परीक्षा नलिइकनै विद्यार्थी पास गराउने दुई उपप्राध्यापक बर्खास्त

परीक्षा नलिइकनै विद्यार्थी पास गराउने दुई उपप्राध्यापक बर्खास्त

सुर्खेतः मध्यपश्चिम विश्वविद्यालयले परीक्षा नै नलिएर विद्यार्थी पास गराएको र परीक्षा अगाडि नै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ ।

कारवाहीमा परेका दुबैजना विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापनरत थिए । विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई बर्खास्त गरिएको जानकारी दिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ संकायको स्नातकोत्तर तहका कार्यक्रम निर्देशक एवं उपप्राध्यापक विश्वनाथ यादव र स्कुलअफ लतर्फ अध्यापनरत उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरिएको बताए । यादव स्थायी हुन् भने पन्त करारमा कार्यरत थिए ।

अनियमितता गरेको पुष्टि भएपछि उनीहरुलाई भविष्यमा विश्वविद्यालय सेवाका लागिअयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय विश्वविद्यालयको कार्यकारी परिषद्ले गरेको छ ।

परीक्षामा अनियमितताको आरोप लागेपछि यसबारे छानबिन समिति गठन गरेर अध्ययन गरिएको थियो । दीपबहादुर रावलको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनको आधारमा उनीहरुलाई बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ । छानविन समितिका अनुसार उपप्राध्यापक यादवले परीक्षा नै नलिएर विद्यार्थीलाई पास गराएको पाइएको छ । यस्तै पन्तले भने परीक्षाअघि नै प्रश्नपत्र बाहिर ल्याएको पाइएको हो ।

विश्वविद्यालय शिक्षाको गुणस्तर खस्किन नदिन र विश्वविद्यालयको प्राज्ञिक मर्यादा बचाउन शैक्षिक अपराध गर्ने व्यक्तिहरुलाई सेवाबाटै बर्खास्त गरिएको उपकुलपति सिंहको भनाइ छ । उपकुलपति सिंहले भने, ‘यो विश्वविद्यालय यहाँका जनताले छाक कटाएर स्थापना गरेका हुन्, यहाँका विद्यार्थीको भविष्य बनाउन विश्वविद्यालय प्रतिबद्ध छ । तर यहाँ अधिकांश विद्यार्थीलाई हाजिरी नै नपुगाएर पास गर्ने काम भएको पाइयो, क्याम्पस सञ्चालक र विद्यार्थीबीचको मिलेमतोमा हुने गलत काम रोक्ने कारवाही गरेका हौँ ।’

निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर विषय शिक्षकले पठाएको नभइ आफैँले मनलाग्दी रुपमा पठाएको र आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्श छानविन समितिले निकालेको थियो । यस्तै करारमा नियुक्त स्कुल अफ ल का उपप्राध्यापक पन्तले कानुन संकायतर्फको परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको पुष्टि भएसँगै उनलाई पनि कारवाही गरिएको हो ।

छानविन समितिले दोषी देखिएको प्रतिवेदन बुझाएसँगै उनीहरु दुबै जनालाई स्पष्टिकरण सोधिएको थियो । तर त्यसबाट पनि चित्तबुझ्दो जवाफ नआएपछि पदबाटै बर्खास्त गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.