अप्रियको पर्याय राजनीतिक दल !

अप्रियको पर्याय राजनीतिक दल !

राजनीतिक दलका नेता र कार्यकर्ताको व्यवहार र अभिव्यक्ति शैलीमा सुधार आवश्यक छ


नेपालका राजनीतिक दलहरू दिनानुदिन कमजोर र अप्रिय बनिरहेका छन्। उनीहरूप्रति जनविश्वास घट्नु र आलोचना बढ्नु यसको कारण हो। एउटा दलको मात्र कुरा होइन। नेपालका ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सानोमा राप्रपा एवं नेकपाका विभिन्न घटकहरू सबै आन्तरिक विवादमा फसेका छन्। सबैको आन्तरिक जीवन तरल र भविष्य अन्योल बन्दैछ। सबैभन्दा हाँसो लाग्ने अवस्था त लोकतन्त्र र विधिको शासनको सारथी बनेका राजनीतिक दलहरू महाधिवेशन गर्ने अवधि गुजारेर अवैधानिक जीवन बाँचिरहेका छन्। लोकतन्त्रका सारथी दलहरूको यो हविगत हुनु आफैंमा लाजमर्दो विषय हो।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकपटक उनको माउपार्टीविरुद्ध सान्दर्भिकता सकिएको भनी अभिव्यक्ति दिएका थिए। पुराना दलहरूमाथि विश्वास घट्दै गएपछि अहिले फेरि यस्ता प्रश्नहरू उठाउन थालिएको छ। दलहरूको विरुद्धमा आवाज उठ्ने, तीखा टिप्पणीहरू हुने र पुराना शक्तिलाई आऊ भनेर उक्साउने प्रयास दिनहुँजस्तो भइरहेको छ। जनतामा रहेको निराशा राजनीतिक दलहरूको भूमिका प्रभावकारी हुन नसक्नुको परिणाम हो। हुनत राजनीतिक दलप्रतिको असन्तुष्टि नेपालमा मात्र होइन, विश्वभरि नै छ। भारत होस् वा अमेरिका, राजनीतिक प्रणाली र सत्तारूढ दलप्रति असन्तुष्टि बढ्न थालेको छ। बेलायत र रूसमा पनि असन्तुष्टि देखिँदै छ। स्वीडेन, नर्वे, डेनमार्क तथा चीनमा सरकार र सत्तारूढ दलप्रतिको विश्वास घटेको छैन, सन्तुष्टिको मात्रा पनि उच्च छ।

नेपालले अवलम्बन गरेको लोकतन्त्र दलहरूले शासन सञ्चालन कलामा प्रतिस्पर्धा गरेर जनताको नजरमा अब्बल साबित हुनुपर्ने व्यवस्था हो। राजनीतिक दलले जनमुखी काम गर्नु अनिवार्य छ।

राजनीतिक दलहरू र लोकतान्त्रिक प्रणलीप्रतिको विश्वास घट्दो अवस्थामा रहेको कुरामा चिन्तित भएर राजनीतिशास्त्रीहरू अध्ययनमा लागेका छन्। ओस्लो विश्वविद्यालयकी एलिजावेथ बेक र बाइ स्कुल अफ बिजनेसका निक सिकरले सन् १९९२ देखि २०१२ सम्म राजनीतिक दल किन असफल हुन्छन् भन्ने विषयमा केन्द्रित भएर अध्ययन गरे। सन् २०१३ मा सार्वजनिक भएको उनीहरूको प्रतिवेदनमा जोखिम लिन नचाहने अर्थात् जनताका सामुन्ने अप्रिय भए पनि सत्य बोल्न नचाहने कारणले दलहरू असफल हुँदै गएको निष्कर्ष निकालिएको छ। निष्कर्ष छ, पार्टीको संगठन बलियो हुँदा र अरूसँग सहकार्य गर्दा दलमाथि विश्वास बढ्छ। विभाजन र असहिष्णुले विश्वास घटाउँछ। त्यसैले दलको संगठन बलियो र कार्यक्रम जनमुखी हुनुपर्छ। यथार्थ कुरा नबताएर जनताबीच चिप्लो कुरा गर्ने र खुसी पार्न झूठा आश्वासन बाँड्ने गर्नु हुँदैन।

