युरोकप फुटबल : स्पेन र इटाली सेमिफाइनलमा प्रवेश
स्पेन र इटाली युईएफए युरोकपको सेमिफाइनलमा प्रवेश गरेका छन्। क्वाटरफाइनलको पहिलो खेलमा स्पेनले स्विजरल्यान्ड र दोस्रो खेलमा इटालीले बेल्जियमलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हन्।
शुक्रबार राति भएको खेलमा स्पेनले स्विजरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको हो। खेलको पहिलो हाफको सुरुवातमै स्विजरल्यान्डको आत्मघाती गोलसँगै स्पेनले १–० को अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन पुगेको थियो।
१–० ले पछि परेको स्विजरल्यान्डका लागि सेर्डान साकिरीले गोल गर्दै टिमको आशा जिवित राखे। उनले खेलको ६८औँ मिनेटमा गोल गरेका थिए। स्पेनका खेलाडीलाई लडाएर खेलको ७७औँ मिनेटमा स्विजरल्यान्डका रेमो फ्रिलर रातो कार्ड पाएर बारिएपछि दबाबमा परेको थियो। तर निकै दबाब दिन सकेको स्पेनले कुनै गोल भने थप्न सकेन।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा दुबै टिमले गोल गर्न सकेनन्। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।
उता दोस्रो क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २–१ गोलले पराजित गर्यो। खेलको ३१औँ मिनेटमा इटालीका निकोलो बारेलाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ४४औँ मिनेटमा लोरेन्जो इसिग्नेले अर्को गोल थप्दै अग्रता दोब्बर पारे।
पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै इटालीको अग्रता छोट्याए। तर दोस्रो हाफमा उसले थप गोल गर्न नसक्दा इटालीलाई नतिजा सुम्पियो।
बाँकी क्वाटरफाइनलका खेल चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्यान्डबीच शनिबार राति हुनेछन्।