तीन दिन हिँडेर चामलबिनै फिर्ता

तीन दिन हिँडेर चामलबिनै फिर्ता

बाजुरा : वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताए ।

अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको वडा अध्यक्ष रोकायाले बताए । हिमाली गाउँपालिका–१ बिच्छँयाका  धर्मलाल रोकाया तीन दिन हिँडेर कवाडी अस्थायी डिपोमा चामल किन्न पुुगे । ‘तर, डिपोमा एक दाना पनि चामल नपाएपछि रित्तो हात फर्कें, चामल नपाएपछि सिस्नो कन्दमूल गिठ्ठा भ्याकुरले छाक टार्नुपर्ने भएको छ’, रोकायाले भने ।

हिमाली गाउँपालिका–१ बिच्छँयाबाट चामल किन्न २५ जना आएको तर चामल नपाएपछि रित्तो हात घर फर्किन लागेको उनले बताए । ‘हामी चामल पाइन्छ भनेर आएका हौं, तर नपाए पछि घर फर्किंदै छौं’, उनले भने ।

त्यहाँबाट आउने सर्वसाधारणले वर्षाका बेला खाद्यान्न अभाव भएको भन्दै गुनासो गरेका छन् । ‘तीन दिन लगाएर कवाडी डिपो पुग्यौं, चामल पाएनौं । अबको विकल्प कोल्टीको खाद्यमा हो, कोल्टी पुुग्न फेरि एक दिनको पैदल हिँड्नुपर्ने हुन्छ’, घरबाट साहूसँग चार हजार सापटी ऋण निकालेर चामल किन्न आएका चन्द्रबहादुर बुढ्थापाले बताए ।  
‘कोल्टी जाऔं भनेपछि ऋण निकालेर ल्याएको पैसा सबै बाटोमा खान मात्र पुग्छ, अनि चामल के ले किन्ने ?’, बुढ्थापाले भने ।  साविकको बिच्छँया गाविसमा मात्र चार हजार जनसंख्या छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन । हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो । यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

कवाडी अस्थायी डिपोका लागि खाद्य संस्थान बाजुराले यो वर्ष मात्र ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेर ठेक्का भएको थियो । मार्तडीबाट एलबी कन्सट्रक्सन, कोल्टिबाट ओम शिव कन्सट्रक्सन र धनगढीबाट बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले ढुवानी जिम्मा पाएको थियो । तर, अहिलेसम्म १५ सय कुइन्टल मात्र ढुवानी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
मार्तडी र कोल्टीबाट जिम्मा लिएका एलबी कन्सट्रक्सन र ओम शिव कन्सट्रक्सनले आफ्नो कोटाका चामल ढुवानी र बिक्री गरेर रकम भुक्तानी भइसकेको छ । धनगढीबाट ढुवानी जिम्मा लिएको बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले दुई सय १० कुइन्टल चामल ढुवानी नगरेको मार्तडी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए । 
मार्तडी शाखा प्रमुख मेखराज ओझाले भने चामल ढुवानी नभएकाले ठेकेदारलाई ताकेता गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कवाडीमा चामल सकिएको जानकारी आएको बताए । चामल ढुवानीको लागि प्रदेशलाई ताकेता गरिरहेको उनले बताए । 
कवाडीमा चामल ढुवानी पाएको ठेकेदार बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सका सञ्चालक लोकेन्द्र रावलले पहिले चामल बिक्री नभएर ढुवानी कम गरिएको तर अहिले सडक अवरुद्ध भएकाले चामल सकिएको बताए । हिउँदमा कवाडीसम्मै गाडी पुुग्ने भएकाले संस्थानको चामलभन्दा बजारमा ८ रुपैयाँ सस्तोमा चामल पाइन्छ । तर, अहिले बजारमा समेत चामल अभाव भएको छ ।
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.