रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको निधन
मलंगवा : सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको आइतबार बिहान निधन भएको छ ।
रामनगर गाउँपालिका वडा नंं १ खैर्वा निवासी बर्माको आइतबार बिहान १२ बजे निधन भएको गाउँपालिकाका पूर्व निमित्त प्रशासकीय अधिकृत रामपुकार महतोले जानकारी दिएका छन् । काठमाडौं भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा रहेका बर्माको ७२ वर्षको उमेरमा निधन भएको हो ।
गत १४ गते स्वास्थ्यमा खराबी आएपछि उनलाई उपचारको लागि काठमाडौं लगिएको थियो । लामो समयदेखि मधुमेह, उच्चरक्त चाप र मुटुको रोगी रहेका बर्माको १० दिन अगाडीदेखि नै स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्य अवस्थामा समस्या आएपछि १४ गते काठमाडौं लगिएको थियो ।
बर्मा २०७४ सालमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
बर्माको पार्थिव शरीरलाई गाउँमा ल्याएर धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिने अध्यक्षका भाइ राजकुमार श्रीवास्तवले जानकारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष बर्माको श्रीमती र एक छोरा रहेका छन् ।