदैन हरेकलाई। विकल्पहीन ठान्छन् काठमाडौंलाई सबले। तर चाडबाड आउने बित्तिकै काठमाडौं खाली हुन्छ। भूईंचालो आउने बित्तिकै काठमाडौं खाली हुन्छ। कोरोना आउनासाथ काठमाडौं खाली हुन्छ। आउने पहिलो रोजाई भएको काठमाडौं, केही तलमाथि हुने बित्तिकै जाने पनि पहिलो नै हुन्छ काठमाडौं। यो सहरलाई माया गरेर कोही लडिबुडी गर्दैन, किन ?
काठमाडौंलाई आदिकवि भानुभक्तदेखि आजका एक्काइसौं शताब्दीका उत्तारआधुनिक कविसम्मले कविता लेखनको प्रेरणाको स्रोत बनाएकै छन्। भानुभक्तले ‘अलापुरी कान्तिपुरी नगरी’ भनेको काठमाडौं अब अहिले कुन रूपको छ, भानुभक्त आफैं अवतरण भए भने कस्तो ठान्लान्?
बिहानको सिर्सिरे बतास खाँदै सिनामंगलदेखि तीनकुनेको बागमती पुलछेउको तरकारी बजार पुगें। तीनकुनेको फूटपाथले रूप फेरेछ। रंग फेरेछ। रंगीन भएछ। वैंशले भरिएको युवा जोशमा छ तीनकुने अचेल। फूटपाथको जीवनले काँचुली फेरेछ। पूर्वतिरको बदलिएको फूटपाथबाट आँखा पश्चिमतिर लगें। अहो ! विरूपताको पराकाष्ठा पो देखियो, बागमतीको निर्माणाधीन पुलका लागि ठड्याएका विरूप पिल्लर, ढलान र त्यसमाथि महाविरूपता प्रकट गरिरहेका खियाले सखाप हुँदै गएका फलामका डण्डीहरू। राजधानी सहरको मूलबाटोमा यस्तो विरूपताको निर्लज्ज प्रदर्शन दुनियाँको कति मुलुकमा सहज देख्न पाइने होला ! यो चिन्ता र चिन्तनको कुनै अर्थ नै छैन।
करिब एक दर्जन वर्ष भयो, यो निर्लज्ज विरूपताको प्रदर्शन भएको ! यसबीच कति सरकार परिवर्तन भए। यो बाटोबाट राष्ट्र प्रमुख, सरकार प्रमुख, तालुकवाला मन्त्रीहरू, तालुकवाला विभागका अधिकारीहरू, विपक्षी दलका नेता र आलोचक कार्यकर्ताहरू कति दर्जन पटक ओहोरदोहोर गरे होलान् ? के ती सबैको आँखामा फुलो परेको होला त ? हुन त मिडियाले बेलाबेलामा भन्छन्, पुल नबनाउने ठेकेदारहरूले नेताहरूलाई नि:शुल्क बासको प्रबन्ध गरिदिन्छन् रे। काखमा राखेर घोटे चौथी खुवाउँछन्, पिलाउँछन् रे। यो सत्य असत्य के हो धर्तीले जानोस्। आकाशले जानोस्। तर नबनेको अधकल्चो पुलको दुर्दशा त निर्लज्ज प्रदर्शन भएकै छ। भन्छन्, भिजन नभएका नेताहरू, अनुशासन र पद्दतिमा नचलेका पार्टी भएको देशमा यस्तै हुन्छ। यो जान्ने जिम्मा पनि समस्त जनले तिनैलाई दिएका छन्। दर्जनौं वर्ष अधकल्चो बसेको पुलको निर्माणका लागि ठडिएका खियाले सखाप फलामे रडले यही कथा वाचन गरिरहेछन्, सुनाइरहेछन् वाग्मतीको पानीमा मिसिएको हरकको मौन झंकारसहित।
