श्रीलंकन क्रिकेटमा फेरि अर्को विवाद
कोलम्बो : श्रीलंकाले घरेलु भूमिमा चिरप्रतिद्वन्द्वी भारतसँग एकदिवसीय र टीट्वेन्टी खेल खेल्दैछ। यही जुलाई १३ देखि सुरु हुने तीन एकदिवसीय र तीन वटै टीट्वेन्टी शृंखलाका लागि भारतीय टोलीले श्रीलंकाको भ्रमण गर्दैछ। श्रीलंका भ्रमणका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शिखर धवनको कप्तानीमा टोली घोषणा गरिसकेको छ।
श्रीलंका भ्रमणका लागि भारतले दोस्रो रोजाइको टिम पठाएर श्रीलंकाको इज्जतमाथि नै प्रहार गरेको भन्दै विवाद सुरु भएको छ। श्रीलंकाका पाँच खेलाडीले भारतसँगको खेलका लागि श्रीलंकन क्रिकेट बोर्डसँग सम्झौता गर्न अस्वीकार गरेका छन्। श्रीलंकाका लासिथ एम्बुलडेनिया, विश्व फर्नान्डो, लाहिरू कुमारा, आसेन बन्डारा र कसुन रजिताले भारतसँगको खेल खेल्न इन्कार गर्दै सम्झौता गर्न अस्वीकार गरेका हुन्।
इङ्ल्यान्ड भ्रमणमा नपरेका उनीहरू भारतविरुद्धको खेलका लागि २४ सदस्यीय टोलीमा परेका थिए। उनीहरूले भारतविरुद्धको शृंखलाका लागि सञ्चालन गरेको बन्द प्रशिक्षण पनि छाडेका छन्। श्रीलंका क्रिकेट बोर्डका सीईओ एसले डी सिल्भाले उनीहरूलाई केन्द्रीय सम्झौतामा सहभागी हुन पटकपटक आग्रह गरे पनि उनीहरूले नमानेको बताएका छन्।
श्रीलंकाका खेलाडी इङ्ल्यान्डमा पनि सम्झौताबिनै गएका थिए। श्रीलंकन क्रिकेट बोर्डले खेलाडीहरूको पारिश्रमिकमा भारी कटौती गर्ने योजना ल्याएपछि खेलाडीहरू असन्तुष्ट बनेका छन्।
श्रीलंका पूर्वकप्तान अर्जुना रणतुंगाले भारतले दोस्रो रोजाइको टोली श्रीलंका भ्रमणमा पठाएर श्रीलंका क्रिकेटको अपमान गरेको बताएका छन्। रणतुंगाले भारतले श्रीलंकाको अपमान गरेकाले शृंखलामा सहभागी हुन नहुने बताएका हुन्। ‘भारतको दोस्रो रोजाइको टोली यहाँ आउनु हाम्रो क्रिकेटको अपमान हो’, उनले भनेका छन्, ‘टेलिभिजन मार्केटिङका कारण श्रीलंकन क्रिकेट बोर्डले यो शृंखला खेल्ने निर्णय गरेको हो। यो बोर्डको गम्भीर भूल हो।’