राउटेको कथामा ‘कदम’
काठमाडौं : लोपोन्मुख फिरन्ते राउटे समुदायको बारेमा लेखिएको उपन्यास ‘कदम’ बजारमा आएको छ। लेखक तथा पत्रकार अनन्त वाग्लेद्वारा लिखित ‘कदम’ मा राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुखदुःख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाइएको छ।
लेखकले राउटे समुदाय बस्ने कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यानलगायत जिल्लाका जंगलमा लामो समय स्थलगत अध्ययन गरी उपन्यास तयार गरेका छन्। ‘कदम’ काठमान्डु पब्लिकेसनले भर्खरै बजारमा ल्याएको हो। आफूहरूलाई ‘जंगलका राजा’ भनेर चिनाउने राउटे समुदायका बारेमा थुप्रै गैरआख्यान प्रकाशित भए पनि यसबारे यो पहिलो आख्यान भएको प्रकाशकले जनाएको छ।
साहित्यिक पाठकका साथै समाजशास्त्र, मानवशास्त्र र शिक्षाशास्त्रमा रुचि राख्ने तथा यी क्षेत्रमा कार्यरत सबैका लागि यो उपन्यास अत्यन्त उपयोगी रहेको छ। पृथक् विषय र उत्कृष्ट भाषाशैलीका साथ प्रकाशित यसले नेपाली साहित्यमा विशेष महŒव राख्ने पब्लिकेसनको भनाइ छ। ३ सय १६ पृष्ठको यो उपन्यासको मूल्य ४ सय रुपैयाँ राखिएको छ। पुस्तक राजधानीका प्रमुख पुस्तक पसलका साथै किताबयात्रा डटकममार्फत् अनलाइन खरिद गर्न सकिनेछ।