अर्का राजनीतिशास्त्री पेट्रिक लिडियान्डले सन् २०१९ मा राजनीतिक दलमा समस्या भन्ने शीर्षकमा गरेको अध्ययनको निष्कर्ष अमेरिकाको विल्सन सेन्टरमा सार्वजनिक भएको छ। नागरिकलाई अनिवार्य रूपमा मतदानमा सहभागी गराउने वातावरण बनाउन सके दलहरूप्रति विश्वास बढ्ने उनको निष्कर्ष छ। निजी–सार्वजनिक साझेदारीमा परियोजनाहरू सञ्चालन गरेर तथा दलका भातृ संगठनलाई राज्यले सहयोग गरेर राजनीतिक दललाई बलियो बनाउन सकिन्छ। उनी भन्छन्, अहिले विश्वमा जनपरिचालन र जनआन्दोलनको माध्यमबाट दलहरूविरुद्ध आवाज उठाउने र विकल्प खोज्ने प्रयास भइरहेको छ। यसबाट भविष्यमा मजदुर युनियनहरू राजनीतिक दलको विकल्पको बन्न सक्ने सम्भावना छ। किनकि उनीहरू संगठित हुन्छन्। आधारभूत तहका जनता उनीहरूको साथमा हुन्छन्। दलहरूको लोकप्रियता बढाउन भातृ संस्थालाई जनताको सेवामा परिचालन गर्नु र सेवा प्रवाहलाई चुस्त बनाउनु पर्छ, उनको सुझाव छ।

चिनियाँ अध्येता जेङ जु वाङले सन् २००३ देखि २०१६ सम्म अमेरिका, भारत, अष्ट्रेलिया, चीन, जापान र रूसको राजनीतिक अवस्था र सरकारप्रति जनताको सन्तुष्टिका विषयमा तुलनात्मक अध्ययन गरेका छन्। उनले ३१ हजार मानिसको मतलाई नमूना मानेर गरेको अध्ययनको निष्कर्ष (सन् २०२० अगस्त २५ मा सबचाइना डटकम अनलाइनमा प्रकाशित) छ, सरकारले शिक्षा, स्वास्थ्य र सार्वजनिक सुरक्षाको क्षेत्रमा राम्रो गरेमा लोकप्रियता हाँसिल गर्नेछ। तर, भ्रष्टाचार बढ्ने र नेताहरूले मतदाताको हितमा काम नगर्ने प्रवृत्ति बढेमा जनतामा असन्तुष्टि फैलिन्छ। नेपालमा दलहरूप्रति जनतामा किन निराशा बढिरहेको छ भन्ने विषयमा व्यवस्थित अध्ययन भएको छैन। ससाना मुद्दामा जनता आन्दोलित हुने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढिरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन अहं भूमिका खेल्ने दलहरू र त्याग एवं बलिदानको इतिहास भएका नेताविरूद्ध असन्तुष्टि फैलाउने काम भइरहेको छ। सरकारको कामकारबाही अपेक्षित रूपमा सशक्त हुन सकेन, भ्रष्टाचार र दण्डहीनता बढेको गुनासो छ। ठूला र जिम्मेवार राजनीतिक दलप्रति मात्र होइन, संघीय लोकतान्त्रिक प्रणालीप्रति नै नकारात्मक टिप्प्णी हुन थालेको छ।

बौद्धिक वर्ग र नागरिक समाज विभाजित र कमजोर छ। आमसञ्चार माध्यम पनि कमजोर छ। यिनले जनताको आवाज सही किसिमले मुखरित गर्न सकेका छ्रैनन्। नागरिक समाजले सही कामका लागि दवाब दिने र मार्गदर्शन गर्ने भूमिका गर्न सकेको छैन। तिनको भूमिका राजनीतिक दल र उच्च नेतृत्वविरुद्ध नकारात्मक धारणा फैलाएर आत्मतुष्टि लिनमा सीमित छ। फलतः सरकार, दल र नवस्थापित प्रणालीविरुद्ध जनमत बनाउने काम भइरहेको छ। प्रणाली स्थापित गर्न होइन, बदनाम गर्न भूमिका खेलिरहेका छन्। दलहरू विभाजित मनस्थितिमा छन्। आन्तरिक एकता कमजोर छ। नेताहरू भागबन्डामा केन्द्रित देखिन्छन्। तिनीहरूलाई एकापसमा मिलेर अघि बढ्न नागरिक समाजले दबाब दिन सकिरहेको छैन। बरु नेताहरूलाई गालीगलौजमा लाग्न ताली बजाएर उक्साउने काम गरिरहेको छ। आमसञ्चार माध्यम पनि नेताको गालीको सम्वाहक मात्र बनेका छन्। तिनका सामग्री एकअर्काप्रति गाली र नकारात्मक टिप्पणीले भरिएका छन्। सकारात्मक कामको खोजीमा लाग्ने प्रवृत्ति घटेको छ।

