स्टोक्स पहिलो पटक कप्तान
लन्डन : अलराउन्डर बेन स्टोक्स इङ्ल्यान्डको एकदिवसीय टोलीको पहिलो पटक कप्तान बनेका छन्। एक वर्षअघि वेस्ट इन्डिजविरुद्धको टेस्ट खेलमा स्टोक्सले पहिलो पटक कप्तानी गरेका थिए। उक्त खेलमा इङ्ल्यान्डले नमिठो पराजय बेहोरेको थियो। स्टोक्सले पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाका लागि इङ्ल्यान्ड टोलीको पहिलो पटक कप्तानी सम्हाल्न लागेका हुन्।
इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले मंगलबार बेन स्टोक्सको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो। यसअघि घोषणा गरेको टोलीका तीन खेलाडी र कोचिङ स्टाफसहित सात जनामा कोरोना संक्रमण देखिएपछि इङ्ल्यान्डले आपतकालीन रूपमा स्टोक्सको कप्तानीमा नयाँ टोली घोषणा गरेको हो। इङ्ल्यान्डले घोषणा गरेको अघिल्लो टोलीमा स्टोक्स थिएनन्। इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा औंलामा चोट बोकेपछि स्टोक्सले इङ्लिस टोलीमा स्थान बनाउन सकेका थिएनन्। श्रीलंकाविरुद्धको एकदिवसीय शृंखलामा पनि उनलाई टोलीमा समावेश गरिएको थिएन्। इङ्ल्यान्डले शनिबार इयोन मोर्गनको कप्तानीमा टोलीको घोषणा गरेको थियो।
मंगलबार घोषित १८ सदस्यीय टोलीमा नौ खेलाडीले पहिलो पटक स्थान बनाएका छन्। फिलिप साल्ट, जोहन सिम्पसन, डेविड पेनी, ड्यान लरेन्स, विल ज्याक्स, टम हेल्म, लुइस ग्रेगरी, ज्याक क्रली र ब्रायडन क्रसेले पहिलो पटक इङ्ल्यान्डको एकदिवसीय टोलीमा स्थान बनाएका हुन्। अधिकांश नयाँ खेलाडी भएकाले पनि पाकिस्तानविरुद्ध जित निकाल्न इङ्ल्यान्डले निकै मेहनत गर्नुपर्ने देखिन्छ।
इङ्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ। पहिलो खेल बिहीबार कार्डिफमा हुनेछ। तीन खेलको एकदिवसीय शृंखलापछि इङ्ल्यान्डले पाकिस्तानसँग टीट्वेन्टी शृंखला खेल्नेछ।