सहकारीलाई हचुवामा ब्रान्ड

सहकारीलाई हचुवामा ब्रान्ड

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित संयुक्त रूपमा दिँदै आएको प्रोबेसन ब्रान्डबाट विभाग पछि हटिसकेको छ। 

दाङको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिनाको समाचार बाहिरिएसँगै नेफ्स्कुनको लेखापरीक्षणमाथि प्रश्न चिह्न खडा भएको छ। नेफ्स्कुनले प्रोबेसन ब्रान्डका लागि तीन/तीन महिनामा नियमन गरी लेखापरीक्षण गर्छ। तर महाप्रभुको समस्या बाहिरिएसँगै नेफ्स्कुनले दिँदै आएको ब्रान्ड हचुवाको भरमा रहेको खुलेको हो। 

प्रोबेसन ब्रान्ड प्राप्त गर्न सहकारी लालायित हुन्छन्। कतिपय सहकारीले ब्रान्डका लागि धेरै प्रयत्न गर्दा पनि नेफ्स्कुनले अपनाउँदै आएको मापदण्ड पूरा गर्न नसकी ब्रान्ड प्राप्त गर्नबाट वञ्चित हुन्छन्। प्रोबेसनमा जाने सहकारीलाई नेफ्स्कुनले कारोबारका आधारमा ५० हजारभन्दा माथि शुल्क लिन्छ। कतिपय सहकारी ब्रान्डका लागि पैसा खर्च गर्न पनि उत्साहित हुन्छन्। 

महाप्रभु सहकारी गत पुस २७ गते अन्य तीन सहकारीसँग मर्ज भई देउखुरी बचत तथा ऋण सहकारी बनेको थियो। नेफ्स्कुनकै पदाधिकारीको उपस्थितिमा तामझामका साथ एकीकरण हुनुका साथै नेफ्स्कुनमै कार्यरत सीएसमेतले लेखापरीक्षण गरेको सहकारीमा समस्या देखिँदा प्रोबेसन ब्रान्डसमेत विवादित बन्दै गएको छ। 

५ करोड २७ लाख घोटाला काण्डमा राप्ती गाउँपालिका अध्यक्षसहित सहकारीका दुई कार्यकालका पदाधिकारी लेखा समितिका पदाधिकारीसहित कर्मचारी र सफ्टवेयर कम्पनीका समेत २५ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ। चार जना थुनामा छन्। गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी उक्त सहकारीको लेखा समिति संयोजक (२०७१–२०७४) मा थिए। 

नेफ्स्कुनले महाप्रभुलाई २०७६ र २०७७ मा गरी लगातार दुई वर्ष ब्रान्ड दिएको थियो। तर प्रोबेसन ब्रान्ड पाएको केही समयमा संस्थाको घोटाला प्रकरण बाहिर आएको हो। ब्रान्ड दिने क्रममा नेफ्स्कुनबाट वरिष्ठ लेखापरीक्षक प्रेम वाग्ले र सीएसमेत रहेका दीपक अर्यालले महाप्रभुको लेखापरीक्षण गरेका थिए। गत पुस २७ गते भएको एकीकरण सभामा नेफ्स्कुनका महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरु पुगेका थिए। 

नेफ्स्कुनको लेखा परीक्षणको वैधानिकता तथा क्षमतामा पनि प्रश्न उब्जिएको छ। महाप्रभुकै काण्डले नेफ्स्कुनको प्रोबेसन ब्रान्ड पारदर्शी नभएको पुष्टी गरेको छ। बाराको सगरमाथा साकोसका अध्यक्ष भोलाप्रसाद गौतमले प्रोबोसन ब्रान्ड हचुवाको भरमा गर्न नहुने बताउँदै आएका छन्। नेफ्स्कुनले वित्तीय विवरण राम्रोसँग हेर्नभन्दा पनि आडम्बर शैलीमा हप्काउने प्रवृत्ति रहेको उल्लेख गरेका छन्। 

गत पुसमै मर्ज सम्पन्न भए पनि देउखुरीले महाप्रभुसहितको एकीकृत कारोबार सुरु गरेको छैन।  देउखुरी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेश चौधरीले मर्ज भइसकेको  भए पनि मर्ज नभएकाले कारोबार मिक्स नभएको बताए। ‘वासलात नमिलेपछि हामीले स्वीकार गर्ने कुरो भएन।’ उनले भने। नेफ्स्कुनका सीएले डीडीए गर्दा पनि कमजोरी नभेट्नु शंकास्पाद भएको बताए। बचत, दायित्व नमिलेपछि  खोजबिन गर्न अनेक प्रयास गर्दा पनि सफ्टवेयर कम्पनीले पनि सहयोग नगरेको आशंका उब्जेको उनको भनाइ छ। 

महाप्रभुको लेखापरीक्षण गरेका लेखा अधिकृत प्रेम वाग्ले भ्याएसम्म इन्डेफ्ट परीक्षण गर्ने गरेको बताए। ‘कुनै समय म गएँ, कुनै समय अरू गएर लेखा परीक्षण गर्नुभएको हो’ उनले भने।

नेफ्स्कुनका प्रशासकीय प्रमुख सञ्जयराज तिमिल्सेनाले २०७१ देखि नै समस्या देखिँदै आएको र क्रमशः बढ्दै गएको बताए। ‘महाप्रभुको केसले नयाँ टुइस्ट आएको छ’ उनले भने, ‘प्रोबेसनमा फरक रिस्क आएकाले नेफ्स्कुन सजग भएको छ।’ 

सहकारी विभागका पूर्वरजिस्ट्रार सुदर्शनप्रसाद ढकालले नेफ्स्कुनले छानबिन गरी यथार्थ बाहिर ल्याउन चुनौती दिएका छन्। नेफ्स्कुनका तत्कालीन प्रशासकीय प्रमुख शिव अधिकारीले नेफ्स्कुनको लेखा परीक्षणको विश्वसनीयतामा प्रश्न उठेको बताए। प्रोबेसन ब्रान्डका लागि तीन/तीन महिनामा हुने नेफ्स्कुनको लेखा परीक्षण खस्किएको फिल भइरहेको उनले बताए। ‘बदमासी भएको छ, अब नेफ्स्कुनले के गर्छ भन्ने प्रश्न तेर्सिएको छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.