दलीय क्रियाशीलताको विश्लेषण गर्ने हो भने कतिपय दलको सांगठानिक पद्धति नै जाम छ। सांगठनिक गतिविधि शून्य छ। केही नेताहरू मात्र यताउता गरिरहेका छन्। देश र जनताको निमित ठोस कार्यक्रम ल्याउन चाहेका देखिँदैन। केवल सत्तास्वार्थ र कुर्सीलाई लक्ष्य बनाएर एकनासले लागिरहेको देखिन्छन्। केपी ओली नेतृत्वको एमालेको सरकार बनेपछि जनतालाई सपना देखाउने र मुलुकको भविष्यप्रति आशावादी बनाउने काम भएको हो। तर, विपक्षी दल र आन्तरिक असहयोगको कारण ती सपनाहरू लागू गर्ने बाटोमा सरकारलाई द्रूत गतिमा अगाडि बढ्न सहयोग गरिएन। पार्टीभित्रैबाट घेराबन्दी र अराजनीतिक आक्रमण गरियो। यस प्रवृत्तिका कारण सरकारले अपेक्षित गतिमा काम गर्न सकेन। जनतामा निराशा छाएको छ। फलस्वरूप राजनीतिक अन्योल देखा परेको छ। यही मौकामा एकथरी मानिसले सरकार र दलहरूप्रति मात्र होइन, संघीय लोकतान्त्रिक प्रणालीप्रति नै औंलो ठड्याउने वातावरण बनिरहेको छ।

नेपालका राजनीतिक दलभित्रका उर्जाशील हुनुपर्ने युवा पुस्ता पनि आशातित रूपमा सक्षम देखिएका छैनन्। निमा आमरूपमा मुखले नेतृत्व दाबी गर्ने अनि बुढानेताको फेर समाएर अगाडि बढ्न चाहने प्रवृत्ति छ। उनीहरूको छुट्टै छवि र व्यक्तित्व निर्माण बन्न सकेन। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी कुनैमा पनि युवाहरू विकल्पको हैसियतमा देखिएका छैनन्। केवल विपक्षीलाई गाली गर्ने, चर्को भाषण गर्ने र हुलहुज्जत गरेर नेता खुसी पार्नेबाहेक जनजीविका सवालमा संवेदनशील भएर सशक्त रूपमा अगाडि बढ्न सकेको छैन। उनीहरूमा अन्तरपार्टी समन्वय कला पनि छैन। उनीहरूको भाषणमा नीतिभन्दा बढी गाली हुन्छन्। उनीहरूमा सकारात्मक व्यवहार देखिएको छैन। सकारात्मक सोच र व्यवहार नभएको नेताले मुलुक बनाउन सक्दैन भन्ने कुरा तिनले बुझेजस्तो छैन।

उत्तरी छिमेकी चीन राजनीतिक निरन्तरता र दूरदर्शी सोचका साथ अगाडि बढिरहेकोे छ। दल र सरकारबीच उच्च समझदारी छ। सी जिङ पिङलाई नेता मानेर जान जनता तयार छन्। माओत्सेतुङपछि उच्च स्तरको विश्वास उनीप्रति देखिएको छ। त्यसैले विकासको गति र जनतामा सन्तुष्टिको मात्रा चीनमा एकदमै धेरै छ। आधारभूत तहका जनताको हितमा समर्पित भएर लाग्नु नै सफलताको सूत्र हो भन्ने कुरा चिनियाँबाट सिक्न सकिन्छ। जनतालाई विकास र समृद्धि चाहिएको छ। युवा पुस्ता खेल, मनोरञ्जन र प्रविधिको प्रयोगमा रमाइरहेको छ। नागरिकले सामाजिक सञ्जाल र आमसञ्चार माध्यमको प्रयोगबाट सूचना प्राप्त गर्छन्। त्यसैबाट धारणा बनाउँछन्। नेताका भद्दा भाषण घन्टौं पर्खिएर सुन्ने धैर्य कसैमा छैन अब। चिनियाँहरूले बदलिँदो मनोविज्ञान बुझेर काम गरिरहेको देखिन्छ। प्रविधिको प्रयोग गर्दै उत्पादनको काममा लाग्न नागरिकलाई प्रोत्साहित गरिरहेका छन्।

नेपालले अवलम्बन गरेको लोकतन्त्र दलहरूले शासन सञ्चालन कलामा प्रतिस्पर्धा गरेर जनताको नजरमा अब्बल साबित हुनुपर्ने व्यवस्था हो। राजनीतिक दलले जनमुखी काम गर्नु अनिवार्य छ। दलहरूको आन्तरिक जीवनमा अन्तरपुस्ता एकता र सम्मानको वातावरण बन्नुपर्छ। राजनीतिक दलका नेता र कार्यकर्तामा सेवाभाव विकास हुनुपर्छ। नेताको साधा जीवन नै जनताले रुचाउँछन्। महँगा गाडी र भव्य महलले जनविश्वासमा हिलो छ्याप्ने काम गर्छ। त्यागी नेतालाई सम्मान गर्ने हाम्रो संस्कार छ। अहिले राजनीतिको आवरणमा विकृति देखिएर नै जनतामा निराशा बढेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.