काठमाडौंलाई काठमाडौं भन्छन्। दाममाडौं भन्छन्। धूलोमाडौं भन्छन्। हिलोमाडौं भन्छन्। भ्रष्टमाडौं भन्छन्। सुनमाडौं भन्छन्। जजसले मनमा मुखमा जे आयो, त्यही अनुसारको कुरूप उपमा दिन्छन्। गालीको बमवर्षा गराउँछन्। काठमाडौंको प्रतिकृया केही छैन। देशको अनुहार फेर्ने वाचा बन्धन तोड्नेहरूलाई पनि उसले छाती फराकिलो बनाएरै बसेको छ। मञ्जुश्रीको तरवारले चोभारको पहाड काटेर उपत्यकाको कुण्डबाट पानी बगाइदिएको श्राप लागेर हो कि ? काठमाडौंले काकाकूल बन्नू प¥यो, वर्षौं वर्ष। त्यो सराप मोचन भएको छैन। व्यापारीलाई त राम्रै भो, खोलाको पानी जारमा ओसारेर काठमाडौंको आँत भिजाउने काम गरेर राम्रै कमाइ बटुले। मेलम्चीको सपनाले त काठमाडौंलाई अधमरो नै बनाइदियो। सरकार फेरिए, मन्त्रीहरू फेरिए, आयोजना प्रमुखहरू फेरिए। मेलम्ची आएन। मेलम्चीको पानी आएन। मेलम्चीको पानीले सडक पखालेर काठमाडौंलाई सिंगापुर बनाउने सपनामा पनि ग्रहण लाग्यो। पूर्ण खग्रास। ढिलोगरी हतारहतार आयो आउन त मेलम्चीको पानी, तर बाढीको विनासले मेलम्चीकै सातो हराएको बेला छ। कुन झाँक्रीले वा वनझाँक्रीले सातो फर्काउने हो थाहा छैन।
काठमाडौंले रूप बदल्छ बेलाबेलामा। काठमाडौं नेपाल भैदिन्छ। नेपाल सरकार भैदिन्छ। अनि ऊ नेपाल देख्दैन काठमाडौं मात्र देख्छ, काठमाडौंलाई मात्र नेपाल सम्झन्छ। उसले आममान्छे देख्न छोड्छ, दृष्टि लोप हुन्छ। भोकानांगा देख्न छोड्छ। उसले सुन्न छोड्छ। पीडाका चित्कारहरू उसको कानभित्र प्रवेश गर्दैन। उसको घ्राणशक्ति बेपत्ता हुन्छ। बागमती र टुकुचा कसको बढी कुईगन्धे हरक छ छुट्याउन सक्दैन। नयाँ सडकमा बेलाबेलामा थाक लागेको फोहरको डंगुर उसले देख्दैन, त्यसको दुर्गन्ध उसको नाकभित्र छिर्दैन। यस्तो पार्विक उत्सवमा उसलाई रमाउने बानी पारेको छ। त्यसैले त उसले गाली खान्छ, आमाचकारी गाली खान्छ। तर काठमाडौं त त्यही हो। काठमाडौंको के गल्ती ? काठमाडौंको मौलिकताका विनासकर्ताहरू नै गाली गर्न सबैभन्दा अगाडि हुन्छन् जुलुसमा। खाली सिसी पुराना कागजको शास्त्रीय गानले काठमाडौंका गल्ली गुञ्जायमान हुन्छन्।
पानी धारामा आउँदैन, काठमाडौंले गाली खान्छ।
बिजुलीको लाइन गइरहन्छ, काठमाडौंले
गाली खान्छ।
लोडसेडिङ हुन्छ, काठमाडौंले गाली खान्छ।
पीच गरेको सडक भोलिपल्टै भत्किन्छ, काठमाडौंले गाली खान्छ।
अस्पतालमा बेथिति हुन्छ, काठमाडौंले गाली खान्छ।
हड्ताल हुन्छ, काठमाडौंले गाली खान्छ।
सडक जाम हुन्छ, काठमाडौंले गाली खान्छ।
के काठमाडौंको अस्तित्व गाली खानकै लागि हो ?
