थाइल्याण्ड: विमानस्थल नजिकैको कारखानामा विस्फोट हुँदा एकको मृत्यु २७ घाइते
बैंकक: थाइल्याण्डको राजधानी बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोट हुँदा एउटा प्लास्टिक कारखाना ध्वस्त भएको छ ।
जहाँ एकजनाको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइते छन् । घटनास्थलबाट माथि आकासमा ३५ किलोमिटर टाढासम्म धुवाँको मुस्लो उडेको दृश्य देखिएको स्थानीय मिडियाले जनाएका छन् ।
स्थानीय समय अनुसार सोमबार बिहान ३ बजे सुवर्णभुमि विमानस्थल नजिकै विस्फोट भएको थियो । घटनास्थलबाट घाइतेहरुको उद्वार भइरहेको छ ।
"हामीसँग २७ जना घाइते भएका छन् । र एकजनाको मृत्यु भयो । मृत्यु हुने अग्नि नियन्त्रक थिए," बाङ ली जिल्लाका प्रमुख अधिकारी सोमसक काएसेनाले भनेका छन् ।
घटनास्थलबाट ५०० मानिसलाई सुरक्षित स्थानतर्फ लगेर दुई ठाउँमा सेल्टर गरिएको बताइएको छ । यस्तै स्थानीयहरुलाई घटनास्थल नजिक नजानका लागि सचेत गराउँदै माइकिङ समेत गरिएको छ । यद्यपि के कारणले विस्फोट भयो भन्ने यकिन भइसकेको छैन ।