वैरागी काइँलाको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ उर्फ वैरागी काइँलाको स्वास्थ्यमा सुधार हुन थालेको छ। उनलाई मस्तिष्कघात भई एक साताअघि काठमाडौंको ओम अस्पतालमा भर्ना गरिएको थियो।
उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन्। उनलाई अहिले सघन उपचार कक्षबाट वार्डमा सारिएको छ। सुरुमा शरीरको दायाँ भाग नचल्ने भएको तथा राम्ररी बोल्न पनि नसक्ने भएका उनलाई तत्काल अस्पताल लगिएको थियो। अहिले सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको उनकी छोरी नामोती नेम्बाङले जानकारी दिइन्।
काइँला नेपाली साहित्यमा आयामेली आन्दोलनका हस्ती, वरिष्ठ कवि एवं मुन्धुम् दर्शनका आधिकारिक व्याख्याता हुन्। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य प्रा.डा.हेमनाथ पौडेललगायत अस्पताल पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।