खाडी देशहरूबाट बन्द बाकसमा आउने मृत सपनाको ताँती देखेर काठमाडौंको गह भरिन्छ, तर कसैले देख्दैन। नगर प्रहरीले फूटपाथका दोकानलाई पटकपटक ध्वस्त बनाइरहन्छन्, ती सामान गुमाउनेको पीडामा काठमाडौं हिक्का छोड्छ, तर कसैले देख्दैन। वन्द भएका डान्स रेष्टुराँका नर्तकीहरू विलखबन्दमा छन्, डिप्रेसनमा पुगेका छन्। काठमाडौं तिनको व्यथामा व्यथित हुन्छ। तर उसको नियतिमा गाली छ। मात्र गाली सुन्छ, काठमाडौं प्रतिकृयाविहीन बन्छ तर कसैले गम्दैन। अहिले त झन् लकडाउनले चुपचाप छ। जुलुस घटेका छन्। ट्राफिक जाम घटेको छ। सडकको फोहर घटेको छ। मन्दिरका घण्टहरू बज्न छाडेका छन्। खाली सिसी पुराना कागजका कोरस वन्द भएका छन्। चुपचाप, सुनसान, उदास त काठमाडौंको चरित्र नै होइन। सधैं ठट्टा र उखानले हँसाइरहने नेता गम्भीर हुँदा नसुहाए जस्तो काठमाडौंलाई यो कसरी सुहाउँथ्यो र !
खाडी देशहरूबाट बन्द बाकसमा आउने मृत सपनाको ताँती देखेर काठमाडौंको गह भरिन्छ, तर कसैले देख्दैन। बन्द भएका डान्स रेष्टुराँका नर्तकीहरू विलखबन्दमा छन्, डिप्रेसनमा पुगेका छन्। काठमाडौं तिनको व्यथामा व्यथित हुन्छ।
टुँडिखेलको पूर्वतिर लहरेपीपलका बोट लगाउँदा काठमाडौं दंग परेको थियो। तिनीहरू हुर्कँदै अग्लिँदै जाँदा काठमाडौं प्रसन्न हुन्थ्यो। साँझको सिर्सिरे बतासले तिनका पातहरू बजेको सुनेर रमाउँदै साँझ विहान पैदल हिँड्नेहरूसँगै काठमाडौं रमाउँथ्यो। रुख हुर्किए। जवान भए। वयस्क भए। बूढा भए। ढले। ढालिए। मक्किए। सक्किए। नयाँ रुख रोप्ने चेतना पनि मक्किए। ढले। लहरेपीपलको पातको संगीत बज्ने र सिर्सिरे बतासले स्पर्श गर्ने ठाउँ धूलो र प्रदूषणले लियो। र काठमाडौंका लागि गाली बन्यो, धूलोमाडौं। तर धूलोमाडौं नहुन पनि काठमाडौंको कारण छैन। धूलोमाडौं हुनमा पनि काठमाडौंको हात छैन। तर गाली खाने नियति भने काठमाडौंकै भागमा परेको छ।
जब जब वर्षा लाग्छ, काठमाडौं व्यथित हुन्छ। खेतबारीका आदिम हरियाली सम्झेर। रोपाईं सम्झेर। जुँगा निस्कन थालेको मकैका घोगा सम्झेर। अहिले त खेतमा धान लहराउँदैन। बारीमा मकै लहराउँदैन। घरैघर लहराइरहेको छ। हरियाली विगत भएको छ। इतिहास भएको छ। टोनी हेगन नेपाल आए के भन्लान् ? सिल्भा लेभी नेपाल आए के भन्लान्। त्यसो त काठमाडौंले विश्वका विशिष्ट पाहुना स्वागत गर्न नपाएको जुग हुन लागिसक्यो। बेलायतकी महारानी आएको झल्झल सम्झन्छ। विभिन्न राष्ट्रका प्रमुखहरू आएको झल्झल सम्झन्छ। अहिले एक्काइसौं शताब्दीमा झन् फराकिलो र उदात्त हुनुपर्नेमा उत्तर र दक्षिणमा मात्र अल्झिरहेको छ।
