प्रादेशिक बसपार्क निर्माण हुने

प्रादेशिक बसपार्क निर्माण हुने

सुर्खेत : कर्णाली प्रदेशको राजधानी बनेसँगै वीरेन्द्रनगरमा सवारीसाधनको चाप एकाएक बढेको छ। सवारीसाधनको चाप बढेपछि हाल सञ्चालनमा रहेको सिटी बसपार्क साँघुरो बनेको हो। यो बसपार्कले सवारीसाधनको चाप थेग्न नसकेपछि नयाँ बसपार्क खोज्न थालिएको हो। यसका लागि वीरेन्द्रनगर नगरपालिकाले ठूलो क्षमताको प्रादेशिक बसपार्क निर्माणको योजना अगाडि सारेको हो।

वीरेन्द्रनगरमा २६ वर्ष अघिदेखि नै ठूलो क्षमताको बसपार्क खोजी गरिएको थियो। तर हालसम्म त्यसको कार्यान्वयन अगाडि बढ्न सकेको थिएन। कर्णालीको राजधानी बनेसँगै सवारीसाधनको चाप थेग्नै नसक्ने अवस्था आएपछि वीरेन्द्रनगरमा प्रादेशिक स्तरको बसपार्क निर्माण गर्न लागिएको हो। सवारीसाधनको चाप बढेको र बजार क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढेपछि नगरपालिकाले व्यवस्थित र ठूलो क्षमताको बसपार्क निर्माण गर्ने योजनालाई अगाडि ल्याएको हो। 

वीरेन्द्रनगर नगरपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नै वीरेन्द्रनगर–१ मा प्रादेशिक स्तरको बसपार्क निर्माण गर्ने घोषणा गरेको छ। संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा यो बसपार्कको निर्माण कार्य अगाडि बढाइने नगरपालिकाले जनाएको छ। प्रादेशिक बसपार्क निर्माणका लागि वीरेन्द्रनगर–१ को बाङ्गेसिमल र वडा नम्बर ११ को सुब्बाकुना क्षेत्रलाई सम्भावित क्षेत्रका रूपमा लिइएको थियो। तर अब सुब्बाकुनाभन्दा बाङ्गेसिमल क्षेत्र नै उपयुक्त देखिएको नगरपालिकाले जानकारी दिएको छ। 

प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा सवारीसाधनको चाप दोब्बर भएको छ। हाल वीरेन्द्रनगर विभिन्न १३ वटा यातायात समिति र प्रालि छन्। यातायात व्यवसायीका अनुसार दैनिक कम्तीमा पनि दुई सयभन्दा बढी गाडीले वीरेन्द्रनगरमा आउजाउ गर्दै आएका छन्। सुर्खेतमा अहिले २० हजार सवारीसाधन छन्। तर ४५ सय वर्गमिटर क्षेत्रफल रहेको हालको सिटी बसपार्कले ९० वटा ठूला र २० वटा साना मिनीबस गरी जम्मा १ सय १० वटा गाडी मात्र थेग्छ। क्षमताअनुसारको बसपार्क नहुँदा हाल गाडी धनीले बाध्य भएर सडक र चोकमा गाडी पाकिङ गर्नुपर्ने बाध्यता छ। पार्किङस्थलको अभावले यात्रुले समेत सास्ती भोग्दै आएका छन्। 

अर्कोतर्फ ट्राफिक व्यवस्थापनमा पनि हम्मेहम्मे परेको छ। बसपार्कले सवारीसाधनको चापलाई थेग्न नसक्ने भएपछि प्रादेशिक बसपार्कको योजना अगाडि सारिएको मेयर देवकुमार सुवेदीले बताए। वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको सुरुआतमै प्रादेशिक स्तरको बसपार्क निर्माण गर्ने दाबी गरेको छ। मेयर सुवेदीले भने, ‘आउँदो साउनबाट नै यो आयोजना कार्यान्वयनमा लैजान्छौँ।’ बसपार्क निर्माणका लागि सुरुमा डीपीआर तयार गरिनेछ। डीपीआर तयार भएपछि मात्रै जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइने सुवेदीले बताए। प्रादेशिक बसपार्क निर्माणका लागि स्थानीय कृष्ण सामुदायिक वनले जग्गा उपलब्ध गराउने सहमति जनाइसकेको छ।

नगरपालिकाले बसपार्क निर्माणका लागि लगानी जुटाउने जनाएको छ। ‘बसपार्कका लागि बजेट अभाव हुँदैन, ऋण लिएर भए पनि आयोजना सम्पन्न गर्छाैँ’ मेयर सुवेदीले भने, ‘नगर विकास कोष र निजी क्षेत्रबाट लगानी जुटाउँछौँ।’ बसपार्क निर्माणका लागि नगर विकास कोषबाट ऋण लिइने र निजी क्षेत्रसँग लगानीका लागि आह्वान गर्ने नगरपालिकाको योजना छ। बसपार्क निर्माणका लागि संघ र प्रदेश सरकारसँग पनि लगानीका लागि पहल गरिनेछ। प्रदेशको राजधानीलाई मध्यनजर गर्दै बसपार्क निर्माण गरिने भएका कारण प्रदेश सरकारको पनि सहयोग गर्ने नगरपालिकाको अपेक्षा छ। ५० वर्षसम्मको सवारी चाप थेग्नेगरी यो बसपार्क निर्माण गरिने भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.