तालिवानसँग झडपपछि १००० अफगान फौज भागेर ताजिकिस्तान पुगे
काबुल: तालिबान विद्रोहीसँगको झडपपछि एक हजार भन्दा धेरै अफगानी सैनिकहरु भागेर छिमेकी ताजिकिस्तान पुगेका छन् ।
पछिल्लो समय उत्तरी अफगानिस्तानका दर्जनौँ जिल्लाहरु तालिबान समूहको कब्जामा रहेका खबर आइरहँदा यस्तो घटना भएको हो ।
अमेरिकाले शुक्रबार बाग्राम आधार शिविर अफगानिस्तान सेनालाई हस्तान्तरण गर्दै आफ्ना सेना फिर्ता लैजाने घोषणा गरेपछि अफगान सेनाले सामना गरेको यो पहिलो र ठूलो चुनौती हो ।
ताजिकिस्तानको राष्ट्रिय सुरक्षा समितिले १०३७ जना अफगान सैनिक तालिबानसँग भीडन्तपछि रातको समयमा ज्यान बचाउन आफ्नो इलाकामा प्रवेश गरेको जानकारी दिएको छ ।
असल छिमेकीको सिद्धान्तलाई ध्यानमा राख्दै अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नहुने गरी अफगान फौजलाई आफ्नो इलाकामा प्रवेश दिइएको ताजिकिस्तानबाट जारी विज्ञप्तिमा उल्लेख छ । अफगान फौजहरु यसअघि पनि यस्तै झडपको क्रममा तालिबान नियन्त्रित सीमा पार गर्दै भागेर ताजिकिस्तान पुगेका थिए ।
काबुलस्थित विश्लेषक अत्ता नूरीका अनुसार यस घटनाले अफगान फौजले आफ्नो मनोबल गुमाएको छ । "तालिबानले कब्जा गरेका लगभग सबै जिल्लामा उनीहरु अन्योल छन् । उनीहरु सिपाहीहरुसँग कुरा गर्न र आत्मसमर्पण गर्न टोली पठाउने गर्छन्" उनले भने ।
साथै अफगान सरकारका लागि यो एक संकटको अवस्था भएको समेत विश्लेषकहरुको टिप्पणी छ । अमेरिकाले अफगानिस्तानमा आफ्नो सेना तैनाथ गरेको २ दशकपछि पूर्ण रुपमा फिर्ता गर्न लागिरहँदा तालिबान विद्रोहीले पनि हमला तिब्र पारेको छ ।
अमेरिकामा जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि सेप्टेम्बर ११ सम्ममा आफ्ना सबै सैनिक फिर्ता लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । मे महिना सुरु भएसँगै अमेरिकाले बाँकी रहेका २५ सय सैनिकलाई फिर्ता लैजाने प्रक्रिया सुरु गरेको हो ।
यद्यपि अफगान शान्ति वार्ता सम्पन्न नहुँदै र तालिबानी समूहको प्रभाव बाक्लो भइरहँदा अमेरिकी फौज फिर्ता गर्न नहुने केही विश्लेषकहरुको भनाइ छ ।