कुनै बेला मान्छेको काँधमा चढेर आएथ्यो मोटरकार काठमाडौं। तर अहिले त वर्षे भेलजस्तो बाढी जस्तो उर्लेर आउँछन् मोटर, कार, ट्रक, मोटरसाइकल, यावत् साधनहरू र मजाले निर्धक्क धुम्रपान अम्मलीले लामो सर्को तानेर छोडेजस्तो धुवाँ ओकल्छन् तिनले स्वतन्त्रतापूर्वक। हिउँद लाग्ने याममा देखिने हुस्सुको, कुहिरोको ठाउँ तिनले लिएका छन् र काठमाडौंलाई सास फेर्न गाह्रो हुन्छ। निसासिन्छ। उकुस मुकुस हुन्छ। काठमाडौंको यो पीडा कस्ले बुझ्ने ? कुनै प्रजातन्त्र, गणतन्त्र, केके जाती तन्त्र कसैले कहिल्यै बुझेन। बुझ्ने प्रयत्न गरेन। गल्ली गल्लीका छोयला पसल, ग्वारामरी पसल, हलुवा पुरी स्वारी हराउँदै गएको छ। विलुप्तिको विन्दु छेउछाउ पुगेको छ। तिनको ठाउँ पत्रु खाना– चाउचाउ र बर्गरले लिएको छ। बारा हराएको छ। फोसा संस्कृति हराएको छ, उल्टो टिप्स अर्थात् बकस संस्कृति उदाएको छ। काठमाडौं निख्खर नेपाली, काठमाडौंली खानाको स्वाद खोज्न गल्ली गल्ली चहार्छ। ममचा हराएर मोमो आएको छ। ममचाको स्वाद मोमोमा कहाँ पाउनु ? काठमाडौं विलखबन्दमा छ।
लकडाउन खुल्छ। पूरै खुल्छ। खुल्नै पर्छ। अनि त फेरि काठमाडौं गुल्जार हुन्छ। हल्ला गुल्जार हुन्छ। काठमाडौंलाई गाली गर्दै सराप्दै जिल्ला जानेहरू यही काठमाडौं फर्किनेछन्। गाउँ जानेहरू आउनेछन्। काठमाडौं फेरि आउँछु भन्नेहरू आउनेछन्। काठमाडौंलाई माया गर्छु भन्नेहरू आउनेछन्, भलै तिनको माया नक्कली नै किन नहोस्। काठमाडौं फर्केर आउँदिन भन्नेहरू पनि आउनेछन्, भलै तिनले गरेको गाली र सराप तिनको मनमा आलो नै किन नहोस्। काठमाडौं चुप लाग्नै सक्दैन। चुपचाप काठमाडौंको स्वभाव होइन। शान्त हुनु काठमाडौंको चरित्र होइन। एकलास रहनु काठमाडौंको नियति रहेन। होइन।
बिउँतिन्छ आदिम काठमाडौं गाईजात्रामा। ईन्द्रजात्रामा। मच्छिन्द्रनाथको रथयात्रामा।
गठेमंगलको नरकटको घोडामा। ईन्द्रजात्रामा रमाउने बानी नभएको भए पृथ्वीनारायण शाहले कसोरी बिस्तारित गर्थे गोर्खालाई आजको नेपालमा। काठमाडौं इतिहासमा बाँच्छ, भूगोलमा बाँच्छ, विगतमा बाँच्छ। आगतबाट भने बेखबर छ। कहिले कुन भुईंचालोले कस्तो ताण्डव नृत्य देखाउने हो पत्तो छैन। धरहरालाई काठमाडौंको नाक भन्छन्। भैँचालोले काठमाडौंको नाक धेरैपल्ट भाँचिदिएको छ। अंगभंग तुल्याइदिएको छ। काठमाडौं धेरैपल्ट अधमरो भएको छ। तर पनि बाँचेकै छ। काठमाडौंको जीजीविषा पत्याइनसक्नुको बेजोडको छ।
काठमाडौंलाई आदिकवि भानुभक्तदेखि आजका एक्काइसौं शताब्दीका उत्तरआधुनिक कविसम्मले कविता लेखनको प्रेरणाको स्रोत बनाएकै छन्। भानुभक्तले ‘अलापुरी कान्तिपुरी नगरी’ भनेको
