खोप एक मात्र विकल्प
कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टले हजारौंको ज्यान लियो। पहिलो चरणभन्दा दोस्रोपटक फैलिएको संक्रमणले छिटो असर गर्ने हुँदा लक्षणसहितका संक्रमितसँगै मृतकको संख्या उच्च भयो। निरन्तरको निषेधाज्ञाले अहिले कोरोना संक्रमणदर घट्दै गएको छ। केही जिल्लामा त अस्पतालका विषेश उपचार कक्ष पनि खाली हुँदै गएका छन्। संक्रमित घट्दै जाँदा सरकारले जिल्लाहरूमा लगाएको निषेधाज्ञा पनि क्रमश खकुलो पार्दै लगेको छ। अहिले निश्चित समय बजार–पसल खुल्न थालेका छन् भने, जोर–बिजोर प्रणालीमा सार्वजनिक र निजी यातायातका साधन पनि सञ्चालन भएका छन्। जसका कारण सार्वजनिक स्थानमा भीड बढ्न थालेको छ।
महामारीले आतंकित बनेका नागरिकलाई भीड बढ्दै जाँदा पुनः संक्रमण फैलने चिन्ता पनि छ। तर, दैनिकी चलाउनु पर्ने बाध्यताकै कारण पनि सुरक्षित भएर अब बाहिर निस्कनुको विकल्प पनि छैन। बारम्बारको निषेधाज्ञा र लकडाउनले नागरिकको आर्थिक अवस्था कमजोर मात्रै पारेको छैन, देशकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पनि परेको छ। त्यसैले अब स्वास्थ्य मापदण्ड अपनाउँदै निषेधाज्ञालाई क्रमशः खकुलो बनाउँदै लगिएको हो। यसले सबैभन्दा बढी मजदुरी गरेर दैनिकी चलाउने र यातायात व्यवसायीलाई राहत मिलेको छ। बैंकबाट लोन लिएर यातायातसहितका अन्य व्यवसाय गर्नेको थन्किएको व्यवसाय क्रमशः चलायमान हुँदै गएको छ। समय–समयमा फैलने भाइरसको महामारी यसअघि पनि नेपाली नागरिकले भोगेका छन्। कोरोना भाइरसको दोस्रो भेरियन्टको फरक–फरक रूप पनि दुई वर्षमा भोगिएको छ। यसबाट बच्ने उत्तम विकल्प भनेकै खोप, सामाजिक दुरी, मास्क, स्यानीटाइजरको प्रयोग र साबुनपानीले हात धुनको साथै आफूलाई स्वास्थ्य राख्न प्रयास गर्नु हो।
दुईपटकसम्म महामारी झेल्दा स्वास्थ्य मापदण्डका विषयमा अब सबै नागरिकलाई राम्रो ज्ञान पनि भएको छ। बुझेर पनि प्रयोग नगर्नु फरक कुरा हो। घरबाट बाहिर निस्कनेले ती स्वास्थ्य मापदण्ड अपनाए संक्रमण फैलँदैन। तर, निषेधाज्ञा खकुलो पारेसँगै पुनः संक्रमण बढ्न थाल्नु दुःखद् कुरा हो। अब पनि संवेदनशील नबन्ने हो भने फेरि फैलनै महामारीले धेरैको ज्यान लिन सक्छ। अहिले कोरोनाको परीक्षण दर पनि घटेको छ। प्रयोगशालामा पहिलेको तुलनामा स्वाब परीक्षणका लागि न्यून संख्यामा मात्रै पुग्ने गरेको प्रदेशहरूबाट प्राप्त तथ्यांकले देखाउँछ। सहरभन्दा गाउँमा संक्रमित बढ्दै छन्। गाउँसम्म परीक्षणको पहुँच नपुग्दा पहाडी र ग्रामीण क्षेत्रमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएकाको मृत्यु भएका समाचार पनि आइरहेका छन्।
भाइरसबाट सुरक्षित राख्न खोपको पनि विकास भएको छ। नेपालले पनि छिमेकी मुलुकमा उत्पादन भएको केही समयमै नागरिकलाई खोप लगाउन सुरु गर्यो, यो सकारात्मक प्रयास हो। तर, पुनः खोप उत्पादन गर्ने देश भारतसहित अन्य मुलुकमा पनि संक्रमण फैलँदा नेपालका सबै नागरिकले खोप पाएका छैनन्। भारतबाट ल्याइएको कोभिडसिलको पहिलो डोज पाउनेले दोस्रो पाएका छैनन्। सम्झौताबमोजिम खोप नआएकाले खोपको मात्रा पुगेको छैन। यसको विकल्प के हुनसक्छ ? सरकारले समयमै निकास दिनुपर्छ। भेरोसिल खोप पहिलोपटक पाएकाले अब पुनः पाउँदैछन्। सरकारले पनि खोप खरिद गर्ने र सबै नागरिकलाई लगाउने प्रतिबद्धता जनाएको छ। यो प्रतिबद्धता पुनः महामारी फैलनु अघिनै सरकारले पूरा गर्नुपर्छ। जुनै समय पनि संक्रमण बढ्न सक्ने भएकाले उपचारको तयारीमा ‘अलर्ट’ रहनुपर्ने अवस्था छ।
भाइरसको संक्रमण र यसले पर्ने असर सकिने होइन। कोरोना भाइरस अब मानवका लागि थपिएको रोग हो। यसबाट आफैं सचेत बन्नु, खोप लगाएर सुरक्षित हुनु र स्वास्थ्य मापदण्ड अपनाउनु अबको एक मात्र विकल्प हो। पश्चिमा देशहरूमा भएको नयाँ अध्ययनले एकपटक कोरोना जितिसकेका मानिसका लागि खोपको एउटै डोज नै पर्याप्त हुने दाबी पनि गरेको छ। यसले धेरै देशले खोप लगाउने रणनीति बदल्न सक्ने भएकाले यो निकै महŒवपूर्ण विषय पनि हो। यस्ता विषयको समयमा सही जानकारी लिएर आधिकारिक भए नेपालमा पनि यसको प्रयोग गर्न सकिन्छ। अब निषेधाज्ञा र लकडाउनलाई नियन्त्रणको विकल्प बनाउने भन्दा सबैलाई खोप दिन सरकार गम्भीर रूपमा लाग्नुपर्छ भने नागरिक आफैं पनि सचेत बन्नुपर्छ।