जर्मनीले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाँउदै
जर्मनीले कोभिड-१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हटाउने भएको छ । पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारेन्टाइनमासमेत बस्नु नपर्ने बताइएको छ। खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ। तर उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारेन्टाइनबाट बाहिरिन पाउने छन्।
हालसम्म यी पाँच राष्ट्रहरूलाई डेल्टा भेरिअन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण 'भाइरस भेरिअन्ट एरियाज'का रूपमा वर्गीकरण गरिएको थियो। उक्त भेरिअन्ट सुरुमा भारतमा पहिचान भएको थियो।
जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो।
यी पाँच राष्ट्रहरूलाई अब 'हाइ इन्सिडेन्स एरियाज' अर्थात् संक्रमितहरूको संख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जनाएको छ।