काठमाडौं अब अहिले कुन
रूपको वा कति कुरूप छ, भानुभक्त आफैं अवतरण भए भने कस्तो ठान्लान्, देख्लान्, भन्लान् त्यो अनुमान गर्नुको कुनै तुक छैन। माने छैन। अर्थ छैन। उपादेयता छैन। काठमाडौंलाई अमेरिकी कवि विलियम स्टयाफोर्डले कस्तो देखे ? जापानी कविहरू सुन्तारो तानिकावा, सासाकी मिकिरो वा यौनवादी कवयित्री हिरोमी ईतोले कस्तो देखिन् ? वा इटालियन उपन्यासकार अलवर्तो मोराभियाले कस्तो अनुभूत गरे ? खोजी गरे पत्तो पाउन सकिएला। तर अमरिकी विट सन्तती कवि गेरी स्नाइडर आउँदाको काठमाडौं र लकडाउनको काठमाडौं उस्तै पो थियो कि ? गेरी आउँदा नेपाल त्रास र सन्त्रासमा थियो। संसारमा प्रलय हुन्छ, विश्व विनास हुन्छ भनेर पूजा पाठ गर्दै थिए काठमाडौंलीहरू। कोटी होम भइरहेको देखेका थिए गेरीले। तर संसार बाँच्यो। बच्यो। जीवन फरकफरक शैलीमा, फरकफरक लयमा, फरकफरक तौरतरिकामा चलायमान भयो। डोलायमान भयो। झरीपछिको इन्द्रेनी भयो।
अब पनि काठमाडौं चुपचाप बस्दैन। कसरी बस्न सक्छ चुपचाप। निराश भएर पनि काम चल्दैन। कसरी काम चल्छ निराश भएर। उसलाई गाली पचेको छ। सराप पचेको छ। घृणा पचेको छ। असन्तुष्टि पचेको छ। पशुपति आर्यघाट रित्तो हुँदा पनि काठमाडौं उस्तै हो। लास जलाउन लासको लाम लाग्दा पनि उही हो। शाही सलामी चढाउने लास आए पनि के फरक पर्ने हो र काठमाडौंलाई। कोरोनाले मृत्यु हुनेहरूका आफन्तले अन्तिम श्रद्धाञ्जली दिन नपाए पनि उही हो काठमाडौंलाई। तिनलाई सेनाले सलामी दिए पनि उही हो। काठमाडौं निरपेक्ष बनिदिन्छ कहिलेकाँही।
तर आकाश उदात्त छ। धरती उदात्त छ। जीवन उदात्त छ। समय उदात्त छ। संग्लिनेछ मेलम्चीको पानी पनि बाढी घटेपछि। अनि सुरु हुनेछ नारा जुलुस। आन्दोलन जारी हुनेछ। सरकार परिवर्तन हुनेछ वा थमौती हुनेछ। मृतकका आफन्तहरूले क्रियाकर्म सक्नेछन्। बरखी बार्नेहरूले एक वर्षपछि त फुकाउनेछन, बरखी पनि। रुनेहरू हाँस्न थाल्नेछन्। बिहान उठ्ने बित्तिकै झ्यालबाट हिमाल देख्न पाइने राजधानी सहर कति देशमा होला ? खोजीकै विषय बन्ला। तर नेपालको राजधानीमा यो छ। काठमाडौंमा यो छ। बिहान सखारै काठमाडौं उठेपछि गणेश हिमाललाई देख्ने वरदान पाएको छ। चराको चीरबीर, सिर्सिरे बतास, हल्का हुस्सु। यी सबले काठमाडौं फूर्तिलो हुन्छ। काठमाडौं ताजा हुन्छ। काठमाडौं चलायमान हुन्छ।
अनि घामका किरणले गणेश हिमालको निधारमा चुम्बन गरेपछि काठमाडौंको जीवन सुरु हुन्छ। कोलाहलसँगै काठमाडौंको दिनचर्या अघि बढ्छ। काठमाडौंले पुनर्जीवनको आभास पाउँछ। त्यतिबेला सुनसान, चुपचाप र उदास काठमाडौं बेपत्ता हुनेछ।